मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन्

0
260

झापा/ जिल्ला समन्वय समिति झापाले निर्धारण गरेको मापदण्डविपरीत ठेकेदारले झापाका नदीबाट नदीजन्य सामग्री (गिट्टी, बालुवा) धमाधम झिक्दै आएका छन्। नियमविपरीत ठेकेदार तथा तिनका पेटी ठेकेदारले नदीजन्य सामग्री उत्खनन् कार्य गरिरहँदासमेत सम्बन्धित निकायले यसतर्फ कुनै चासो देखाएको छैन।

अनुगमन गर्ने आधिकारिक निकायले चासो नदेखाउँदा अहिले झापाका नदी तथा खोला दोहन भइरहेको स्थानीयको आरोप छ। तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)ले आइइई गरेको प्रतिवेदनका अनुसार झापाका ११ वटा खोला तथा नदीको ठेक्का लगाएको थियो।

चालू आर्थिक वर्ष ०७४र०७५ का लागि साम्सुहाङ विल्डर्स कम्पनी गौरादहले १३ करोड १३ लाख रुपैयाँमा ठेक्का लिएको छ। ठेक्का लिएको उक्त कम्पनीले मापदण्डअनुसार खोला उत्खनन् गर्ने जिससमा लिखित सम्झौता गरेको छ। तर अहिले झापाका अधिकांश खोला तथा नदीमा मापदण्ड त परै जाओस्, आफूखुसी स्काभेटर प्रयोग गरेर पाँच मिटर गहिराइसम्म उत्खनन् गरिरहेको फेलापरेको छ।

नियममा एक मिटरभन्दा बढी नपाउने जिससको प्रतिवेदनमा उल्लेख छ। समन्वय समितिले मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीबाट बग्ने निन्दा खोलाका तीन स्थानबाट नदीजन्य सामग्री निकाल्ने स्थान तोकिएको छ। बोकेमात, टावरनाका र खवासवस्तीबाट खोलाजन्य सामग्री निकाल्न सकिन्छ।

तोकिएका तीनै स्थानबाट उत्खनन् गरिने नदीजन्य सामग्री अब निकाल्न पाइँदैन। तोकिएको स्थानमा खोलाजन्य सामग्री घनमिटरअनुसार उत्खनन् भइसकेको कर्मचारी स्रोतको दाबी छ। ती खोलाको ठेक्का राजकुमार थापाले पेटी कन्ट्र्याकमा लिएका छन्। स्थानीय सुवास राईले अहिले ती खोलामा ठेकेदारले स्काभेटर प्रयोग गरेर समन्यव समिति र जिल्ला प्रशासन कार्यालय झापाको आदेशविपरीत गिट्टी, बालुवा निकाल्दै आएको बताए।

‘उत्खनन् गर्ने म्याद सकिइसकेको मैल बुझेको छु’, राईले भने, ‘तैपनि ठेकेदारले बलपूर्वक उत्खनन् गर्दै खोलालाई दोहन गरिरहेको छ।’ यता, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार निन्दा खोला राजमार्ग उत्तरतर्फ ११ हजार घनमिटर उठाउन बाँकी छ। ‘उक्त क्षेत्रमा मात्र उत्खनन् गर्न पाइने भनी ठेकेदारलाई पत्र पठाइसकेका छौँ‘, उनले भने, ‘राजमार्ग दक्षिण ज्यामिरगढीको निन्दा खोलाबाट उत्खनन् कार्य गर्न पाइँदैन। ठेकेदारले मापदण्डविपरीत उत्खनन् गरिरहेको जानकारी आएकाले अब तत्काल प्रशासन कार्यालयमा पत्रचार गरी उत्खनन् कार्य रोक्नेछौँ।‘ उनका अनुसार अहिले झापाका अधिकांश नदीमा तोकिएको घनमिटर उत्खनन् भइसकेको छ।

मेची, हडिया, टिमाई खोलामा उत्खनन् गर्न नपाइने भनी ठेकेदार पक्ष र प्रशासन कार्यालयलाई पत्रचार गरिसकेको उनले बताए। त्यसैगरी भद्रपुरस्थित देउनिया खोलामा पनि मापदण्डविपरीत उत्खनन् कार्य भइरहेको छ। जिससले तोकेअनुसार देउनिया खोलाबाट १५ हजार ४१३ घनमिटर उत्खनन् गर्न पाइन्छ तर अहिले पेटी ठेकेदारले तोकिएको स्थानभन्दा फरक ठाउँबाट उत्खनन् गरिरहेका छन् ।

कलबलगुरीको सुकुम्बासी वस्ती, भद्रपुर–बिर्तामोड सडक खण्डमा पर्ने देउनिया पुल उत्तरमा उत्खनन् भइरहेको छ। ठेकेदारले मापदण्डविपरीत तोकिएको स्थानमा तीनदेखि चार मिटर गहिराइ बनाई खोला दोहन गरिरहेको स्थानीयको आरोप छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here