Saturday, July 27, 2024
Home Blog Page 330

करन केसीको चमत्कार, विश्व चिनाउन सफल

काठमाडौं / आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को अंकतालिकाको शिर्ष स्थानमा रहँदै नेपाल एकदिवसीय विश्वकप छनौट प्रतियोगिताका लागि छनौट भएको छ । प्रतियोगिताको अन्तिम खेलमा क्यानडालाई एक विकेटले पराजित गर्दै नेपाल आगामी मार्चमा जिम्बाबेमा हुने आईसीसी एकदिवसीय बिश्वकप छनौट खेल्ने भएको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रन बटुल्दा नै ९ विकेट गुमाएर जित्ने सम्भावना लगभग समाप्त भइसकेको थियो । जितका लागि ५१ रन आवस्यक भएको बेला करन केसी र सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जितसम्म पुर्याए । यो जितमा बलर करण केसीले विष्फोटक ब्याटिङ गरे र उनलाई दर्बिलो साथ दिए अर्का बलर सन्दीप लामिछानेले । अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेनन ।

अन्तिम ओभरको पाँचौ बलमा करनले छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि अन्तिम २ बलमा २ रन आवस्यक थियो । पाँचौ बल क्यानडा बलरले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई एक रन आवस्यक थियो । जुन करनले पुरा गरे । ३१ बलको सामना गरेका करनले ४ छक्का र ३ चौका मद्धतमा अविजित ४२ रनको इनिंग खेले । सन्दिप लामिछाने १८ बलमा ५ रन बनाएर अविजित रहे ।

नेपालले ज्ञानेन्द्र मल्ललाई ९ र पारस खड्का शून्य रनमा लगातार गुमाएपछि दीपेन्द्र ऐरी र दिलिप नाथले तेश्रो विकेटको लागि ५० रनको साझेदारी गर्दै नेपालको इनिंग उकासेका थिए। दिलिप नाथ ४१, रोहितकुमार पौडेल, २७, आरिफ शेख २६, दिपेन्द्र सिंह ऐरी १८ सोमपाल कामी ७ शरद भेषावकरले १ रनको योगदान गर्दा बसन्त रेग्मी ० रनमा आउट भए । टस हारेर ब्याटिंगको निम्तो पाएको क्यानडाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनायो । उसका लागि सृमन्था विजेरत्ने १०३ रनको योगदान गरे ।

नेपालका बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २ तथा करन केसी र शरद भेसावकरले समान १–१ विकेट लिए । सन्दीप लामिछाने प्र्रतियोगतमा सबैभन्दा धेरै विकेट लिने खेलाडी भएका छन् । चार खेलमा उनले १६ विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियालाई १ विकेटले, तेश्रो खेलमा युएईलाई ४ विकेटले, चौथो खेलमा केन्यालाई ३ विकेटले पराजित पराजित गरेको थियो भने दोश्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मोरङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

मोरङ / विराटनगरस्थित मोरङ कारागरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीले समस्या भएको छ । ३ सय बस्ने क्षमता भएको उक्त कारागारमा ७ सय ४३ कैदीबन्दी र ६ जना आश्रित बालबालिका बस्न बाध्य छन् ।
क्षमताभन्दा दोब्बर कैदबन्दी, खानेपानीको अभाव, कैदीबन्दीलाई घुमफिर गर्ने ठाउँको अभाव, जीर्ण सुरक्षा घेरा, सुरक्षाकर्मीको ब्यारेक अभाव र भूकम्पमा चर्किएको कार्यालय भवनले समस्या भएको हो ।
पुरुष कारागारका चौकीदार अभिषेक गिरीले क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुत्न, बस्न, हिँडडुल गर्न समस्या भएको गुनासो पोखे । ‘कोचिएर बस्नु पर्दा कैदीबन्दीहरू पटकपटक बिरामी पर्दै आएका छन्,’ उनले भने, ‘अपराध गर्नेलाई सुधारका लागि कारागारको बसाइ सुध्रिने किसिमको हुनुपर्छ तर यहाँ क्षमताभन्दा बढी संख्या भएकाले समस्या भएको छ ।’
क्षमताभन्दा बढी कैदीबन्दीले तनाव मुक्त भएर कारागारभित्र बस्ने स्थिति नभएको उनले सुनाए । अनेक मानसिक तनावमा रहेका कैदीबन्दीलाई हिँडडुल गर्न, नियमित व्यायाम गर्न, पानी खान, फ्रेस भएर बस्ने वातावरणका लागि सोहीअनुसारको भौतिक संरचना हुनुपर्ने उनी बताउँछन् ।
उनले कारागारभित्र घुम्ने ठाउँको अभावले कैदीबन्दीहरूमा जोर्नी दुख्ने, घुँडा जाम हुने र अत्यधिक दुख्ने समस्या देखिएको बताए । ‘घुम्ने ठाउँ अभाव, खानेपानीको समस्याले केही दिनअगाडि ६ जना कैदीबन्दीको मृत्यु भएको छ,’ उनले भने, ‘घुँडा जाम हुने समस्याबााट पीडित १०र१२ जना कैदीबन्दीलाई बाहिर उपचारका लागि पठाउने तयारी गरिएको छ ।’ कारागारभित्र खानेपानीको समस्या तत्काल समाधान गर्न उनले माग गरे । यसअघि भएको एउटा ट्युवेलको लेदो आउने पानी खाएर कारागारभित्र झाडापखाला फैलिएको उनले सुनाए ।
महिला कारागारका कैदीबन्दीले नियमित सरसफाइको आवश्यकता हुने महिला कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि समस्या हुनु स्वाभाविक भएको बताइन् । मोरङ कारागारका जेलर प्रेमप्रसाद सापकोटाले कारागारको क्षमता ३ सय भएपनि आफू आएपछि माथिल्लो तल्लामा थप भवन बनाएर ३०र३५ जना कैदीबन्दी बस्ने व्यवस्थापन मिलाएको बताए ।
उनले जोर्नी दुख्ने, श्वासप्रस्श्वास, मानसिक, छालासम्बन्धी लगायतको रोग कैदीबन्दीमा भएको स्विकारे । ‘दैनिक ७र८ जना बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउनु पर्छ,’ उनले भने, ‘यहाँ कोसी अञ्चल अस्पतालमा भएको स्वास्थ्यसम्बन्धी सुविधाले पनि कैदीबन्दीको संख्या बढाएको छ । अन्य जिल्लामा भएको बिरामीहरूलाई पनि यहाँ नै ल्याएर थपिने काम हुँदै आएको छ ।’
कारागारभित्र मधुमेह, उच्च रक्तचाप, क्षयरोग, एचआईभी संक्रमित र मानसिक रोगको नियमित औषधि खाने बिरामी भएको उनले सुनाए । उनले छालासम्बन्धी र श्वासप्रश्वाससम्बन्धी रोग क्षमताभन्दा बढी कैदीबन्दीले नै भएको उनले स्विकारे । सरकारले बजेट विनियोजन जिल्लागत रूपमा गरेपनि उपचार गर्नुपर्ने बिरामी यहाँ ल्याएर राखिदिँदा बजेटको समेत अभाव हुने गरेको उनले गुनासो पोखे ।
उनले सुरक्षा घेरा भएको पर्खाल भसारेर कारागारभित्र खाली ठाउँ बनाउनु आवश्यक भएको स्विकारे । ‘पर्खाल सार्नका लागि कारागार व्यवस्थापन विभागले ९० लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘तर सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले डिजाइन स्टिमेट तयार नगरिदिएर बजेट कार्यान्वयनमा समस्या भएको छ ।’
सहरी विकास तथा भवन निर्माण डिभिजन विरानगरका प्रमुख श्याम किशोर सिंहले कारागारको डिजाइन र स्टिमेट विभागबाट हुनुपर्ने र त्यो आफूहरूको अधिकार क्षेत्रभित्र नपरेको बताए । उनले उक्त डिजाइन र स्टिमेटका लागि विभागमा पत्राचारसमेत भइसकेको उनले सुनाए ।
उनले कारागारमा खानेपानीको समस्या भएको स्विकारे । खानेपानी समस्या समाधानका लागि कारागार व्यवस्थापन विभागमा पत्राचार गरेको र बैकल्पिक व्यवस्थामा पनि लागेको उनले बताए । विराटनगर महानगरपालिकाका प्रमुख आउँदो आर्थिक वर्षमा कारागारमा खानेपानी व्यवस्थापनका लागि ५ लाख बजेट विनियोजन गर्ने आश्वासन दिएको उनले सुनाए ।
प्रमुख प्रेमप्रसाद सापकोटाले जीर्ण सुरक्षा घेरा, सीमित स्रोत साधनमा कैदबिन्दीको संखया थपिने क्रम जारी र भूकम्पले चर्किएको सानो भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुनु स्वाभाविक भएको बताए । ‘कारागारमा दिन प्रतिदिन कैदीबन्दीको संख्यामा हुँदै गएको वृद्धिसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको छ,’ उनले भने, ‘खिया लागेर जीर्ण भइसकेको काँडे तारको सुरक्षा घेरामा पर्खाल लगाउनुका साथै सुरक्षाकर्मी बस्ने ब्यारेक आवश्यक छ ।’ कारागार सुरक्षामा २४ सौं घण्टा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने ब्यारेक नभएको उनले गुनासो पोखे । भूकम्पले क्षति पुर्याएको कार्यालय भवनको एउटा कोठामा बसेर २ वटा कोठामा कार्यालय सञ्चालन गर्न बाध्य भएको उनको गुनासो छ । कैदीबन्दीका लागि ल्याएको खाद्यान्न गोदाम गरेर राख्ने भवनको समेत कारागारमा अभाव देखियो ।
‘भूकम्पले क्षति पुगेको कार्यालय भवनमा प्राविधिकले रातो चिह्न लगाए पनि बजेट अभावले नयाँ भवन निर्माण हुन सकेको छैन,’ उनले भने, ‘सुरक्षाका लागि पर्खाल, नेपाल र सशस्त्र प्रहरी बस्ने ब्यारेक, कार्यालय तथा आवास भवन र कैदीबन्दी बस्नेलगायतको भौतिक संरचनाका लागि ६ करोडको प्रस्ताव विभाग, मन्त्रालयमा पठाएको तर अहिलेसम्म कुनै जवाफ आएको छैन ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एमाले र माओवादी एकताले पाउने भयो सार्थकता, हेर्नुहोस् के के छन् मिलन विन्दुका एजेण्डा

काठमाडौं / नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले एकताका लागि गरेका सहमति पार्टीमा अनुमोदन भएका छन । एमाले स्थायी समिति बैठकले दुई अध्यक्षबीच भएका सहमति अनुमोदन गर्दै अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ । ललितपुरमा बसेको बैठकमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्षसँग अहिलेसम्म भएका सहमतिबारे जानकारी गराएका थिए ।

बैठकले दुई अध्यक्षबीच भएका सहमति अनुमोदन गरेको सो पार्टीका स्थायी समिति सदस्य सुभाष नेम्वाङले जानकारी दिए । एमालेले माओवादीको समर्थनमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी गर्ने औपचारिक निर्णय पनि गरेको छ । निर्वाचन आयोगले राष्ट्रपतिलाई परिणाम बुझाएलगत्तै सरकार गठनको दावी गर्ने सो पार्टीको तयारी छ । यता माओवादी केन्द्रका शिर्षस्थ नेताको बैठकले पनि सहमति अनुमोदन गर्दै थप निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले एकीकृत पार्टी र सरकारको नेतृत्व दुबै नेताले गर्ने लगायतका सहमति भएको जानकारी गराएका थिए । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफल लगत्तै दुबै पार्टी आन्तरिक छलफलमा जुटेका थिए । आन्तरिक छलफलपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको छ । सोही बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिनेछ ।

दुई अध्यक्षबीच भएका सहमति

द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतमा रहने ।

पार्टी चलाउने भएकाले प्रचण्ड कार्यकारी, ओली सेरेमोनियल अध्यक्ष, सरकारको नेतृत्व ।अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री ।

दुवैले पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने ।

दुवैले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने ।

सकेसम्म छिटो बिशेष महाधिवेशन गर्ने ।

त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने ।

सानो आकारको केन्द्रीय समिति बनाउने ।

राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

ट्राफिक नियन्त्रणका कन्टेनर छुटाउन ठेकदारदेखि नेतासम्म

झापा, २ फागुन/ इलाका ट्राफिक प्रहरी कार्यालय दमकले क्षमताभन्दा बढि भार बोकेर आएका ९ वटा कन्टेनरहरु नियण्त्रणमा लिएपछि छुटाउन नेताका फोनको ओइरो लागेको छ । नेताले पैसा दिने आश्वासनदेखि धम्की समेत दिएपछि ट्राफिकसमेत अप्ठेरोमा परेपछि अधिकारीहरुसंग सेटिङमा मालवाहक लहरी अर्थात कन्टेनरहरु चल्ने गरेको रहस्यको खुलेको हो ।
४ दिनअघि इलाका प्रहरी कार्यालय दमकको जाँच स्थल ताराबारीमा कन्टेनरहरु जाँच गर्दा ४२ टनसम्म कोइला बोकेर गुडिरहेको पाइएपछि नियन्त्रणमा लिइएको हो । बुधवार रातीसम्मपनि ति कन्टेनरहरु सडकमा नै रहेका छन् । ४ दिनमा समेत कन्टेनरको बिषयमा के गर्ने भनेर निर्णय हुन नसक्दा अलमल भएको पाइएको छ ।
काकडभिट्टा स्थित भन्सारमा पास भएर आएका र बिर्तामोड समेत क्रस गरेर आएका कन्टेनरहरु दमकमा पक्राउ परेपछि यसले ट्राफिक बृत्तमा समेत खैलाबैला मच्चिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राइले आफूहरुले जाँच गर्दा बढि भार पाएकाले आवश्यक कार्वाहीका लागि यातायात ब्यवस्था कार्यालय मेचीलाइ अनुरोध गरिएको बताए । आवश्यक कागजपत्र सहित उक्त कार्यालयमा कार्वाहीका लागि पठाइएको उनको भनाइ छ ।

सडकमा कन्टेनर रोकिदा आफूहरुलाइ नै थप अन्य सवारी साधन जाँचमा अप्ठेरो परेको उनको भनाइ थियो । यातायात कार्यालयको क्षेत्रअधिकार भित्र पर्ने भएकाले ट्राफिकले केहि गर्न नसक्ने भन्दै ट्राफिकले यातायात ब्यवस्था कार्यालय देखाएको हो ।

यता यातायात ब्यवस्था कार्यालय मेचीका कोहि पनि अधिकारीहरु यस बिषयमा कुरा गर्न चाहादैनन् । कार्यालयको नम्बरमा बारम्बार फोन गर्दा समेत उठ्दैन । यातायात ब्यवस्था कार्यालयदेखि भन्सारसम्म कोइलामा सेटिङ भएर सामान आउने श्रोतको दाबी रहेको छ । यसमा सरकारी उच्च अधिकारीहरुको पनि संलग्नता रहदै आएको श्रोतले दाबी गर्याे ।

भारतबाट आउने कोइलाका गाडिहरु यसरी दमकमा पहिलो पटक ट्राफिक नियण्त्रणमा रहेको हो । अहिले नियण्त्रणमा लिएपछि ट्राफिकलाइ नै घाँडो भएको बताइन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नगरपालिकाद्धारा ‘दमक राजपत्र ’जारी

प्रदेश आवाज
दमक, २ फागुन/ झापाको दमक नगरपालिकाले स्थानीय राजपत्र जारी गरेको छ । स्थानीय सरकार ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि नगर कार्यपालिकाले दमक राजपत्र–२०७४ जारी गरेको हो । ९८ पृष्ठ भएको सो राजपत्र गत माघ ३ गते प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालका अनुसार जारी राजपत्र अनुसार नगरपालिकाले कार्य सञ्चालन गरिआएको छ ।
स्थानीय सरकार ऐनको प्रयोग गरि राजपत्र जारी गर्ने दमक प्रदेश नं. १ कै पहिलो नगरपालिका भएको प्रशासकीय अधिकृत दाहालको दावी छ । उनले नेपालको संविधानको अनुसूची ८, ९ मा उल्लेख भएका सूची अन्तर्गतका विषयमा तथा कानुन बमोजिम स्थानीय तहबाट निर्माण गरिएका कानुन,नियम,निर्देशिका ,कार्यविधि आदि राजपत्रबाट प्रकाशन गर्नुपर्ने व्यवस्था भए बमोजिम सो राजपत्र प्रकाशित गरिएको बताए । उनले जारी राजपत्रले स्थानीय सरकार सञ्चालनमा सहयोग पुग्ने बताए ।
राजपत्रले नगरका मूलभूत पाँच वटा विषयलाई कार्यविधि तयार गरि लागू गरेको छ ।
जारी राजपत्रमा नगरसभा सञ्चालन कार्यविधि –२०७४ ,भूमि व्यवस्थापन नियमावली –२०७४, दमक विपद व्यवस्थापन कोष निर्देशिका–२०७४,नगर कार्यपालिका ( कार्यसम्पादन नियमावली–२०७४ र नगर कार्यपालिका ( कार्यविभाजन नियमावली–२०७४ रहेका छन् ।
नगरसभा कार्यविधिको स्वीकृत गत कातिक ३० , भूमि व्यवस्थापनको पुस २८ , विपद व्यवस्थापनको कातिक ३० र कातिक ३० मा नै नगर कार्यपालिकाको कार्यसम्पादन र कार्यविभाजन नियमावलीलाई नगर कार्यपालिकाको बोर्ड बैठकले स्वीकृत गरेको थियो ।
राजपत्र प्रकाशनले नगरपालिकाबाट जारी हुने नियम, कानुन कार्यान्वयनमा ल्याउन सहज हुने नगर प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार राजपत्रमा प्रकाशित भएका कार्यबिधि, नियमावली तथा निर्देशिका स्वतः कार्यान्वयन तहमा जानेछ ।
राजपत्र सामन्यतया ६–६ महिनामा प्रकाशन हुनेछ । विशेष परिस्थितिमा आवश्यकता अनुसार प्रकाशन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
राजपत्रको सम्पादन अधिकृत दाहालले गरेका हुन् । उपप्रमुख गीता अधिकारी सल्लाहकार रहेको राजपत्रको संरक्षकको रुपमा नगर प्रमुख रहने राजपत्रमा उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रणय दिवशकै दिन ‘रोज गार्डेन पार्क’ शिलान्यास

दमक,२ फागुन/ आन्तरिक र वाहिरी पर्यटक या दमक आएका पाहुन जो कसैले पनि दमकमा खुल्ला पार्कको अभाव खड्किएको महसुस गरिरहेकै बेला प्रणय दिवसको अवसर पारेर दमक नगरपालिकाले ‘रोज गार्डेन पार्क’ शिलान्यास गरेको छ ।
दमक नगरपालिकाले वडा नं. ७ मा ‘रोज गार्डेन पार्क’ निर्माण गर्ने भएको छ । नगरपालिकाले आज बुधबार एक कार्यक्रमकाबीच पार्कको शिलान्यास गरेको हो ।
वडा नं. ७ रेडक्रस भवन अगाडीको खाली रहेको करीब ८ कट्ठा जमिनमा नगरपालिकाले पार्क बनाउन लागेको हो । पार्कको नगर प्रमुख रामनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा दुई वटा गुलाबको फूल रोपर शिलान्यास गरे ।

पार्क निर्माणमा नगरपालिकाले ४० लाख बढी लगानी गर्ने प्रशासकीय अधिकृत युवराज दाहालले बताए । उनका अनुसार एक बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरि तत्कालै निर्माण कार्य थालिनेछ ।
दाहालका अनुसार पार्कको डिजाइन तयार भइसकेको छ । व्यवस्थित पार्किङसहितको पार्कभित्र फरक फरक रंगमा फूल्ने १५ किसिमका गुलाबका फूल रोपिनेछन् । उनले पार्क बनेपछि युवापुस्ता र वृद्धवृद्धालाई रमाइलो गर्ने थलो बन्ने बताए । उनले भने,–‘ पार्कले नगरको सुन्दरता बढाउन पनि सहयोग पुग्ने छ ।’
दमक चोक नजिकै बनाउन लागिएकोले पार्कले बाह्य पर्यटक भित्र्याउन पनि सहयोग गर्ने नगरपालिकाको अपेक्षा छ । उनले बढ्दो घनत्व र शहरको सुन्दरतालाई बचाई राख्न पनि पार्क निर्माण थाल्नु परेको बताए । त्यस्तै उपप्रमुख अधिकारीले पार्क निर्माण सम्पन्न भएपछि नगरको गरिमा र चर्चा थप बढेर जानेमा आफू आशावादी रहेको बताइन् । पार्क निर्माण गर्न लागिएको स्थानमा तत्कालीन पञ्चायत सरकारले रजत जयन्ती मनाएको स्मारक रहेको छ । उक्त स्मारकलाई नभत्काई संरक्षण गरेर रोज पार्क निर्माण गरिने उपप्रमुख अधिकारीले बताईन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जंगली हात्तीले मार्यो दुइ महिला

सुनसरी/ कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।
गुइँठा संकलन गर्न घरनजिकको खेतमा गएका बेला जंगली हात्तीले दुवैमाथि आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएका दुवैका शवलाई पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।यस वर्षमात्रै कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आक्रमणबाट सप्तरीमा ६ जनाको मृत्यु भइसकेको आरक्षका संरक्षक अधिकृत रामप्रसाद साहले जानकारी दिए ।
यसअघि १० पुस ०७३ मा पनि हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ५५ वर्षीय किसान रघुनाथ खंगको हात्ती आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै १८ कात्तिक २०७३ को राति भारदहको छिमेकी गाविस बैरवा–८ का ६२ वर्षीय किसान अलाउद्दीन खानको पनि हात्ती आक्रमणका कारण मृत्यु भएको थियो । खेतमा बाली हेर्न गएका बेला खानमाथि हात्तीले आक्रमण गरेका थिए । सोही वर्ष हनुमाननगरमा पनि हात्तीको आक्रमणले एक युवकको मृत्यु भएको थियो भने अर्का एकजना गम्भीर घाइते भएका थिए ।
यसैगरी २९ असार २०७२ मा सप्तकोसी नगरपालिका–१० स्थित कमलपुरकी १३ वर्षीया बालिका संगीताकुमारी यादवको तथा १५ चैत २०६९ मा घोघनपुर ४ का ६१ वर्षीय विन्देश्वर चौधरीको मृत्यु जंगली हात्तीको आक्रमणबाट भएको थियो । बा“सको झारीमा लुकेका चौधरीलाई निकालेर हात्तीले कुल्चिदिएका थिए भने बाख्रा चराउन मध्यवर्ती क्षेत्र गएकी बालिका यादवलाई पनि हात्तीले कुल्चेर ज्यान लिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चट्याङ लागेर २२ सैनिक जवान घाइते

बैतडी : मंगलबार साँझ चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तरगत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएका हुन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदिप बानियाले जानकारी दिएका छन् । गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिए ।

समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी गरेका छौं ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

२३ औँ जनयुद्ध दिवशमा अन्तरक्रिया

झापा/ २३ औँ जनयुद्धको अवसरमा झापाको बिर्तामोडमा मंगलवारआयोजित कार्यक्रममा सहभागि वक्ताले नेपालमा गणतन्त्र स्थापनामा हुनमा जनयुद्धको मुख्य भूमिका रहेको बताएका छन् ।
माओवादी अध्ययन केन्द्रले आयोजना गरेको ‘दश बर्षे जनयुद्धका उपलब्धी’ बिषयक अन्तरक्रियाका सहभागिले नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक सिद्धान्त लागु गराउन जनयुद्धको भूमिका रहेको बताए ।
अध्ययन केन्द्रका तर्फबाट पत्रकार तारामणि सापकोटाले ‘दश वर्षे जनयुद्धका उपलब्धी’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि एमाले नेता कुन्दन भट्टराई, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई, जनमुक्ति सेनाका तत्कालिन व्रिगेडियर कमाण्डर श्यामबीर लिम्बु शौभाग्यले टिप्पणी तथा सुझाव राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पूर्णसिंह राजवंशीले जनयुद्धका परिवर्तनलाई संस्थागत गर्नु पर्नेमा जोडदिए । माओवादी अध्ययन केन्द्रका अध्यक्ष रमेश गुरागाईले नेपालको माओवादी जनयुद्ध विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको बताए ।
सहभागिका तर्फबाट रिडर्स झापाका निरज कट्टेलले जनयुद्धको दुई अतिबाट मूल्याङ्कन हुने गरेको बताए ।
कार्यक्रम अध्ययन केन्द्रका डण्डिराज घिमिरेले संचालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनयुद्ध गणतन्त्र स्थापनामा योगदान पूर्याएको कुरालाई सबैले स्वीकार गर्नु पर्ने बताए । कार्यक्रममा सहभागि भूपाल सापकोटा, अरुण श्रेष्ठ, देवी ओझा, चन्द्रकान्त ढकाल लगायतले जनयुद्धले गरेको सामाजिक तथा साँस्कृतिक परिवर्तनले निरन्तरता पाउन नसकेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रेडक्रस सभापतिमा बुढाथोकी

दमक,१ फागुन / नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सभापतिमा प्रकाश बुढाथोकी चुनिएका छन् । आगामी ४ बर्से कार्यकालका लागि सभापतिमा बुढाथोकी सर्वसम्मत निर्वाचित भएका हुन् ।

नयाँ नेतृत्वका लागि सोमबार ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सभापतिका लागि वर्तमान सभापति लीला गुरागाई, पूर्व सभापति प्रकाश बुढाथोकी र पूर्व उपसभापति नवलचन्द्र गुरागाईले उम्मेदवारी दर्ता गरेका थिए ।

सभापति पदका तीनै जना प्रतिष्पर्धीवीच सहमति जुटेपछि बुढाथोकी पुनः सभापतिमा निर्विरोध भएका हुन् । उनी वर्तमान सभापति गुरागाईको नेतृत्व अघि सभापति भएर एक कार्यकाल उपशाखाको नेतृत्व गरेका थिए ।

निर्वाचित भए लगत्तै सभापति बुढाथोकीले उपशाखाको थप बृद्धिविकासका लागि आफू क्रियाशील हुने बताएका छन् । उनले रेडक्रस उपशाखालाई अव सामुदायिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।
यता उपशाखाका ८ सदस्य पदमा भने २१ जनाले आफनो उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत समेत रहेका रेडक्रस झापा शाखाका उपसभापति मित्रदेव काफ्लेले जानकारी दिए ।

सदस्यमा समेत निर्वाचनको मिति अगावै सहमती जुट्ने निर्वाचित सभापति बुढाथोकीले जनाए । सहमति नजुटे आगामी फागुन ५ गते निर्वाचन कार्यक्रम रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्