Saturday, November 23, 2024
Home Blog Page 329

खैरो हिरोईनसहित दुई जना पक्राउ

झापा, फाल्गुन ६ गते / झापाको काकडभिट्टाबाट खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका १२ बस्ने २२ वर्षीय सन्तोष नेपाललाई आठ सय मिलिग्राम खैरो हिरोईनसहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोली शनिबार दिउँसो १ बजे मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ गरेका हुन् ।

त्यसैगरी सोही टोलीले अपरान्ह ४ बजे मेचीनगर नगरपालिका ६ हिकोला मोडबाट मेचीनगर नगरपालिका १५ बस्न १९ वर्षीय भुवन सुब्बालाई पनि चार सय मिलिग्राम खैरो हिरोईनसहित पक्राउ परेका छन् । दुबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रेडक्रस दमकमा बिजयी सदस्य कसले कति मत ल्याए हेर्नुहोस्

दमक/ नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको सदस्य पदको लागि शनिबार भएको निर्वाचनमा ८ जना बिजयी भएका छन् । सदस्यमा शनिबार बिहान ८ बजे देखी मतदान सुरु भएर दिउँसो २ बजे सम्पन्न भएको थियो ।

शनिबार बेलुका सम्पन्न मत गणना अनुसार प्रेम भट्टराईले ४ सय ३९ मत, रमेशचन्द्र अधिकारीले ४ सय ३५ मत, बिमल शर्माले ४ सय १२ मत, गञ्जबहादुर दाहालले ३ सय ५१ मत, घनस्याम कोईरालाले ३ सय २५ मत, तिर्थराज बस्नेत शंकरले ३ सय २२ मत र पदम बुढाथोकीले ३ सय २१ मत प्राप्त गरी बिजयी बनेका हुन् । ८ सदस्यको लागि १४ जनाको उम्मेद्वारी परेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गाईको बाछो काटेको आरोपमा तामाङ पक्राउ

दमक/ गाईको बाछो काटेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका ११ डाडागाउँबाट एक व्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
डाडागाउँ स्थित एक गल्छीमा बाछो काटिरहेको गोप्य सुचनाको आधारमा प्रहरीले सोहि ठाउँका ३२ बर्षिय सुकमान तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायव उपरिक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

सोहि घटनामा स्थानिय दुई व्याक्तिको पनि संलग्न रहेको खुलेपछि तीनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए । पक्राउ परेका तामाङलाई भने इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रदेश पदाधिकारी कसको कति तलब खान्छन् ?

दमक / सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा–सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् ।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ। विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ। प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ। प्रदेश सरकारले यही तलबमानअनुसार प्रदेशका सबै पदाधिकारीको तलब सुविधा तोक्ने बताइएको छ। केन्द्र सरकारले तलब तोक्दा एकरूपता कायम गर्नसमेत प्रदेश सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले सातै प्रदेशमा एकरुपता कायम होस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयले तयार गरेको तलबमान प्रदेशमा पठाइएको जानकारी दिए ।
संविधानको धारा १९६ मा प्रदेशका सबै पदाधिकारीको पारि श्रमिक र सुविधा प्रदेश कानुनबमोजिम हुने व्यवस्था गरिएको छ । प्रदेशसभाले त्यस्तो कानुन नबनाएसम्म सेवा–सुविधा तोक्न सहज होस् भन्दै सरकारले औचित्यका आधारमा तलबमान तयार पारेर पठाएको हो ।
त्यसैगरी, मन्त्रीहरूले जिल्ला भ्रमण गर्नुभन्दा पहिला मुख्यमन्त्रीबाट स्वीकृति लिनुपर्ने प्रावधान बनाइएको छ भने जिल्लामा जाँदा सम्भव भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने, एक जिल्लामा एकपटकमा दुई दिनभन्दा बढी बस्न नपाइने, भ्रमणबाट फर्केपछि मुख्यमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेलगायतप्रावधान बनाइएको छ ।

प्रदेश पदाधिकारीको सुविधा

मुख्यमन्त्री

तलब ः६०९७०

फर्निचर ः१५०००

धारा, सञ्चार ःबिलअनुसार

आवास व्यवस्था, दैनिक भत्ता ः२५ सय

सवारीसाधन

मन्त्री

तलब ः५२०००

फर्निचर ः१५ हजार

धारा, बिजुली र सञ्चार ःबिलअनुसार

आवास ःमासिक १२ हजार, दैनिक भ्रमण भत्ता ः२ हजार

सवारीसाधन

सभामुख

तलब ः५३ हजार

फर्निचर ः१५ हजार

बैठक भत्ता ः७५०

यात्रा बिमा ः१० लाख

विपक्षी दलका नेता÷उपसभामुख

तलब ः५० हजार

बैठक भत्ता ः७५०

सञ्चार सुविधा ःमासिक १५ सय

आवास सुविधा ःमासिक १२ हजार

फर्निचर ः१५ हजार

यात्रा बिमा ः१० लाख

प्रदेशसभा सदस्यको मासिक

तलब ः४५ हजार

आवास सुविधा ः१२ हजार,

फर्निचर सुविधा १५ हजार पाँच

वर्षमा एकपटक, यात्रा बिमा १० लाख

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दुर्घटनामा एकको मृत्यु

०५ फागुन/ विराटनगर / मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका –३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल– ०१–डि–२३६९ नं को लहरीले विपरित दिशाबाट जाँदै गरेको बा १० च ८२१७ नं को कारलाई ठक्कँर दिँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा सुनसरी दुहवी नगरपालिका –४ का २५ वर्षीय प्रज्जवल दाहाल छन् । घाइते भएका दुहवी –५ का २६ वर्षीय विकाश भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि लहरीका चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। (रासस)

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पर्यटक आकर्षित गर्दै गोकुलम

मोरङ/ लगानी र मिहिनेत गर्दा खोलाको बगरलाई पनि आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिन्छ भन्ने उदाहरण मोरङका दुई रिर्सोटले प्रस्तुत गरेका छन् । मानव बस्तिभन्दा पर सुनसान खोला किनारामा दैनिक हजारौं मानिस ल्याउन सकिन्छ भन्ने आत्मविश्वासले सुरु भएको सपना विस्तारै साकार हुँदै गएकोमा गोकुलम रिसोर्टका संचालकहरु प्रसन्न छन् ।

मोरङको सुन्दर हरैंचानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाको सिमानामा रहेको बुढीखोला नजिकैको बगर क्षेत्र यतिबेला बालबालिकाका लागि मात्र होइन युगल जोडी र अभिभावकको पनि एउटा राम्रो गन्तव्य बनेको छ । विराटनगरदेखि धरानसम्म बसोवास क्षेत्रको दु्रत विकाससंगै शहरीकरणको वृद्धि भएपनि बालबालिकाका लागि उपयुक्त फनपार्कको अभाव छ । त्यहि अभाव पुर्ती गर्न फनपार्क सहितको मनोरम गन्तव्य बनाउने प्रयास गोकुलम रिसोर्टले गरेको देखिन्छ ।

फुर्सदको समयमा रमाइलो गर्ने र घुम्नका लागि नजिकको गन्तव्य खोजिरहेकाहरुका लागि यो एउटा गन्तव्य स्थलको रुपमा विकास भइरहेको रिसोर्टका व्यवस्थापक कमल लम्सालले बताए । रिसोर्टमा कृत्रिम कलाकृतीहरुको बाहुल्यता छ ।

पानीजाहाज लजदेखि धरहरासम्म, ताजमहलदेखि हात्तिसार सम्मका कृत्रिम संरचनाले बालबालिकालाई आकर्षित गरिरहेको छ । अष्ट्रिच, टर्की जस्ता चराचुरुङ्गी र मरुभूमिमा रमाउने उँट रिसोर्टको आकर्षक बस्तु बनेको छ । संगै रिसोर्टमा रोटेपिङलगायत रमाउने धेरै बस्तु राखिएक छन् । अव पोखरी भित्रै सेमिनार हल निर्माणको काम सुरु भएको लम्सालले बताए । रिव १५ करोडको लगानीमा निर्माणाधिन रिसोर्ट छ विगाह क्षेत्रफलमा फैलिएको छ । केही भूभाग पिकनिक स्पोर्टको लागि राखिएको छ ।

दैनिक ५ सयको हाराहारीमा आगन्तुकहरु आउने रिसोर्टमा बिदाको दिन १५ सयदेखि २ हजार जनासम्म घुम्न आउने गरेको व्यवस्थापक लम्सालले जानकारी दिए । तराईमा यो वर्षको साउन २८ गते आएको बाढिबाट रिसोर्टले ठूलो क्षतिव्यहोरेको थियो । त्यसको पुनर्निर्माणमा करिव ४ करोड खर्च भएको बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

दमक/ करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ ।

घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने व्यक्ति वा करदाताको पहिचान गरी कर दायित्व विवरण खुलाएर कर लिनसक्ने व्यवस्था गरेको छ ।

संविधानअनुसार सातवटै प्रदेशमा प्रदेश सरकार गठन भइसकेको अवस्थामा अर्थ मन्त्रालयले करसम्बन्धी नमूना कानून प्रदेशमा पठाएको हो । उक्त कानुनमा प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र घर, जग्गा वा घरजग्गा रजिष्ट्रेसन गर्दा शुल्क लगाउनसक्ने व्यवस्था गरेको हो ।

विद्येयकको परिच्छेद–४ को करसम्बन्धी व्यवस्थाअनुसार घर, जग्गा वा घरजग्गाको स्वामित्व हस्तान्तरण गर्दा शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त शुल्कको निर्धारण गर्दा कर तिर्नसक्ने क्षमताका आधारमा कर निर्धारण गर्नुपर्नेछ ।

त्यसैगरी, कर प्रणाली समानता र न्यायमा आधारित रहने गरी सरल, पारदर्शी र मितव्ययी हुनुको साथै नागरिकलाई सुविधा हुने गरी कर लगाउनुपर्नेछ । घरजग्गा वा स्वामित्व हस्तान्तरण हुँदा महिलालाई २५ प्रतिशत छुट दिनुपर्नेछ ।

कानूनअनुसार प्रदेशलाई सवारी साधन कर लगाउनसक्ने अधिकार दिइएको छ । इन्धनद्वारा सञ्चालित हुने सबै सवारी साधनमा प्रदेश सरकारले कर लगाउनसक्छ ।

प्रदेश सरकारलाई मनोरञ्जन करसमेत लगाउनसक्ने अधिकार दिइएको छ । प्रदेश सरकारले चलचित्र घर, भिडियो घर, सांस्कृतिक मनोरञ्जन कर लगाउनसक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रदेश सरकारले अनुमति दिएका विज्ञापन एजेन्सीले विज्ञापनको कारोबार गरेको र विज्ञापनका सामग्री राख्न दिएबापत विज्ञापन कर लगाउन सक्नेछ । कृषि आयमा कर लगाउनेसक्ने अधिकार पनि उसलाई गरिएको छ ।

करबापत असुलिएको रकममध्ये दुई प्रतिशत प्रशासनिक खर्च कटाएर बाँकी राजस्व तोकिएको समयावधिमा प्रदेश सञ्चित कोषमा जम्मा गनुपर्ने हुन्छ । स्थानीय तहले उठाउने शुल्क पनि सोहीअनुसार गर्नुपर्नेछ ।

त्यसैगरी, विधेयकको परिच्छेद–१४ मा गैरकर राजस्व उठाउनसक्ने व्यवस्था गरिएको छ । यस अतिरिक्त सेवा शुल्क तथा दस्तुर, पर्यटन शुल्क समेत उठाउन पाउने व्यवस्था छ । यो पनि प्रदेश सरकारको आय हुनेछ ।

करसम्बन्धी कानून बनाउन प्रदेशले केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ । त्यसैगरी, स्थानीय तह र नेपाल राष्ट्र बैंकसँग पनि समन्वय गरेर कर निर्धारणका लागि कानून बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालको संविधानको धारा ५९ र २१३ अनुसार यसअघि अर्थ मन्त्रालयले प्रदेश सञ्चित कोष, सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने अधिकारसहित प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ नमूना विधेयक पारित गरी प्रदेशमा पठाइसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मृत्यु र जीवनको दोसाँधमा

   विमल लामिछाने   

एलिना १७ वर्षकी थिइन् । त्यतिवेला उनी पहाडी दुर्गम गाउँको स्कूलमा कक्षा दशमा पढ्दै थिइन् । गाउँले जीवनको सामान्य परिवारमा हुर्केकी उनी इमान्दार र सोझोपनकी केटीमा चिनिन्थिन् । दिदी दाजुहरुको मायामा हुर्केकी भएपनि दिदीहरुले घरजम गरेपछि र दाजुहरुले परदेशको बाटो लिएपछि डाँडामाथिका घाम जस्तो भएका बुढ्यौली आमा–बुबा सम्हाल्ने, घर ब्यावहार मिलाउने र खेती लगाउने जिम्मा उनकै काँधमा आएछ ।

अर्मपर्म र सरसापटकै भरमा भएपनि उनले आप्mनो जिम्मेवारीलाई सम्हाल्दै क्याम्पस लेभल सम्मको अध्यायन गर्न भ्याइन् । घरको दुखेसो सम्हाल्दै क्याम्पस अध्ययन गरेको २ वर्ष वितिसकेको छ । छरछिमेकमा एलिनाको विवाहको चर्चा चल्न थालेको छ । घरले जा–जा र बनले आइज–आइज भन्ने बेलामा कतै राम्रो कुटुम्ब भेटिए लगनगाँठो कसिदिन पाए कर्म सकिने थियो भन्नेमा छन् उनका बुवा–आमा ।

धेरैतिरवाट विवाहको प्रश्ताव आउन थालेपछि उनको मनपनि दोधारे बन्न थालेको रहेछ । छटपटि बढेको छ, निध हराएको रहेछ उनको । दिनभरीको कामको थकानलाई शिरानी लगाउँदै परालको गुन्द्रीमा यताउता मडारिन्छिन्, कोल्टे फेर्छिन र सोच्छिन्– राम्रो घरानको केटा पाए त ठीकै हो, तर भनेजस्तो कहाँ मिल्ला र ? फेरि आमा बुबाको रेखदेख गर्ने पनि त कोहि हुन्न । कयौ रात मन डुलाउँदै पिरोलिन्छिन उनी ।

यसरी नै दिनहरु वित्तै गए । उनका बुवा आमाको पनि खटपट बढेको छ उसैगरी । हुर्केकी छोरीको हात कुटुम्बको हातमा सुम्पिदिन पाएदेखि मरिगइयो भनेपनि आत्माले शान्ति पाउने थियो, नत्र…बुढाबुढीको खटपटि बढेको र नीध हराएको राम्ररी बुभ्mने गरेकी छन् उनले । समय सन्दर्भमा धेरै केटाले ताकेका पनि छन् । कुरा चलाउने र प्रश्ताव राख्नेहरु लाई निर्णय दिन भने सकेकी छैनन् ।

एलिना दिदी… एलिना दिदी… छिमेकीको घरमा फोन आएपछि गाउँका साना नानीहरु एकै स्वरमा कराउँदै एलेनालाई शहरबाट फोन आएको खवर दिन पुग्छन् । एलिना किचनमा ब्यस्त छिन् । झमक्क साँझ परिसकेको छ । गाउँका केटाकेटीले एकै स्वरमा खवर पु¥याउछन्–एलिना दिदी शहरबाट तपाईंको फोन आ छ छिमेकमा झट्ट जानु रे ।

एलिना हँ कहाँबाट कसको फोन ? कुद्दै एलिना फोनतर्फ जान्छिन्, छिमेकी दाइले होल्डमा राखिदिएको फोन रिसिभ गर्छिन्…। केहिबेर फोनमा कुरा गरिसकेपछि उनी दगुर्दै फर्किन्छिन् र आमालाई सुनाउँछिन्– ‘शहरबाट भाउजुले फोन गर्नु भएको थियो, मलाई हेर्न केटाको प्रश्ताव आएको थियो रे, भाउजुसँग कुरा गरेछ, मलाई शहराँ झिकाइएको छ , तर आमा मलाई पटक्कै जान मन छैन’ । एलिनाले आमासँग बेलिविस्तार लगाईन् । बेलुका खानपीन सकेपछि एलिनाका बा–आमाले सल्लाह गरे । लामो परामर्शपछि एलिनालाई एकपटक शहरकी भाउजुको घर पठाउने निधो भयो ।

एलिनाका घरबाट शहरकी भाउजुका घरसम्म पुग्न गाडीमा करिब २ दिनको यात्रा गर्नुपर्छ । शहरजाने चाँजोपाँजो मिलाउँदा केहिदिन ढिलो भयो । उताबाट तारन्तर भाउजुको फोन आईरहेको छ । छिमेकीसँग सरसापटल गरेर खर्च जुटाएर एलिना शहरतिर लागिन् । ३÷४ पटक गाडी परिर्वतन गर्दामात्र उनी गन्तब्यमा पुग्थिन, गाउँले सोझी केटि भनेर उनको लवाज र बोलीचालीबाटै स्पष्ट खुल्थ्यो । सोझोपनको फाइदा उठाउँदै शहरका ठिटाहरुले एलिनालाई पछ्याईरहेका थिए । हलक्क बढेकी पहाडे केटी हेर्दै गालाबाट रगत चुहेला जस्ती झरझर देखेपछि केटाहरुको मन कागतीको रस देख्दाको जिब्रो जस्तै । तर विचरा ! सोझी एलिनालाई त्यो पत्तै भएन । उनले केटाहरुको नियतलाई बुझ्नै सकिनन् । एलिनालाई कहिले सुन्तला दिन्थे त कहिले बदाम, चना आदी दिएर नजिकको आफन्त झै गर्दै गए गाडीको यात्रामा ।

रात परिसकेको थियो । गाडी शहर प्रवेश गर्दै थियो तर एलिनाकी भाउजुको घर शहरको गाडी स्टेण्डबाट झण्डै २ कोष पर थियो । गाडी अन्तिम स्टेण्डमा पुगेर रोकियो । सबै यात्रुहरु उत्रिए, एलिनापनि उत्रिइन् । गन्तब्यसम्म पुग्नकोलागि एलिनाले रिक्सा प्रयोग गर्ने सोच बनाइन् । उनै शहरी केटाहरुले रिक्सा चढ्न सहयोग गरे झै गरे र एलिनाको अघि र पछि बसे, एलिनालाई चलाउन र धकेल्न थाले, तवमात्र बुझिन एलिनाले उनीहरुको नियत !

उनको जीउ काम्यो डर लागेर आयो । शहरको लोडसेडिङको बेला थियो, एकान्त अध्यारो ठाउँमा पुगेपछि रिक्सा रोक्न लगाए । रिक्सावाललाई केटाले हकारे उसको केहि लागेन, उसले सवैलाई त्यहिँ छोडिदियो र रिक्सा फर्कायो । केटाहरु चारजना थिए उनीहरुले एलिनालाई जबरजस्ति गर्न खोजे घम्साघम्सी प¥यो, एलिनाले कडा प्रतिरोध गरिन, चिच्याइन, कराइन्, गुहारिन् ,केहि समयमा अर्को रिक्सा त्यही बाटो भएर आउदैथियो, त्यसमा तीनओटी केटिहरु रहेछन् । एलिनाको गुहार सुनेर केटिहरु आर्लिए, उनीहरलाई देखेपछि केटाहरु भागे । उनीहरुकै सहयोगमा एलिना शहरीया भाउजुको घर पुगिन् । भाउजुलाई सबै बेली विस्तार सुनाइन् तर भाउजुले समयमा हिड्नपर्छ नि भनेर उल्टै गालि गर्न थालेपछि एलिनाको मन कुडिया । एलिनालााई लागेको थियो भाउजुको सहाराले ति केटाहरुलाई केहि खोज तलास होला र कार्वाही प्रक्रियामा जालान् , तर भाउजुले यसलाई सामान्य रुपमा लिईन्, सुनेको नसुनेई भईन् । उनलाई लाग्यो मानौ शहरको यो परिचय रहेछ ।

एलिनाको मन दुखेको थियो । फ्रेस हुन पाएकै थिइनन् भाउजुको सम्पर्कबाट भोलीपल्टै एलिनालाई हेर्ने केटा आयो । मन कुडिएको वेला आपूmलााई हेर्न आएको केटासँग दोहोरो संवाद गर्न नै सकिनन्, मात्र मुण्टो हल्लाईन् । मानौ सांकेतिक कुराकानी हुँदैछ । उनले सोच्ने र निर्णय गर्ने मौका पाएकै थिईनन् । उनलाई हेर्न आएको केटाले भाउजुसँगै एलिनालाई मन पराएको कुरा गरेपछि विवाहको कुरा सकेर फर्किएछ । एकहप्तापछि घुरनसँग एलिनाको विवाह हुने निश्चित भएछ । एलिनाका आँखा रसाइरहेका थिए । मन रोइरहेको थियो, त्यही बिचमा एलिनाको विवाह सम्पन्न भयो ।

एकसरो सामान जुटाएरै सामान्य तवरले विधिपूर्वक नै एलिनाको विवाह सम्पन्न भयो दुलाहाले बेहुली भित्रियाए । वेहुली भित्रियाएपछि दाइजोको विषयमा ठूलै खैलाबैला मच्चियो, वेहुलाकी आमाले दाइजो नपाएको झाेंक देखाइन् । मनमा आएसम्म गाली गरे आफन्तसमेत मिलेर । वेहुलालाई पनि अप्ठ्यारो महसुस भयो । नन्द र आमाजुपनि धुरिए, धेरै सम्पत्तिको अपेक्षा गरेका रहेछन भन्ने प्रश्तुती छरपस्ट बनाए । गाली बेइजतिका सब्द प्रयोग गरेर पालोपालो बर्बराउन थाले । दाइजो नपाएकै कारण एलिना वेहुली भएकै दिन परिवारमा छी छी र दुरदुरको पात्र बनिन् । बेहुलाले परिवारलाई बुझाउन प्रयत्न गरे तर उनको केही जोर चलेन । दिदी–बहिनी र आमाले उनलाई भोकाएको बाजले चल्लो छोपे झै गर्दारहेछन् ।

एलिनालाई साथसहयोग मिल्नुको सट्टा उल्टै चोट थपियो । घुरनपनि पारिवारिक तनावमा परे । मन बहलाउन घुरन साथीहरुका तिर समय विताउँदथे । प्रायजसो खाना खान आउने समयमा घुरनका घरमा रडाको मच्चिने गर्दथ्यो, घटनाहरु दोहोरिन्थे । भित्रभित्रै घुरन कुडिइरहेका रहेछन्, विवाहको तेस्रो रात अवेरसम्म घुरन घर नआएपछि एलिनाले फोन गरिन् । पटक–पटक फोन काटिएपछि एलिना थप आशंकित भइन् । एलिनालाई झन खटपट बढ्यो । उनले घुरनकी ममीलाई सोधिन्–किन अहिलेसम्म घुरन घरमा आएनन् ? सासुले मनिन्ः भरे आउछ होला… तन्नमकी छोरी तन्किँदै गर न… केहि समयपछि घुरनकी ममीलाई घुरनका साथीको फोन आयो…सबै हस्याङ र फस्याङ गर्दै आत्तिए झै गरे । घुरनले विष खाएको रहेछ … । रुवाबासी चल्यो…। घुरनलाई अस्पतालमा भेटिन एलिनाले । घुरनलाई हेर्नेहरुको भीड लागेको थियो । कुरा काट्नेहरु आ–आप्mना भाषामा ब्याख्या गरिरहेका थिए ।

घुरन विरामी बेडमा बेहोस थिए । एलिना घुरनलाई रगत दिन्छिन्, सुन्य समयमा भगवानसँग घुरनको जीवन रक्षाको प्राथना गर्दै तप तप खसेका आँशुका थोपाभित्र भविश्यको जीवन खोज्दै घुरनलाई बोलाइरहेकी थिईन् अचेत अनुहार सुम्सुम्याईरहेकी थिइन् । घुरन मृत्यु र जीवनको दोसाँधमा छटपटाईरहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सन्त कवि ज्ञानदिल दास

व्यक्तित्व समीक्षा 

 पारशमणी सम   /  नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।

जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्त कवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तरार्द्ध दार्जीलिङ र सिक्किममा बिताएका थिए । पश्‍चिम सिक्किमको गेलिङ जहॉं सन्त कवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थ बनेको छ र गेलिङधामले प्रसिद्ध छ ।

कवि ज्ञानदिल दासको जन्म पूर्व नेपालको इलाम जिल्लाको फिकल गाउँमा सन् १८२१-मा भएको हो । यिनी लामिछाने थरका ब्राह्मण थिए अनि यिनले सन्त श्यामदिल दासबाट जोसमनी मतको दीक्षा लिएका थिए । यिनी अत्यन्त चतुर र बुद्धिमान थिए अनि वेद्लगायत धर्मशास्त्रहरूको गम्भीर अध्ययन गरेका थिए । जोसमनी सन्त परम्पराको यिनले व्यापक प्रचार-प्रसार गरेर यस मतलाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यिनी कतिसम्म बुद्धिमानी थिए भने यिनका अघि शास्त्रार्थ गर्न उभिएका कुनै पनि विपक्षी तत्क्षण पराजित हुन्थे । एकपल्ट यिनले दार्जीलिङमा पादरी ए. टर्नबुललाई शास्त्रार्थमा पराजित गरी टर्नबुलको धर्म ग्रन्थ बाइबल डडाएर बाइबल पोलेको खरानीबाट कण्ठी बनाई आफ्ना चेलाहरूलाई लगाइदिए । यस घटनापछि जोसमनी सन्त परम्परा खागी र त्यागी दुइ शाखामा विभक्त भयो । खरानीको कण्ठी लगाउन पाउनेहरू खागी भए भने नपाउनेहरू त्यागी भए ।

नेपालबाट दार्जीलिङ पस्न अघि ज्ञानदिलदासले पूर्व नेपालका विभिन्न ठाउँहरूमा जोसमनी मतको व्यापक प्रचार-प्रसार गरेका थिए । उनले पूर्व नेपालमा जोसमनी सङ्गठनलाई बलियो बनाउँदै धर्म प्रचार गरिरहेका थिए जसबाट नेपालका तत्कालीन प्रधानमन्त्री एवं राणा शासनका स्थापक जङ्गबहादुर राणा त्रसित बनेका थिए । जङ्गबहादुरलाई उनीविरुद्ध जनचेतना फैलाउन गुप्त सङ्गठनहरू बनाउन शुरू गरिएको आशंका भयो । उनले ज्ञानदिल दासलगायत उनका अनुयायीहरूलाई पक्राउ गरी काठमाडौं लगे अनि ६ महीनासम्म कैद गरी उनको अध्ययन गरे । तर यस ६ महीनाको अवधिमा ज्ञानदिल दासको राजकाज र राजनीतिसित कुनै सरोकार नरहेको र उनी विशुद्ध धर्म प्रचारक रहेको टुङ्गो लागेपछि स्वयं जङ्गबहादुरले सेतो झण्डा र नगरा दिएर उनलाई स्वतन्त्र रूपमा धर्म प्रचार गर्ने अनुमति दिएका थिए ।

कवि ज्ञानदिल दास प्राथमिक कालीन नेपाली कविता साहित्यका एक प्रतिभाशाली कवि हुन् । उनको जीवन सङ्घर्षमय छ । उनले अनेकौं यातना र विरोधको सामना गर्नु परे पनि प्रत्येकपल्ट उनी विजय बनेको इतिहास पाइन्छ । जङ्गबहादुर राणाले उनलाई कैद गरे तर पछि ससम्मान छोडे । उनको प्रभावमा आएर रणोदिप सिंहलगायत धेरै तत्कालीन भारदार, सैनिक र कर्मचारी जोसमनी मतमा दीक्षा लिन अघि आए । एकपल्ट चतरा मठमा एकतृत भएका कविरपंक्तिहरूले जोसमनीहरूलाई मांसहारी भनेर निन्दा गर्दा ज्ञानदिल दासले ‘‘साधु कबीर अगम मै तो हुँ, मांस भिषारीयॉं’’ भन्ने भजन देखेर मासुको आध्यात्मिक रहस्यवादी अर्थ खोलेर कबीरहरूलाई निरुत्तर तुल्याएका थिए । भनिन्छ, जोसमनी सन्त अषडदिल दासले मत प्रचारलाई धन कमाउने साधन बनाएका थिए, जसलाई ज्ञानदिल दासले निन्दा रे । पूर्व नेपालको इलाममा धर्म प्रचार गर्दा यिनले ब्राह्मणहरूको आलोचनाको समना गर्नुपर्‍यो । उनी जेलमा पनि परे र दुइ महीनापछि छुटे । दार्जीलिङमा उनलाई इशाईहरूले धपाउने अनेकौं चेष्टा गरे तर उनी विचलित भएनन् उल्टो पादरी टर्नबुललाई शास्त्रार्थमा निम्तो दिएर विजय भए अनि बाइबल नै जलाइदिए । पश्‍चिम सिक्किमको गेलिङमा जेरूङ देवानले उनी बसेको धाम ध्वस्त पारे । देवानलगायत बाहुनहरूले उनलाई गाउँबाट निस्कासित गर्ने, जातिबाट च्यूत गर्ने धम्की समेत दिए । ज्ञानदिल दास अलिकति पनि विचलित भएनन् बरू उल्टो अज्ञानी बाहुनहरूलगायत आम मानिसलाई शिक्षा दिन अनौठो विधिको प्रयोग गरे । सन्त ज्ञानदिलले दिउँसै हातमा विशाल रॉंको लिएर शिङ्ला बजारमा जात खोज्दै घुमे । यी सबै कार्यले सन्त ज्ञानदिलको व्यक्तित्वको अद्भूत रूपलाई प्रतिबिम्बित गर्दछ । उनको पाण्डित्य, निर्भिकता, आत्मविश्‍वास, सैद्धान्तिक दृढता, धैर्यता र जनजागरण फैलाउने अमोघ प्रयत्न अविष्मरणीय छ जसले एउटा गौरवपूर्ण इतिहास बोकेको हामी पाउँछौ ।

सन् १८८३-मा स्वर्गारोहण हुने सन्त ज्ञानदिल दास सन् १८७७ तिर सिक्किम आएको मानिन्छ । उनी जोसमनी सन्त परम्पराका महान धर्मगुरू मात्र नभएर नेपाली कविता साहित्यका अमूल्य रत्न तथा सिक्किमेली नेपाली कविता साहित्यका आदिकविका रूपमा स्थापित छन् । डा. केशवप्रसाद उपाध्यायले ज्ञानदिल दासलाई नेपाली कबीर भनेका छन् । उनको कवित्त्व प्रतिभा प्रभावशाली र तेजस्वी छ ।

कवि ज्ञानदिल दासले धर्म प्रचारका क्रममा थुप्रै भजन रचना गरेका थिए भनिन्छ । उनले ६० वटा भऩ्दा धेरै भजनको रचना गरेका थिए भन्ने मत विद्वानहरूको छ । उपलब्ध कृतिहरूका आधारमा उनका तीन प्रमुख काव्य कृतिहरूको चर्चा यहॉं गरिन्छ । १. उदय लहरी, २. झ्याउरे भजन र ३. टुङ्ना भजन ।

डा. पुष्प शर्मा अनुसार- नेपाली कविताको प्राथमिक कालको उत्तरार्द्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सन्त सम्प्रदायका सन्त कवि ज्ञानदीलदासका उदय लहरी (सन् १८७७), ‘टुङ्ना भजन ’ र ‘झ्याउरे भजन’ (सन् १८७८-७९) नै सिक्किमेली नेपाली कविताको थालनीका प्रेरक रहेका पाइन्छन् ।

ज्ञानदिलदासको उदयलहरी १०९ पद्यमा लेखिएको छ । यी पद्य छन्दोवद्ध छैनन् । लोक छन्दमा आधारित छन् । यसमा कविले गुरू महीमा, ज्ञानमहीमा, भक्ति योग, समाधि, तत्त्वज्ञान आदि दशाएर जोसमनी मतको महत्त्व, विशेषता र मर्म सम्झाउने प्रयास गरेको देखिन्छ । ठाउँ-ठाउँमा कर्मकाण्ड, हिंसा, अज्ञानता, जोतिष, घुस र गरीबीको विरुद्ध विद्रोह, व्यङ्ग्य र करूणा व्यक्त गरिएको छ । यसमा कवि ज्ञानदिलको धार्मिक मान्यता र जीवन दृष्टि परिलक्षित छ । कविले उदयलहरीको रचना दार्जीलिङ र सिक्किममा गरेको विद्वानहरूको मत रहेको पाइन्छ । विद्वानहरूका मतअनुसार सन् १८७७-मा सिक्किम प्रवेश गर्न अघि उनले उदयलहरीको रचना दार्जीलिङमा शुरू गरेका थिए र यसलाई सिक्किममा आएर पूरा गरे । डा. पुष्प शर्मा लेख्छिन् -‘‘ज्ञानदिलदासले दार्जीलिङमा रहँदा-बस्दा उदयलहरी-को रचना कार्य सन् १८७७ तिर समाप्त गरेका थिए भन्ने विद्वानहरूको भनाई रहेको पाइए तापनि स्वामी प्रपन्नाचार्यले चाहिँ दार्जीलिङबाट धर्म प्रचारकै उद्देश्यले भए पनि सिक्किम प्रवेश गरेका सन्त कवि ज्ञानदिलदासले गीत र भजनका अतिरिक्त उदयलहरीका केही अंशहरू पनि सिक्किममा रचना गरेका हुन् भन्ने विचार प्रकट गरेको पाइन्छ । ‘’

उदय लहरीको मुख्य उद्देश्य ज्ञान, भक्ति र वैराग्यको प्रतिपादन गर्दै ब्रह्मानन्द प्राप्तिको उपाय बताउनु हो । यसमा कविले रजोगुण र तमोगुणमा विजय गरी सत्त्वगुणको उद्घाटन गर्नुपर्ने मत व्यक्त गरेका छन्-
सत रज तमको महॉं जुद्धे भयो
सतको अर्जि ली तम गुण गयो
निसापी विचारी निसाप् हेरिदेऊ
सतगुणी निर्धाको सरन् अब लेऊ ।

धर्म प्रचारको क्रममा उनले सन् १८७८-७९ तिर गेलिङ धाममा झ्याउरे भजन र टुङ्ना भजनको रचना गरेको मानिन्छ । डा. पुष्प शर्मा लेख्छिन्- ’झ्याउरे भजन र टुङ्ना भजन चाहिँ आजपर्यन्त पनि गेलिङधाम वरिपरिका वासिन्दा, नयॉं बजार, सोरेङ, च्याखुङतिरका मानिसहरू मुख-मुखै गाउने गर्छन् । उनले सिक्किममा रहँदा-बस्दा (सन् १८७७-१८८३) सामाजिक सुधार संस्कारको भावना र धर्म प्रचारकै उद्देश्यले भए पनि केही गीत भजनहरू रचना गरेका थिए भन्ने अनुमान गर्नसकिन्छ र यसबाट सिक्किमेली समाज केही मात्रामा प्रभावित प्रेरित भएको थियो भन्ने अनुमान गर्नसकिन्छ । यसैले ज्ञानदिलदासका रचना-कृतिहरूलाई पनि सिक्किमेली नेपाली कविताको बीज वा पृष्ठभूमिका रूपमा लिनुपर्ने स्थिति रहेको पाइन्छ । ’’ कविका यी दुइ भजनमा उनी समस्त कवित्त्व गुणले सम्पन्न रहस्यवादी कविको रूपमा उपस्थित भएका छन् । डा. केशव प्रसाद उपाध्याय अनुसार नेपाली लोक छन्द झ्याउरेलाई कवित्त्व मर्यादा दिने प्रथम कविनै ज्ञानदिलदास हुन् । डा. उपाध्याय लेख्छन्, ’यी दुवैमा पद् लालित्य, भाव माधुर्य, रस घनत्व र कल्पनाको सुन्दर संयोजन हेर्न र अनुभव गर्नसकिन्छ । झ्याउरे भजन २४ पद्यमा झ्याउरे लयमा लेखिएको छ-
धुनीको छेउ छाउ टक्रयाक टुक्रुक
जोगी ज्यान बसेको
निधारै भरी फुस्रै र धुस्रै
षरानी घसेको ।

यसरी नै टुङ्ना भजन पनि नेपाली लोकलयमा लेखिएको छ । यसमा १८ हरफ छन् । यसमा गीतात्मक लालित्य पाइन्छ भने यो रहस्यवादी छ । यसमा गाउँले बोलीको आत्मीयता पाइन्छ तर भाव भने गहिरो पाइन्छ-
वंसी बज्यो तिरिरि, अनहद्को छन् छन्
कमल् फुल्यो रन्वन् भमराको भन् भन्
राम जी! जोगी घुम्यो फन् फन् नि ।

कवि ज्ञानदिल दासले लगभग ६० वटा भजनहरू रचना गरेको मानिन्छ । कतिपय प्राप्य छन् र कति अप्राप्य पनि । यसमा अध्ययन् र अनुसन्धान भइरहेका छन् ।

अन्त्यमा भन्नुपर्दा कवि ज्ञानदिल दास सिक्किमेली नेपाली साहित्यका पृष्ट पोषक थिए, मार्ग दर्शक थिए, प्रणेता थिए । यिनलाई सिक्किमेली नेपाली साहित्यका आदिकवि पनि मान्न सकि न्छ । विलक्षण प्रतिभाका धनी कवि ज्ञानदिल दास नेपाली साहित्यका अमूल्य निधिका रूपमा परिचित छन् भने उनले सिक्किमेली नेपाली कविता साहित्यको पृष्ठभूमिलाई बलियो आधार प्रदान गरेका छन् ।

पारसमणि शम

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

३ फागुन, काठमाडौं/ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्