समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन ः प्रधानमन्त्री ओली

0
229

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।’ देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘हामी शान्ति चाहन्छु, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन ।
प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।’ लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।
संविधानबमोजिम आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उनले भने, ‘म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।’ आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको भन्दै उनले प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने बताए ।
प्रधानमन्त्री ओलीले प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेश गरे । शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गरे ।
नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने बताए ।
प्रधानमन्त्रीले भने ‘म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धता तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।’ बहुभाषिक, बहुजातीय, विभिन्न आस्था विश्वास, समान्तवादले गरेको विभेदको अन्त्य गर्ने, विभेदरहित समाज स्थापना गर्ने, सामाजिक न्याय र समानता संविधानमा व्यवस्था गरेको भन्दै प्रधानमन्त्रीले विविधतायुक्त हाम्रो समाजलाई अगाडि बढाउने, सामाजिक एकतासहितको आर्थिक समृद्धिको मार्ग पहिल्याउने यात्रामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
जनताले भनेअनुसार चल्ने राजनीतिक प्रणाली स्थापित भइसकेकाले अब कोही कसैले पनि क्रान्ति भनेर समाजलाई दुःख दिन नपाइने पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here