दमक, २८ बैशाख / झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसंगै पुलिसले नगद १३ लाख ११ हजार रुपैया प्राप्त गर्यो । उपविजेता मनाङले रु ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनुपर्यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले ८८ औं मिनेटमा हेडमार्फत गोल गरे ।
खेलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले रु ११ हजार रुपैया प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम ,उत्कृष्ट मीडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा तीन÷तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपीएफका हरी कार्की घोषित भए । विद्यागत उपाधि विजेता खेलाडीले जनही रु २५ हजार ,ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रुपमा विजेता पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । उनले टिभिएस कम्पनीको अपाची मोटरसाईकल प्राप्त गरेका छन् ।
गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको सो प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो । गोल्डकपमा आयोजकसहित १० टिमको सहभागीता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
दमक गोल्डकपको उपाधि पुलिसलाई
मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन्
झापा/ जिल्ला समन्वय समिति झापाले निर्धारण गरेको मापदण्डविपरीत ठेकेदारले झापाका नदीबाट नदीजन्य सामग्री (गिट्टी, बालुवा) धमाधम झिक्दै आएका छन्। नियमविपरीत ठेकेदार तथा तिनका पेटी ठेकेदारले नदीजन्य सामग्री उत्खनन् कार्य गरिरहँदासमेत सम्बन्धित निकायले यसतर्फ कुनै चासो देखाएको छैन।
अनुगमन गर्ने आधिकारिक निकायले चासो नदेखाउँदा अहिले झापाका नदी तथा खोला दोहन भइरहेको स्थानीयको आरोप छ। तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)ले आइइई गरेको प्रतिवेदनका अनुसार झापाका ११ वटा खोला तथा नदीको ठेक्का लगाएको थियो।
चालू आर्थिक वर्ष ०७४र०७५ का लागि साम्सुहाङ विल्डर्स कम्पनी गौरादहले १३ करोड १३ लाख रुपैयाँमा ठेक्का लिएको छ। ठेक्का लिएको उक्त कम्पनीले मापदण्डअनुसार खोला उत्खनन् गर्ने जिससमा लिखित सम्झौता गरेको छ। तर अहिले झापाका अधिकांश खोला तथा नदीमा मापदण्ड त परै जाओस्, आफूखुसी स्काभेटर प्रयोग गरेर पाँच मिटर गहिराइसम्म उत्खनन् गरिरहेको फेलापरेको छ।
नियममा एक मिटरभन्दा बढी नपाउने जिससको प्रतिवेदनमा उल्लेख छ। समन्वय समितिले मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीबाट बग्ने निन्दा खोलाका तीन स्थानबाट नदीजन्य सामग्री निकाल्ने स्थान तोकिएको छ। बोकेमात, टावरनाका र खवासवस्तीबाट खोलाजन्य सामग्री निकाल्न सकिन्छ।
तोकिएका तीनै स्थानबाट उत्खनन् गरिने नदीजन्य सामग्री अब निकाल्न पाइँदैन। तोकिएको स्थानमा खोलाजन्य सामग्री घनमिटरअनुसार उत्खनन् भइसकेको कर्मचारी स्रोतको दाबी छ। ती खोलाको ठेक्का राजकुमार थापाले पेटी कन्ट्र्याकमा लिएका छन्। स्थानीय सुवास राईले अहिले ती खोलामा ठेकेदारले स्काभेटर प्रयोग गरेर समन्यव समिति र जिल्ला प्रशासन कार्यालय झापाको आदेशविपरीत गिट्टी, बालुवा निकाल्दै आएको बताए।
‘उत्खनन् गर्ने म्याद सकिइसकेको मैल बुझेको छु’, राईले भने, ‘तैपनि ठेकेदारले बलपूर्वक उत्खनन् गर्दै खोलालाई दोहन गरिरहेको छ।’ यता, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार निन्दा खोला राजमार्ग उत्तरतर्फ ११ हजार घनमिटर उठाउन बाँकी छ। ‘उक्त क्षेत्रमा मात्र उत्खनन् गर्न पाइने भनी ठेकेदारलाई पत्र पठाइसकेका छौँ‘, उनले भने, ‘राजमार्ग दक्षिण ज्यामिरगढीको निन्दा खोलाबाट उत्खनन् कार्य गर्न पाइँदैन। ठेकेदारले मापदण्डविपरीत उत्खनन् गरिरहेको जानकारी आएकाले अब तत्काल प्रशासन कार्यालयमा पत्रचार गरी उत्खनन् कार्य रोक्नेछौँ।‘ उनका अनुसार अहिले झापाका अधिकांश नदीमा तोकिएको घनमिटर उत्खनन् भइसकेको छ।
मेची, हडिया, टिमाई खोलामा उत्खनन् गर्न नपाइने भनी ठेकेदार पक्ष र प्रशासन कार्यालयलाई पत्रचार गरिसकेको उनले बताए। त्यसैगरी भद्रपुरस्थित देउनिया खोलामा पनि मापदण्डविपरीत उत्खनन् कार्य भइरहेको छ। जिससले तोकेअनुसार देउनिया खोलाबाट १५ हजार ४१३ घनमिटर उत्खनन् गर्न पाइन्छ तर अहिले पेटी ठेकेदारले तोकिएको स्थानभन्दा फरक ठाउँबाट उत्खनन् गरिरहेका छन् ।
कलबलगुरीको सुकुम्बासी वस्ती, भद्रपुर–बिर्तामोड सडक खण्डमा पर्ने देउनिया पुल उत्तरमा उत्खनन् भइरहेको छ। ठेकेदारले मापदण्डविपरीत तोकिएको स्थानमा तीनदेखि चार मिटर गहिराइ बनाई खोला दोहन गरिरहेको स्थानीयको आरोप छ।
भारतीय प्रधानमन्त्री मोदी २९ घण्टा नेपालमा बस्ने, यस्तो छ उनको कार्य तालिका
नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने
जनकपुरधाम/ प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार आउँदैछन् । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । यस्तो छ भ्रमण तालिका मोदीले यसपटक नेपालमा साढे २९ घन्टा बिताउनेछन् । शुक्रबार बिहान सबा १० बजे जनकपुरबाट सुरु हुने उनको भ्रमण कार्यक्रम शनिबार दिउँसो ३ः५० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेसँगै समाप्त हुनेछ । जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाकु राउतले स्वागत गर्नेछन् ।
विमानस्थलबाट मोदी सीधै जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् । पूजा गरे लगत्तै उनले रामायण सर्किटको उदघाटन गर्नुको साथै जनकपुर बाट अयोध्याका लागि बस सेवाको उदघाटन गर्नेछन । मोदीदे ४५ मिनेट जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । त्यहाँ मोदी संगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूजा गर्नेछन । पूजाको क्रममा १ सय १ जना पण्डितले शंखनाद गर्नेछन । दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि मोदी जनकपुरको बाह्रबिघा मैदानमा जानेछन् । बाह्रबिघा मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । त्यसपछि उनी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा काठमाडौंतर्फ प्रस्थान गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार साढे १ बजे स्वागत गर्ने कार्यक्रम छ ।
त्यसपछि मोदी सीधै बौद्धस्थित होटल ह्यात रिजेन्सी जानेछन् । होटलमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि सबा ४ बजे मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्ने कार्यक्रम छ । सैनिक मञ्चमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।
सैनिक मञ्चबाट मोदी सीधै उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय पुगी शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनी शीतल निवासतर्फ जानेछन् । त्यहाँ मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपतिसँग भेटवार्ता सकिएपछि मोदी बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा जानेछन् । शुक्रबार साँझ ६ः२० बजे होटल द्वारिकाजमा मोदी र ओलीबीच ‘वान टु वान’ वार्ता हुनेछ । त्यसपछि त्यहीं नेपाल–भारत द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । होटल द्वारिकाजमै मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन् । त्यसपछि होटल द्वारिकाजबाटै मोदी र ओलीले संयुक्त रुपमा अरुण तेस्रो विद्युत परियोजनाको शिलान्यास गर्नेछन् । त्यसपछि संयुक्त विज्ञप्ति जारी हुनेछ । प्रधानमन्त्री ओलीले होटल द्वारिकाजमै भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । रात्रिभोजमा सहभागी भई मोदी राति ९ बजे होटल ह्यात जानेछन् । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ६ः२० बजे भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा मुक्तिनाथ प्रस्थान गर्नेछन् । मुक्तिनाथको दर्शन र पूजा गरेपछि उनी जोमसोम हुँदै बिहान १०ः२० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएपछि उनले पशुपतिनाथको दर्शन र पूजा गर्नेछन् । त्यसपछि उनी भारतीय राजदूत मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । त्यहाँबाट उनी राष्ट्रिय सभागृहमा जानेछन् ।जहाँ काठमाडौं महानगरपालिकाले उनको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
सभागृहमा अभिनन्दन लिएपछि भारती प्रधानमन्त्री मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी दिउँसो ३ः५० बजे उनी नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन्। भ्रमणको एजेण्डा परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मोदीको भ्रमणका बेला जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा सम्झौता गर्ने भनिए पनि बिहीबार साँझसम्म ती विषयको टुंगो लागिसकेको छैन । मोदीले नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने सम्भावना रहेको पनि बताइएको छ ।
‘स्थानीय सरकारको कामकाज पूर्वाग्रही ’
दमक/ नेपाली कांग्रेस क्षेत्रीय समितिले दमक नगरपालिकासहित कमल गाँउपालिकाका स्थानीय सरकारको कार्यसम्पादन पूर्वाग्रही भएको आरोप लगाएको छ ।
पार्टीको क्षेत्रीय समितिको बैठकले लोकतन्त्रलाई कमजोर वनाएर स्थानीय सरकारले आफना अधिकारको नाममा सर्वसत्तावाद चरित्र हावी गरेको ठहर गरेको हो । क्षेत्रीय समितिले ती दुवै स्थानीय सरकारको कार्यसम्पादनको समीक्षा गर्दे स्थानीय सरकारलाई जनता प्रति उत्तरदायित्व बन्न आग्रह गरेको छ ।
‘विकास निर्माण र जनताका हकहितका विषयमा स्थानीय सरकारको कामकाज सन्तोषजनक छैन’ क्षेत्रीय समितिले विहिबार निकालेको विज्ञप्तिमा भनिएको छ । जनताका अधिकार कमजोर वनाउन प्रेरित स्थानीय सरकार अविलम्ब सच्चिन समेत कडा कांग्रेसले चेतावनी दिएको छ । दमक नगरपालिकाले हालै जारी गरेको शिक्षा ऐन–२०७४ लगायतका अन्य ऐनहरुले दलका आसेपासेलाई भजाएर लोकतन्त्र माथिनै प्रश्न चिन्ह खडा गरेको जिकीर गरिएको छ ।
पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईद्धारा जारी विज्ञप्तिमा पार्टीले उठाएका जायज मागहरु प्रति स्थानीय सरकारले ध्यानाकर्षण नभए कानुनी उपचारको बाटो तर्फ पार्टी जाने जनाएका छन् ।
दमक गोल्डकपको उपाधिकालागि मनाङ र पुलिस भिड्दै
दमक/ जारी दमक गोल्डकप फुटबलको आज हुने फाईनल खेलको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । विहिबार गरिएको प्रि–म्याच कन्फेरेन्समा बोल्दै दुवै टिमले उत्कृष्ठ खेल प्रर्दशन गरेर जित हासिल गर्ने दावी गरेका हुन् ।
मनाङका कोच पूजा टोपुले फाइनल खेल आफ्नो टिमले जित्नेमा विश्वस्त रहेको बताए । उनले आफ्नो टोली लगातार गोल्डकप खेलिरहेकाले यहाँको उपाधि जित्न गाह्रो नहुने बताए । मनाङका कप्तान विराज महर्जनले दमकको ग्राउण्ड राम्रो लागेको बताए । उनले फाइनल खेलमा आफ्नो टिम जित निकाल्ने गरी प्रस्तुत हुने बताए ।
पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल खेलमा जित्ने र हार्ने दुवै अवस्था रहेपनि आफ्नो टिमले राम्रो खेल्ने बताए । आफ्नो टिममा युवा खेलाडीहरु रहेकाले फाइनल खेलमा आफनो टिमले उत्कृष्ठ प्रर्दशन गर्ने विश्वास लिन्छन् । उनले भने,–‘ विगतका खेलहरुजस्तै हाम्रा खेलाडीले मेहनेतले खेल्छन्,यसको नतिजाले सफलता लिन्छ ।’ पुलिसका कप्तान हेम तामाङले फाइनलमा आफ्नो टिमले राम्रो फिनिसिङ खेल्ने बताए । उनले दमकमा आफ्नो टोलीले राम्रै खेलिरहेपनि फाइनलमा थप मेहेनत गर्ने बताए ।
गोल्डकप उपाधिको लागि आज शुक्रवार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुँदैछ । पुलिस पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र मनाङले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलसम्म आईपुगेको हो ।
प्रतियोगिताका प्रचार सम्योजक चन्द्र खत्री दाहालका अनुसार गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । गत बैशाख १९ गतेदेखि शुरु भएको प्रतियोगितामा एडिभीजनसहित १० टिमको सहभागिता रहेको छ ।
दुर्घटना कम गर्न जीवनचक्र समाज
दमक/ दुर्घटना न्युनिकरणको क्षेत्रमा काम गर्दै आएको दमकस्थित जीवनचक्र समाज नेपालले बुधवार अफ्नो परिकल्पना दिवसको अवसरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
दुर्घटना न्युनिकरणको क्षेत्रमा काम गर्ने मूल उद्देश्य राखेर चार वर्ष अघि स्थापना गरिएको यस संस्थाले कमल गाउँपालिका स्थित केर्खा बजारमा दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको संस्थाका सदस्य चैतन्य बरालले जानकारी दिए ।
सचेतना कार्यक्रममा इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सई बिनोदकुमार खतिवडाले दुर्घटना न्युनिकरणमा सडक तथा ट्राफिक नियमको पालना गर्न सबैमा सुझाव दिए । यस्तै धरपुर स्थित लक्ष्मीनारायण माविका शिक्षक कुमार खतिवडाले खुल्ला चरनमा छोडिने छाडा चौपायाका कारण यो क्षेत्रमा सबैभन्दा धेरै दुर्घटना हुने गरेकोले छाडा चौपाया हटाउन नगरपालिकाले योजना ल्याउन स्थानीयको सुझाव रहेको संस्थाका सदस्य विमल शर्माले जानकारी दिए ।
कार्यक्रममा समाजका प्रवक्ता प्रदिप पौडेलले कार्यक्रमको उदेश्यका विषयमा प्रस्ट पारेका थिए । समाजका अध्यक्ष गणेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय केर्खास्थित मदन आश्रित कलेजका विद्यार्थी तथा शिक्षकको समेत उपस्थिति रहेको कार्यक्रम संयोजक वेनु प्रसाइले जानकारी दिए । समाजका अध्यक्ष गणेश गौतमका अनुसार नेपालमा मात्र हरेक वर्ष १२ हजार भन्दा बढी दुर्घटना हुने गरेका छन् । यस दुर्घटनामा दुई हजार ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा मात्र झापा जिल्लाको तथ्याङक हेर्ने हो भने १ सय ३० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।
संस्थाले तयार पारेको रिपोर्टका आधारमा हरेक वर्ष संसारमा तेह्र लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार संसारमा प्रत्येक वर्ष पाँच करोड भन्दा बढी मानिस सडक दुर्घटनामा घाइते हुने गरेका छन् । हरेक वर्ष दुइलाख तीस हजार भन्दा बढी बटुवाहरूको सडक दुर्घटनामा परि मृत्यु हुने गरेको छ ।
‘अनेक रंग र भेषमा षड्यन्त्र भइरहेको छ’
विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता असफल बनाउने अनेक चालबाजी भइरहेको बताएका छन्। प्रदेशसभाको पहिलो अधिवेशन समापनको अवसरमा बुधबार संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको असफलताका लागि कतिपयले कामना गरिरहेको भए पनि त्यो असफल हुने बताए ।
‘प्रदेश सरकार र प्रदेशसभा असफल बनाएर संघीयता असफल बनाउने कामना भइरहेको छ,’ राईले भने, ‘संघीयता भनेको विकास र समृद्धिको आधार हो विभिन्न षड्यन्त्रलाई चिर्दै हामी संघीयता कार्यान्वयन गरेरै छाड्छौँ।’ प्रदेश सरकार र प्रदेशसभा अल्मलिएको टिप्पणी पनि आफूले सुनेको भन्दै उनले कसैले बनाएको बाटो नहिँडेको र आफैँ बाटो बनाउँदै हिँड्नुपरेको अवस्थामा पनि अन्य प्रदेशको तुलनामा प्रदेश १ ले राम्रो गति लिइरहेको दाबी गरे। प्रदेश १ मा पक्ष र प्रतिपक्षको जस्तो व्यवहार नभएको भन्दै उनले सबैले मिलेर गति दिनुपर्नेमा जोड दिए। ‘सबै दलको उन्नत किसिमको समझदारी र सहकार्यले प्रदेशको समृद्धि गर्न सक्छौँ,’ उनले भने, ‘सरकारले पक्ष र विपक्षको महसुस गर्नेगरी कुनै काम गरेको छैन।’ प्रदेशको मातहतमा कुनै पनि संरचना नरहँदा पनि प्रदेश सरकारले बजेट कार्यान्वयनका विभिन्न बाटो पहिल्याइरहेको बताउँदै उनले प्रत्येक सांसदलाई जनताका बीचमा जानका लागि आवश्यक व्यवस्था गरिएको पनि जानकारी दिए।
श्रीनिवासाचार्यले आफ्नै योजनामा गोली हानेको तर्फ इंगित गर्दै उनले प्रदेशको शान्ति सुरक्षा खल्बल्याउन विभिन्न नाटक र प्रपञ्च भइरहेको भन्दै आक्रोश व्यक्त गरे। ‘अनेक तत्त्वले विभिन्न रंग र भेषमा प्रदेश सरकारलाई असफल बनाउने उद्देश्यले अगाडि आइरहेको छ,’ उनले भने, ‘त्यस्ता खाले घटनाको रहस्य उदाँगो भएको छ।’ मुख्यमन्त्री राईले मूलधारका संचारमाध्यमलाई उचालेर प्रदेश र प्रदेशसभाबीच मनमुटाव ल्याउने गरी राजधानी र नामांकनको विषयमा विवादित समाचार प्रसारण गरिएको आरोप पनि लगाए ।
‘प्रदेशको नाम र राजधानीको विषय छिटो टुंगो लगाउनु पर्ने छ,’ उनले भने, ‘हतार गरेर, भावनामा बगेर वा दबाब र प्रभावको भरमा कुनै पनि निर्णय गर्नु उपर्युक्त छैन, यी विषयको हामी सहमतिबाटै छिनोफाने गर्नेछौँ।’ कुनै पनि महत्त्वपूर्ण निर्णय गर्दा टाउको गनेर वा लाइन लगाएर फैसला गर्ने पक्षमा आफू नभएको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षीलाई पनि साथमै लिएर सहमतिका साथ अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे।
यसैबीच नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम र राजधानीको विषयमा सत्तापक्षकै सांसदबाट विभिन्न लविङ गरेको भन्दै असन्तुष्टि जनाए। उनले राजधानीको विषय र नामको विषयमा सहमतिमा टुंग्याउनु पर्नेमा जोड दिए। यस्तै, बैठकमा बोल्दै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले १ नम्बर प्रदेशको संसदीय गतिविधि ७ वटै प्रदेशभन्दा अगाडि रहेको बताउँदै सरकार र प्रतिपक्ष दुवैले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
दमक टेक्निकल एजुकेशनको वार्षिक उत्सवमा ब्याक्तित्व सम्मान
दमक/ दमक नगरपालिका वडा नम्बर ९ मा रहेको दमक टेक्निकल एजुकेशन फाउण्डेसनले बिभिन्न कार्यक्रम गरी आफ्नो १० औं बार्षिक उत्सव मनाएको छ ।
फाउण्डेसनका अध्यक्ष जगत बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा फाउण्डेसनका सचिव राजेन्द्र भट्टराईले संस्थाले गरेको कामको बारेमा जानकारी गराए । बार्षिक उत्सवको अवसरमा दमकमा शैक्षिक, सांस्कृतिक र राजनीतिक अगुवा तीन जनालाई सम्मान समेत गरिएको छ ।
दमकमा लामो समय अध्यापन पेशामा संलग्न दमकका हेडसर भनेर चिनिएका छविलाल सिटौला, यसक्षेत्रका राजनीतिक अगुवा पूर्णानन्द शर्मा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित लोक गायक एल.पि. जोशीलाई सम्मान गरिएको हो । प्रमुख अतिथि प्रदेशसभा सदस्य राईले सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरि दमक टेक्निकल एजुकेशन फाउण्डेसनको बिभिन्न संकायमा उत्कृष्ठ विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा फाउण्डेसनमा अध्ययनरत बिद्यार्थिहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
दमक ९ को वडा कार्यालय उद्घाटन
दमक/ स्थानीय चुनाव भएको करिव वर्षदिनपछि दमक नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय समुद्घाटन भएको छ । स्थानीय चन्द्रमा चौकमा एक औपचारीक कार्यक्रम गरी सोमवार वडा कार्यालयको उद्घाटन गरिएको हो । नगरपालीकाकी उपप्रमुख गीता अधिकारीले वडा कार्यालयको उद्घाटन गरेकी थिइन् ।
उनले सेवा सुविधा गाउँमा पुगेको बताउदै अव जनतालाई प्रतक्ष सेवा दिन सकेमात्र जनप्रतिनिधिको उत्तरदायीत्व बोध हुने बताइन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नगर उप प्रमुख अधिकारीले वडा कार्यालय स्थापनाले नागरिकहरुल सिंहदरबारको अधिकार गाउँ गाउँमा उपलब्ध भएको महसुस गर्ने भन्दै नगरपालीकाले सबै सेवाहरुलाई वडा स्तरमै उपलब्ध गराउने बताइन् ।
वडाबासीहरुलाई वडाबाटै सेवा सुबिधा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय सञ्चालन गरिएको दमक नगरपालीकाका अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । अहिले वडा कार्यालयबाट न्युनतम सेवाहरु उपलब्ध गराईने जानकारी दिँदै प्रशासकीय अधिकृत तिम्सिनाले केहि दिन भित्रमै कर असुली लगायतका कामहरु पनि वडा कार्यालयबाटै गरिने जानकारी दिए । कार्यक्रम वडाध्यक्ष रमबहादुर धिमालको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रतिनिधि मिना लामिछानेले गरेकी थिइन् ।
धर्मगुरु आफैँले गोली हान्न लगाएको खुलासा
विराटनगर/ गत चैत २५ गते बिहानको राति धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटना आफ्नै योजनामा भएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी श्रीनिवास आचार्यले गोली हान्न सिकाएर गोली हाल्न संलग्न माधव चौधरी, लक्ष्मीराज अधिकारीलाई पक्राउ परेका छन् भने श्रीनिवास आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
आचार्य उपचारपछि काठमाडौं गएका थिए। उनलाई प्रहरीले भारत जाने तयारी गर्दै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आसपासबाट पक्राउ गरेको जनाएको छ । विराटनगर–१४ स्थितमा जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत सप्ताह पुराणको लागि वाचन गर्न श्रीनिवासाचार्य चैत २४ गते उक्त स्थानमा आएका थिए । गोली प्रहार भएको घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित विशेष प्रहरी अनुसन्धान टोली, १ नं. प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान गरी तथ्य सार्वजनिक गरेको हो ।
प्रहरीलाई पक्राउ परेका चितवन भरतपुर महानगरपालिका–४ का २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट–५ बस्ने ३२ वर्षीय लक्ष्मी राज अधिकारीले श्रीनिवासाचार्यले भनेकै आधारमा गोली प्रहार गरेको बयान दिएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । ‘माधव चौधरीले मलाई गुरू श्री निवास आचार्यले गोली हान्न सिकाई धर्म र देशको लागि केहि गर्नुपर्छ भनी निजले नै उक्साई गोलीसहितको पेस्तोल दिई हान्न लगाएको भनी बताएका छन्,
’ एसपी बिसीले भने, ‘श्रीनिवास आचार्यले आफूमाथि गोली प्रहार गर्न नवलपरासी गैंडाकोट ५ का लक्ष्मी राज अधिकारीबाट पेस्तोल मगाएको पाइएको छ ।’ हिन्दू राज्य कायम गर्नको लागि विभिन्न चरणमा भएको आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्म गुरूलाई उक्साउनको लागि गुरू श्री निवास आचार्यले आफ्ना विश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली हान्ने प्रशिक्षणसमेत दिएको प्रहरीको दाबी छ ।
पक्राउ परेका माधब चौधरी र सन्तोष भन्ने लक्ष्मी राज अधिकारीलाई वैशाख २० गतेदेखि लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।