जंगली हात्तीले मार्यो दुइ महिला

0
277

सुनसरी/ कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।
गुइँठा संकलन गर्न घरनजिकको खेतमा गएका बेला जंगली हात्तीले दुवैमाथि आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएका दुवैका शवलाई पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।यस वर्षमात्रै कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आक्रमणबाट सप्तरीमा ६ जनाको मृत्यु भइसकेको आरक्षका संरक्षक अधिकृत रामप्रसाद साहले जानकारी दिए ।
यसअघि १० पुस ०७३ मा पनि हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ५५ वर्षीय किसान रघुनाथ खंगको हात्ती आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै १८ कात्तिक २०७३ को राति भारदहको छिमेकी गाविस बैरवा–८ का ६२ वर्षीय किसान अलाउद्दीन खानको पनि हात्ती आक्रमणका कारण मृत्यु भएको थियो । खेतमा बाली हेर्न गएका बेला खानमाथि हात्तीले आक्रमण गरेका थिए । सोही वर्ष हनुमाननगरमा पनि हात्तीको आक्रमणले एक युवकको मृत्यु भएको थियो भने अर्का एकजना गम्भीर घाइते भएका थिए ।
यसैगरी २९ असार २०७२ मा सप्तकोसी नगरपालिका–१० स्थित कमलपुरकी १३ वर्षीया बालिका संगीताकुमारी यादवको तथा १५ चैत २०६९ मा घोघनपुर ४ का ६१ वर्षीय विन्देश्वर चौधरीको मृत्यु जंगली हात्तीको आक्रमणबाट भएको थियो । बा“सको झारीमा लुकेका चौधरीलाई निकालेर हात्तीले कुल्चिदिएका थिए भने बाख्रा चराउन मध्यवर्ती क्षेत्र गएकी बालिका यादवलाई पनि हात्तीले कुल्चेर ज्यान लिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here