ताप्लेजुङ/ न्यानो मौसम सुरु भएपछि हिमाली क्षेत्रका बासिन्दा लेक उक्लिन थालेका छन्न् । पशु चौपायासहित उनीहरू धमाधम फर्किन थालेका हुन् । चिसोमा बन्द रहेका ओलाङचुङगोला, लेलेको घुन्सा र ग्याब्लाका विद्यालय खुलिसकेका छन् । स्थानीय झोलाझिम्टी लिएर उत्साहका साथ घर फिरिरहेका छन् ।
चिसो बढेपछि स्थानीय चौंरी र भेडीगोठसहित तमोर र काबेलीलगायतका नदी किनारतिर झरेका थिए । साउन र भदौमा ५ हजार ५ सय मिटर उचाइको मौवाटार, खम्बाछेन जस्ता उच्च हिमाली भेगमा पुग्ने गोठ पुस र माघको चिसोमा फुङलिङ नगरपालिकाको दोभान, हान्द्रुङ र त्रिवेणीसम्मै झार्ने चलन छ ।
पापुङका चौंरीपालक दावा शेर्पा बस्तुभाउका लागि हिमालदेखि औलसम्मै खानेकुरा र आश्रयको व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘चौंरी राख्नका लागि पहिल्यै बन्दोबस्त मिलाउनुपर्छ,’ उनले भने, ‘औलमा बस्तु बाँध्ने ठाउँ र परालको जोहो कात्तिकमै आएर गर्नुपर्छ ।’
हिमाली क्षेत्रकै बासिन्दाले पशुपालन व्यवसाय गर्ने भएकाले माथिल्लो भेगमा सबैले खर्क बनाएका छन् । ‘तीनरचार महिना बिदा हुने भएकाले पहिला त माथि स्कुल बन्द हुँदा सदरमुकाममा पढाउने चलन थियो,’ घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाचक्र गुरुङले भने, ‘अहिले बढीमा दुई महिना बिदा हुन्छ ।
तलका स्कुलमा अस्थायी भर्ना हुनुपर्दैन ।’ यो क्षेत्रमा बर्खामा भने स्कुल बिदा हुँदैन । बेसीबाट फर्किनेले खाद्यान्नलगायत बन्दोबस्तीका सामान लगिरहेका छन । चिसो घटेपछि र बर्खा लाग्नुअघि नै खाद्यान्नको जोहो गर्ने गरेका हुन् । उकालो चढ्ने सिजन
सुरु भएसँगै कर्म गर्ने समय सुरु भएको अनुभूति हुने हिमाली क्षेत्रका बासिन्दा बताउँछ ।