झापा/ कनकाई नगरपालिका नेपालकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन् ।
घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने र केही महिनादेखि विद्युत प्राधिकरणले जनतालाई बढी विद्युत खपत गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने दाबी गरे ।
केही महिनापछि नै पूर्वको कावेली करिडोरको १०० मेघावाट बिजुली उत्पादन भएर आउने तयारीमा रहेको बताउँदै घिसिङले उक्त बिजुली पूर्वाञ्चल क्षेत्रमै खपत हुने भएकाले विजुलीको उत्पादन प्रशारण लाइनमा जोड्नसाथ पूर्व क्षेत्रलाई हालको मागअनुसार सम्पुर्ण रुपमा विजुली पुग्ने बताए ।
अवको डेढ वर्षभित्र नेपाल विद्युत प्राधिकरणले सम्पुर्ण विद्युत आयात गर्न छाडेर आफैँ आत्मनिर्भर हुनेगरी प्राधिकरण र सरकार मिलेर काम गरिरहेको समेत जानकारी दिए ।
कन्काई नगरपालिका विद्युत चुहावटमुक्त घोषणा
कुलतमा फसेका बालकहरुको उद्धार
दमक/ नगरपालिका, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा
लागुऔषध प्रयोगकर्ता बालबालिकाहरुको उद्धार भइरहेको छ । दमक चोकबाट ३ जना बालकहरुको उद्धार गरेको दुइसातापछि थप दूइ जनाको पनि उद्धार भएको छ ।
३ जनालाइ दमकको हेप्पी नेपालमा राखिएको छ भने शनिवार उद्धार गरिएका २ जनालाइ हेप्पी नेपाल समेतको सहयोगमा बिर्तामोड स्थित पुनर्जन्म समुह नेपालमा पठाइएको लायन्स क्लव अफ दमकका अध्यक्ष रुद्र गौतमले जानकारी दिए ।
लागुऔषधमा फसेका बालकहरुको कुरा सुन्दा आँखा रसाउने गरेको भन्दै अधिकारीले कुनै पनि हालतमा सडकका बालबालिकाहरुलाइ २ देखि ३ महिनाभित्रमा उद्धार गरिने उनको प्रतिबद्धता रहेको छ ।
लायन्स क्लव अध्यक्ष गौतमले आफूहरुको सानो प्रयास र पहलकदमी सार्थक बन्दै गएको जनाउदै ३ जनाको उद्धारपछि २ जना आफै आएर सुधारका लागि सहयोग गरिदिन आफूहरुलाइ भनेको जनाए ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले सडकमा १८ जना बालकहरु यस्तो अवस्थामा रहेको आफूहरुसंग रेकर्ड रहेको र ३ जनाको उद्धारपछि अरु पनि सुध्रन इच्छुक भएको बताएका छन् ।
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना
मोरङ/ मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतवार बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन ः प्रधानमन्त्री ओली
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।’ देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘हामी शान्ति चाहन्छु, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन ।
प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।’ लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।
संविधानबमोजिम आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उनले भने, ‘म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।’ आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको भन्दै उनले प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने बताए ।
प्रधानमन्त्री ओलीले प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेश गरे । शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गरे ।
नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने बताए ।
प्रधानमन्त्रीले भने ‘म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धता तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।’ बहुभाषिक, बहुजातीय, विभिन्न आस्था विश्वास, समान्तवादले गरेको विभेदको अन्त्य गर्ने, विभेदरहित समाज स्थापना गर्ने, सामाजिक न्याय र समानता संविधानमा व्यवस्था गरेको भन्दै प्रधानमन्त्रीले विविधतायुक्त हाम्रो समाजलाई अगाडि बढाउने, सामाजिक एकतासहितको आर्थिक समृद्धिको मार्ग पहिल्याउने यात्रामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
जनताले भनेअनुसार चल्ने राजनीतिक प्रणाली स्थापित भइसकेकाले अब कोही कसैले पनि क्रान्ति भनेर समाजलाई दुःख दिन नपाइने पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।
खोला बग्छ एकातिर, पुल बन्यो अर्कोतिर
झापा/ मोरङको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्जतर्फ जानेहरू गौरीगञ्ज नजिकै रतुवा खोलमाथि बनेको पुल देखेर छक्क पर्छन् । जमिनको सतहभन्दा पुल निकै अग्लो स्थानमा छ । पुलबाट खोला तर्नेभन्दा पनि हेर्र्दै मुन्तिरबाट बाटोबाट काट्नुपर्ने बाध्यता छ ।
पुलतर्फ उक्लिने सम्भावना नभएकोले खोलाको बलौटे धारबाट मोटरसाइकल र साइकल र्डोयाउँदै झापातर्फ लाग्छन् । यो पुलभन्दा निकै पूर्वबाट रतुवा खोला बग्छ । पुल एकातिर खोलो अर्काेतिर बगेको देख्दा बटुवाहरू नै छक्क पर्छन् ।
साविक महाभारा हाल गौरीगञ्ज नगरपालिकाका प्रमोद भट्टराईले भने, ‘खोलै नबग्ने ठाउँमा पुल बनाएको देखेर हामी पनि छक्क परेका छौ ं।’ उनले पुल तलबाट यात्रा गर्नुपर्दा बटुवालाई निकै सास्ती हुने गरेको बताए ।
हुलाकी मार्गमा मोरङको रतुवा खोलाको पुल निर्माण भएपछि स्थानीयले सहज रूपमा गौरीगञ्जबाट विराटनगरसम्म आवतजावत गर्न पाइने आशा गरेका थिए । विराटनगर–भद्रपुर हुलाकी सडकखण्डमा पर्ने यो पुल पूरा भए दक्षिणी भेगबाट सोझै झप्परतल, रंगेली हुँदै विराटनगर झर्न निकै सहज हुने उनीहरूको अपेक्षा थियो ।
‘पुल त बन्यो तर हिउँदका ६ महिना खोलाकै बलौटे धार भई पार गर्नुपर्छ’, गौरीगञ्जका देवनारायण राजवंशीले भने, ‘बर्खा सुरु भएपछि त रतुवाको भेल तर्न ज्यानै बाजी लगाउनुपर्छ । हामीलाई पुल बन्नु र नबन्नुको केही अर्थ भएन ।’ रतुवामा पुल निर्माण भए पनि अहिले खोलाले धार परिवर्तन गरेको छ । पुल एकातिर खोलो अर्काेतिर बग्न थालेपछि साविककै स्थानमा खोलो फर्काउन थप रकम खर्च हुने भएको छ ।
आमबाडीबाट साविक खजुरगाछी गाविस हाल गौरीगञ्ज नगरपालिकाका हुँदै दक्षिणतर्फबाट कुञ्जीबाजार हुँदै माइखोला तरेर शरणामती हुँदै भद्रपुर जान सकिन्छ । तर, दक्षिणी भेगका धेरै पुल निर्माण पूरा नहुँदा गौरीगञ्ज–विराटनगरको यात्रासमेत सहज हुन सकेको छैन । शरणामतीमा कन्काई नदीमाथिको पुल पनि अलपत्र छ ।
सुनसरी–मोरङ पुल निर्माण आयोजनाका प्रमुख इन्जिनियर कैलाश साह रतुवा खोलामा नयाँ बनाउने भनिएको पुलचाहिँ नयाँ ठेक्काको डिजाइन नसकिएकोले रोकिएको बताउँछन् । ‘पुरानो पुल त बनिसक्यो, नयाँ पुलको ठेक्काको डिजाइन स्विकृतिको प्रक्रियामा छ,’ उनले भने, ‘तर डिजाइन स्वीकृत भयो भने पनि बजेट छैन ।’ रतुवाको पुल तत्कालै पूरा हुने सम्भावना निकै कम भएको साहले बताए ।
सुनसरी–मोरंगमा निर्माणाधीन ३४ पुलमध्ये बजेट अभावमा झण्डै एक दर्जन पुलको काम रोकिएको छ । यो वर्ष निकासा हुने बजेट नपाएपछि काम रोकिएको इन्जिनियर साहले बताएका छन्। उनका अनुसार काम गरिरहेका ठेकेदारहरूले समेत पैसा पाएका छैनन्। ‘केही पुल निर्माणाधीन छन्, केही ठेक्का प्रक्रियामा गइसकेका छन्,’ उनले भने, ‘ठेक्का लागेका पुलको त कुरै छाडौं, निर्माणाधीन पुलसमेत बजेट अभावमा रोकिएका छन् ।’
उनका अनुसार सुनसरीको गरुण खोला, बूढीखोला, मोरङको थलाहा खोला, टेंग्रा खोला लगायतका काम बजेट अभावमा रोकिएको छ । बजेट आएसँगै काम सुरु हुने साह बताउँछन् । कुल १ सय २५ मिटरको उक्त पुलसहित बजेट अभावमा काम अड्किएका पुलहरूको औसत लागत ४ करोड छ। अढाइ करोडदेखि माथिका पुलहरू छन् ।
सुनसरी र मोरङमा निर्माणाधीन पुलहरूलाई बजेट अभाव भए पनि हुलाकी राजमार्ग योजना कार्यालयअन्तर्गतका पुलहरूलाई भने तत्काल बजेट अभाव छैन । दुई सातापछि पनि बजेट नआए बजेट अभाव हुने कार्यालयका प्रमुख शैलेन्द्र त्रिपाठीले दाबी गरे । भने, ‘प्राथमिकतमा रहेका पुलको काम नरोक्न हामीले पनि पहलकदमी लिएका छौं ।’
यो कार्यालयले अहिले झापा र सप्तरीका सबै पुल र सडकको निर्माण हेरिरहेको छ । यी दुई जिल्लामा पनि ३४ वटाको हाराहारीमा पुल बनिरहेका छन् । कुनै ठेक्का प्रक्रियामा छन् भने कुनै पुलको निर्माण भइरहेको छ । ‘अहिलेसम्म त बजेटकै समस्या छैन, दुई सातासम्म पुग्छ,’ त्रिपाठीले भने, ‘माग गरेर पनि पठाएका छौं, आएन भनेचाहिँ समस्या हुन्छ ।’ उनका अनुसार हुलाकी मार्गअन्तर्गत पुल निर्माण गर्न झापा र सप्तरीमा चाहिँ वन, विद्युत र सडकलगायत समस्या छन् ।
प्रहरीको चर्पीले टोलवासी दुर्गन्धित
दमक/ शौचालयको पाइप फूटेपछि दमकको इलाका प्रहरी कार्यालय दमकका आसपासका बासिन्दाहरुले दुर्गन्धको सास्ती खेप्दैआएका छन् ।
कार्यालयको दक्षिण क्षेत्रका आधा दर्जन घरका बासिन्दाहरु दुर्गन्धित चर्पीका कारण हैरान हुदै आएको स्थानीयहरुले गुनासो गरेका छन् ।
प्रहरीको भवनसँग जोडिएको चर्पीको पाइप चुहिँदा समेत त्यसलाई मर्मत सम्भार नगर्दा चर्पीको दुर्गन्ध सहनुपरेको स्थानीय राधिका सापकोटाले बताइन् । उनले प्रहरीका अधिकारीलाई त्यसवारे जानकारी गराएपनि सुनुवाई नभएको गुनासो गरिन् ।
प्रहरी कार्यालय बनिने क्रममा निर्माण गरिएका चर्पीका पाइप जीर्ण भएपनि त्यसलाई मर्मत नगर्दा भवन पछाडिका बस्तीमा चर्पीको दुर्गन्ध हुदै आएको अर्का स्थानीय शर्मिला श्रेष्ठले बताइन् । उनले पाइपबाट चर्पि नै बाहिर जादाँ टोलनै दुर्गन्धित भएको बताइन् ।
हावा चल्दा साँझविहान त्यस टोलमा चर्पीको दुर्गन्ध फैलिने गरेको स्थानीयहरुको भनाई छ । यसअघि प्रदेश सरकारको टोलीले चर्पी अनुगमन गर्दा इलाका प्रहरी कार्यालयको चर्पी दमकका कार्यालय मध्ये सबैभन्दा खराव भएको र भरिएर बाहिर गएको भन्ने रिपोटका आधारमा समाचार समेत आइसकेको थियो ।
दमक अस्पतालमा पोष्टमार्टम शुरु
दमक/ झापाको दमकस्थित दमक अस्पतालले पहिलोपटक एक जना पुरुषको पोष्टमार्टम गरेको छ । सडक दुर्घटनाबाट ज्यान गुमाएका झापा, दमक–९ का ३२ बर्षीय कमल कुमार मगरको शव पोष्टमार्टम गरिएको अस्पतालले जनाएको छ । कुमालको हिजो शुक्रवार दिउँसो झापाको चारपाने–विर्तामोड सडक खण्डमा गाडीको ठक्करबाट ज्यान गएको थियो ।
अस्पतालका अध्यक्ष जिवन शिवाकोटीका अनुसार गत फागुन ६ गते देखि अस्पतालले औपचारिक रुपमा पोष्टमार्टम शुरु गर्ने व्यवस्था गरेपनि शनिवार भने पहिलोपटक पटक ती युवाको शव परिक्षण गरिएको हो । त्यसअघि त्यस अस्पतालमा कुनै पनि पोष्टमार्टम गर्ने घटना आएको थिएन् ।
जिल्लामा मेची अञ्चल अस्पतालपछि दमकको सो सरकारी अस्पतालले पोष्टमार्टम सञ्चालन गर्ने अनुमति पाएको थियो ।
४ जना एमविविएस डाक्टर सहित २२ जना कर्मचारी रहेका जिल्ला स्तरको सो अस्पतालमा आगामी चैतबाट आकस्मिक सेवासहित १५ शैयाको अन्तरङ्ग सेवा पनि सञ्चालन गर्ने तयारी समेत भैरहेको अध्यक्ष शिवाकोटीले बताए ।
मृत अवस्थामा फेला
उर्लाबारी/ मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी – बरडंगा सडक खण्डको किनारमा बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
उर्लाबारी नगरपालिका– ९ घर भएका ५८ वर्षीय चन्द्रबहादुर दर्जी मृत अवस्थामा भेटिएका हुन् ।
दर्जीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक रामकाजी कट्वालले जानकारी दिए ।
विभागीय टोली आर्मी झापा गोल्डकपको फाइनलमा
झापा/ झापामा जारी तेस्रो झापा गोल्डकपको फाइनलमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक झापा ११ बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेसँगै झापासँगको भेट पक्का भएको हो ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले खेलको सुरुवातमा नै गरेको गोल निर्णायक बन्यो। नवयुग श्रेष्ठले खेलको पहिलो मिनेटमा नै गरेको एकमात्र गोलको मद्दतले आर्मी उपाधि नजिक पुग्न सफल भएको हो ।
जारी सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्मीलाई मनाङले दोस्रो हाफमा केही दबाबमा राखे पनि गोल गर्न नसक्दा मनाङको अघिल्लो यात्रा समाप्त भयो। खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे। अब आर्मीले आगामी सोमबार आयोजक झापा ११ सँग फाइनल खेल खेल्नेछ ।
चट्याङ लागेर एकको मृत्यु
संखुवासभा/ संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–१ मा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । चैनपुर नगरपालिका– १ को सुकेबजारका २६ वर्षे छिरिङ दोर्जे शेर्पाको शुक्रबार राति सुतिरहेका बेला चट्याङ लागेर मृत्यु भएको हो ।
घरमा सुतिरहेका शेर्पा चट्याङको झट्का लागेर बेहोस भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा शनिबार बिहान बाटोमै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।