भारतीय प्रधानमन्त्री मोदी २९ घण्टा नेपालमा बस्ने, यस्तो छ उनको कार्य तालिका

0
250

    नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने

 

जनकपुरधाम/ प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार आउँदैछन् । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । यस्तो छ भ्रमण तालिका मोदीले यसपटक नेपालमा साढे २९ घन्टा बिताउनेछन् । शुक्रबार बिहान सबा १० बजे जनकपुरबाट सुरु हुने उनको भ्रमण कार्यक्रम शनिबार दिउँसो ३ः५० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेसँगै समाप्त हुनेछ । जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाकु राउतले स्वागत गर्नेछन् ।

विमानस्थलबाट मोदी सीधै जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् । पूजा गरे लगत्तै उनले रामायण सर्किटको उदघाटन गर्नुको साथै जनकपुर बाट अयोध्याका लागि बस सेवाको उदघाटन गर्नेछन । मोदीदे ४५ मिनेट जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । त्यहाँ मोदी संगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूजा गर्नेछन । पूजाको क्रममा १ सय १ जना पण्डितले शंखनाद गर्नेछन । दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि मोदी जनकपुरको बाह्रबिघा मैदानमा जानेछन् । बाह्रबिघा मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । त्यसपछि उनी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा काठमाडौंतर्फ प्रस्थान गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार साढे १ बजे स्वागत गर्ने कार्यक्रम छ ।

त्यसपछि मोदी सीधै बौद्धस्थित होटल ह्यात रिजेन्सी जानेछन् । होटलमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि सबा ४ बजे मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्ने कार्यक्रम छ । सैनिक मञ्चमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।

सैनिक मञ्चबाट मोदी सीधै उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय पुगी शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनी शीतल निवासतर्फ जानेछन् । त्यहाँ मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपतिसँग भेटवार्ता सकिएपछि मोदी बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा जानेछन् । शुक्रबार साँझ ६ः२० बजे होटल द्वारिकाजमा मोदी र ओलीबीच ‘वान टु वान’ वार्ता हुनेछ । त्यसपछि त्यहीं नेपाल–भारत द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । होटल द्वारिकाजमै मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन् । त्यसपछि होटल द्वारिकाजबाटै मोदी र ओलीले संयुक्त रुपमा अरुण तेस्रो विद्युत परियोजनाको शिलान्यास गर्नेछन् । त्यसपछि संयुक्त विज्ञप्ति जारी हुनेछ । प्रधानमन्त्री ओलीले होटल द्वारिकाजमै भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । रात्रिभोजमा सहभागी भई मोदी राति ९ बजे होटल ह्यात जानेछन् । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ६ः२० बजे भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा मुक्तिनाथ प्रस्थान गर्नेछन् । मुक्तिनाथको दर्शन र पूजा गरेपछि उनी जोमसोम हुँदै बिहान १०ः२० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएपछि उनले पशुपतिनाथको दर्शन र पूजा गर्नेछन् । त्यसपछि उनी भारतीय राजदूत मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । त्यहाँबाट उनी राष्ट्रिय सभागृहमा जानेछन् ।जहाँ काठमाडौं महानगरपालिकाले उनको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

सभागृहमा अभिनन्दन लिएपछि भारती प्रधानमन्त्री मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी दिउँसो ३ः५० बजे उनी नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन्। भ्रमणको एजेण्डा परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मोदीको भ्रमणका बेला जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा सम्झौता गर्ने भनिए पनि बिहीबार साँझसम्म ती विषयको टुंगो लागिसकेको छैन । मोदीले नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने सम्भावना रहेको पनि बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here