Monday, November 25, 2024
Home Blog Page 314

विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ

झापा/ झापा प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर नगरपालिका– ५ स्थित ग्रिन भिजेल अंग्रेजी विद्यालयमा कार्यरत शिक्षक दीपेश निरौलालाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार नियन्त्रणमा लिएका शिक्षक निरौलाले कक्षा १ मा अध्ययनरत छात्र दिप्सन राउतलाई कुटपिट गरेको आरोप लागेको छ । शिक्षकले बुधबार विद्यालयमै राउतलाई शरीरमा गहिरो नीलडाम हुने गरी कुटपिट गरेर घाइते बनाएको भन्दै राउत परिवारले प्रहरीमा उजुरी गरेपछि शिक्षक निरौलालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
अबोध बालकलाई कुटपिट गरेर घाइते बनाउने शिक्षकलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा उजुरी दिएको उनका हजुरबुबा बिर्खबहादुर राउतले बताए । विद्यालयमा विना कारण विद्यार्थीलाई शरीरमा गहिरो चोट हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयको तर्फबाट पनि माफी नपाउने विद्यालयका प्रिन्सिपल हरि बुढाथोकीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

१२ वर्षीया बालिका बलात्कारबाट गर्भवती

दमक/ एउटै घरमा डेरा गरि बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

 किशोरीमाथि बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ

आठराई, तेह्रथुम, चैत ९ गते / तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे ।

आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्याइदिने आश्वसन दिएर मंगलबार साँझ बलात्कार गरेको भन्दै पीडितका परिवारले संक्रान्तिबजार इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका प्रमुख डम्बर पुरीले बताए ।

ट्यांकर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

ताप्लेजुङको एक होटलमा आगलागी

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याड स्थित होटल इको भ्यूमा शुक्रबार बिहान आगलागी भएको छ ।

होटल, लज र रेष्टुरेण्ट संचालनमा रहेको तीन तले घरको माथिल्लो तलामा बिहान ६ वजे आगलागी भएको थियो । बिद्युत सर्ट भएर आगलागी भएको होटलका सञ्चालक खगेन्द्र पालुङवाले बताए । आगलागी हुनासाथ लजमा रहेका अतिथिलाई बाहिर निकालेकाले मानवीय क्षति जोगिएको छ ।

दमकल, सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट भएको क्षतको एकिन भईसकेको छैन । फुङलिङमा प्रत्येक वर्षजसो आगलागी हुँदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बहुप्रतिक्षित मेची पुल बन्यो, बाटो छैन

भद्रपुर/ साढे छ दशकदेखि निरन्तरको प्रयासबाट नेपाल–भारत जोड्ने बहुप्रतिक्षित मेची खोलामा पुल बनेको छ । कैयौं पटकको शिलान्यास र विभिन्न कालखण्डको राजनीतिक खिचातानी खेपेको मेची पुलले बल्ल सार्थकता पाएको छ ।
हुलाकी राजमार्ग निर्माण परियोजनाले पुल निर्माण गरेको हो । ५६० मिटर लम्बाइ तथा ९.८ मिटर चौडाइको पुलको निर्माण कार्य सम्पन्न भएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीबाट खटिएका इन्जिनियर उपेन्द्र दासले पुल निर्माण सम्पन्न भएको बताए । उनका अनुसार अब पुलमा ७० मिटर रेलिङ, सरसफाइ र रंगरोगन गर्न मात्र बाँकी छ । पुल निर्माणसँगै नेपाल–भारत जोड्ने पुरानो नाका भद्रपुर–गलगलिया पुनः ब्युतिनेमा स्थानीयवासी आशावादी छन् ।

हुलाकी राजमार्ग परियोजनाको ३३ करोड लागतमा पुल निर्माण सम्पन्न भएको इन्जिनियर दासले बताए । परियोजनाले ०६६ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको ठेक्का काठमाडौंको अनक–सूर्य जेभीले पाएको हो । ठेक्का सम्झौता भएको एक महिनापछि माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले पुलको पुनः शिलान्यास गरेका थिए । शिलान्यास गर्दै गच्छदारले निर्धारित मिति तीन वर्षमा पुल निर्माण हुने दाबी गरेका थिए । उनले निर्धारित मितिमा पुल निर्माण नभए आफूले राजनीतिबाट संन्यास लिने घोषणा समेत गरेका थिए । तर, शिलान्यास भएको नौ वर्षमा पुल निर्माण भएको छ ।

‘५० वर्षअघि नै बन्नुपर्ने मेची पुल ढिलै भए पनि निर्माण भएको छ । यो मेरा लागि निकै खुसीको कुरा हो,’ मेची पुल निर्माण गर्नुपर्ने भनी जुटेकामध्येका एक अभियान्ता चिन्तामणि दाहालले खुसी व्यक्त गरे । उनले भने, ‘यो पुलले पुरानो भद्रपुरलाई अब फेरि नयाँ सहरका रूपमा विकास गराउने छ । काँकडभिट्टा नाकाको विकल्पका रूपमा समेत यसले स्थान पाउने छ ।’

‘बाल्यकलदेखि मेची खोलामा पुल बन्ने भनेर सुन्दै आएको थिएँ,’ भद्रपुर नगरपालिका ६ का भरत चौधरीले भने, ‘ढिलै भए पनि पुल निर्माण भएको देख्दा सारै खुसी लागेको छ,’ उनले दशकौंपछि पुल बनेकाले अब सरकारले चाँडै बाटो बनाएर पुल सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडा ९ की मीना भण्डारी घिमिरेले वर्षाैंदेखि खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । उनले भनिन्, ‘यहाँ बन्नुपर्ने पुल काँकडभिट्टामा बन्दा जिल्लाकै पुरानो बजार भएर पनि भद्रपुरको विकास भएन । बल्ल पुल बन्यो, अब चाहिँ भद्रपुरको विकास हुन्छ कि भन्ने आशा जागेको छ ।’

पुल बन्यो, बाटो छैन
खोलामा पुल निर्माणको काम सम्पन्न भए पनि पुलसम्म पुग्ने बाटो निर्माणको काम भने अन्योलपूर्ण अवस्थामा छ । हुलाकी परियोजनाले पुलदेखि २ सय ९० मिटर नेपालतर्फ र एक सय ५० मिटर भारततर्फ बाटो निर्माण गर्नुपर्ने छ । तर, नेपालतर्फ पुल छेउबाटै बस्ती रहेकाले उक्त बस्ती नउठाएसम्म बाटो निर्माण गर्न सक्ने अवस्था छैन ।

इन्जिनियर दासका अनुसार बाटो निर्माण हुने २ सय ९० मिटर क्षेत्रमा २४ घरपरिवारको बसोबास छ । उनीहरूलाई जग्गा बापतको साढे ७ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको दासले बताए । अब, घर भत्काउने मुआब्जा वितरण गर्न बाँकी छ । २४ वटा घरका लागि २ करोड ४५ लाख रुपैयाँ आवश्यक रहेको उनले बताए । उक्त रकमका लागि ६ महिनाअघि नै प्रस्ताव पेस गरे पनि अर्थ मन्त्रालयबाट रकम निकासा नभएको उनले बताए ।

भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले पुल निर्माण पूर्ण रूपमा सम्पन्न नभएको बताए । उनले खोलामाथि पुल बने पनि पुलसम्म पुग्ने बाटो बनिनसकेकाले पुल बन्यो भन्न नसकिने बताए । उनले भने, ‘नेपाल र भारत दुवैतिरबाट पुलसम्मको बाटो बनाउनुपर्छ, अनि मात्र पुल निर्माण सम्पन्न भयो भन्न सकिन्छ ।’ उनले बाटो निर्माणका लागि सरकारले चासो लिनुपर्ने माग गरे ।

खोलामाथि पुल निर्माण भइसकेकोले चाँडै पुल सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले चैत २ गते प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको उनले बताए । ‘नेपाल र भारत दुवैतर्फ आवश्यक बाटो निर्माण चाँडै गरियोस् । पुल मात्रै बनाएर हुँदैन । त्यहाँबाट नाका सञ्चालन गर्ने हो भने त्यसका लागि आवश्यक सबै कार्यालय र प्रक्रियाहरू पूरा गरियोस् भनेर हामीले भर्खरै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छौं,’ मेयर श्रेष्ठले भने ।

यस्तो छ इतिहास
मुलुककै पुरानो बजारमध्येको एक हो, भद्रपुर । सरकारले पहिलोपटक ००८ सालमा देशभरका १४ वटा सहरलाई नगरपालिका घोषणा गर्दा भद्रपुर पनि परेको थियो । त्यस बेला भद्रपुर पूर्वका लागि विराटनगरपछिको दोस्रो ठूलो बजार थियो । नगरपालिका घोषणा भएको दोस्रो वर्ष मेची खोलामा पुल निर्माणका लागि ००९ सालमै समिति गठन भएको थियो ।

उक्त समितिको पहलमा पहिलोपटक ०२६ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले मेची पुलको शिलान्यास गरेका थिए । शिलान्यासपछि उत्साही बनेका समिति पदाधिकारी र स्थानीयले पुल निर्माणका लागि भन्दै ३३ लाख रुपैयाँ संकलन गरेका थिए । ०२८ सालमै तत्कालीन युवराजाधिराज वीरेन्द्र शाहको मेची अञ्चल अवलोकन भ्रमणका क्रममा उक्त रकममध्ये २३ लाख रुपैयाँ बुझाइएको थियो । पुल निर्माणका लागि भन्दै संकलन गरिएको रकम युवराजाधिराजलाई बुझाएपछि विवाद सिर्जना भएको थियो ।

०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुनः पुलको शिलान्यास गरेका थिए । तत्कालीन भद्रपुर नगरपालिकाका प्रधानपञ्च ओम सरावगीका अनुसार त्यस बेला पुल निर्माणका लागि ८ करोडको लागत स्टिमेट तयार गरिएको थियो । ३ करोड नगरपालिकाले नेपाल राष्ट्र बैंकबाट ऋण लिने, दुई करोड सरकारले उपलब्ध गराउने र ३ करोड नगरपालिकाले आन्तरिक स्रोतबाट जुटाउने तयारी थियो । तर, लगत्तै चन्द प्रधानमन्त्रीबाट पदच्युत भएपछि पुुल निर्माणको प्रक्रिया फेरि लम्बिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रमिता भण्डारी

0
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

माउण्ट एभरेष्टको माध्यमबाट समाजसेवा गरिरहेको छुः रुद्रप्रसाद गौतम

२०२८ साल चैत्र १८ गते भारतको आसाम कार्वाहाङलोङ धनश्रीमा जन्म भई ०५४ साल फागुनमा १८ दिनकी छोरी काखी च्यापेर श्रीमतिसहित नेपाल प्रवेश गरेका रुद्रप्रसाद गौतमले पछिल्लो समय समाजसेवालाई प्राथमिकता दिँदै आएका छन् । १२ वर्ष अघि लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टमा प्रवेश गरेर सदस्यदेखि कोषाध्यक्ष, सचिव, तेस्रो उपाध्यक्ष, दोस्रो उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । प्रश्तुत छ, प्रदेश आवाज डट कमको लागि लायन्सले समाजमा गरेका कामको विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

लायन्सबाट छोटो समयमा चर्चामा आउनु भयो नि ?

म सामान्य परिवारमा जन्मेको मान्छे, ब्यवसायमा हात हालेपछि आय आर्जन हुँदै गयो, हातमा पैसा नहुँदा रेडियो, पत्रिका, टेलिभिजनमा आएका असहायका समाचार पढेपनि टुलुटुलु हेर्नु भन्दा शिवाय केहि गर्न सकिएन । अहिले समाजमा केहि गर्न सकिएला भन्ने आत्मबल बढेको छ । त्यही आत्मबलले लायन्सको माध्यमबाट समाजिक काममा हात हाल्न कोशिस गरेको छु, चर्चा भन्नेकुरा सेवाको प्रतिफल रहेछ ।

लायन्स कल्वको उदेश्य के हो ?

यो सामाजिक संस्था हो, सामाजिक संस्थाको उदेश्य समाजको सेवा गर्नु नै हो । हामी जहाँ विपत, आगलागि, बाढी पहिरो पीडित, अपाङ्गता भएका, असहायलाई सेवा गर्दै अघि बढ्नु हाम्रो संस्थाको लक्ष हो । हामी जहाँ अभाव त्यहाँ लायन्स भन्ने नाराका साथ समाज सेवा गरिरहेका छौ ।

समाजसेवा बाहेक तपाईको पेशा के हो ?

म २०२८ साल चैत्र १८ गते भारतको आसाम कार्वाहाङलोङ धनश्रीमा जन्मेको हुँ ०५४ साल फागुनमा १८ दिनकी छोरी कञ्चन काखी च्यापेर र श्रीमति कमलासहित नेपाल प्रवेश गरेको थिए । नेपालको दमक आएर मालपोत अगाडी पान पसल गरेर ३ वर्ष विताएँ । त्यसपछि किराना पसल खोलेको थिएँ । विचमा जग्गाको कारोबारपनि गरेँ, अहिले उनै छोरीका नाममा खोलेको कञ्चन सप्लायर्स एण्ड टे«डर्स सञ्चालनमा छ ।

अहिले हामी चार जनाको परिवार हो । ब्यवसायबाटै परिवार खर्च धानेको छ । छोरी कञ्चन काठमाण्डौको नेशनल कलेजमा सोसियल वर्कमा ब्याचलर दोस्रोवर्षमा अध्ययनरत छन् । छोरा करिव बानेश्वरको चेल्सी स्कूलमा ८ मा अध्यायनरत छन् । दमक नपा वडा नं ५ धनेश्वर टोलमा घर बनाएको छु, मेरो पछिल्लो समय ब्यवासाय भन्दापनि समाजसेवा नै प्राथमिकतामा परिसकेको छ ।

लायन्सबाट सामाजिक सेवा गर्न सकिन्छ भन्ने प्रेरणा कसरी मिल्यो ?

केही न केहि सामाजिक संस्थामा रहेर समाजको सेवा गर्नु पर्यो भन्ने सोच बनाएर खोजी गर्दा लायन्सको सदस्य भएर काम गर्ने मनसाय बन्यो । लायन्सका साथीहरु हेरेँ सबै सामाजिक भावना बोकेका हुनुहुन्थ्यो र साथीहरुले मलाइपनि काम गरौं भन्दा नाइ भन्न सकिनँ र साथीहरुकै प्रेरणाबाट लायन्सको सदस्य भए ।

तपाइले अध्यक्ष पद सम्हालेपछि सामाजिक सेवाका कार्यहरु के के गर्नुभयो ?

काम त धेरै गरियो तर सम्झनामा आएका केही कामहरु महत्वपूर्ण नै छन् । जस्तैः कमल गाउँपालिकामा बाढीले घर डुबाउँदा ६० घरलाई खाद्यान्न, लत्ताकपडा वितरण गरियो । हंसे दुम्सेमा गाईवस्तु डुवाएको र घर भत्काएको थियो तिनिहरुलाई त्रिपाल, खाद्यान्न उपलब्ध गरायौं । जोगी चौहानमा स्वास्थ्य शिविर चलाएर ५ सय जनालाई निशुल्क उपचार गरायौ । गौरीगञ्जमा बावुराजाको सहयोगमा १३ सय जनालाई निशुल्क होलबोडी चेकजाँच गराएर औषधी वितरण गरियो । ब्याङ डाँडामा निशुल्क स्वस्थ्य शिविर चलाएर ५ सय जनालाई उपचार गरियो । त्यहाँ लायन्स लोकबहादुर अधिकारीको संयोजकत्वमा एक महिनाका बालकदेखि ९९ वर्षका बृद्ध सम्मको हेल्थ चेक भएको थियो ।
यसैगरी मेन मेन जोन (लायन्स स्थापना गर्ने ब्याक्ति) को बर्थ डेको अवसर पारेर उर्लावारी नमुना बाल गृहका ६० जनालाई खाना र नास्ता उपलब्ध गराएर सवैभन्दा सानो बालकबाट केक काटेर अनाथ बालबालिकालाई खुवाइयो ।

सामाजिक सेवाका काम मध्ये महत्वपूर्ण लागेका केही छन् ?

दमक चियाबगानको रत्न बृद्धा आश्रमकी ७२ वर्षीय आमालाई नागरिकता बनाउन पहल गरियो, लायन्सको अध्यक्ष र नपाकी उपमेयरको सनाखतमा नागरिकता वितरण भएपछि उनले बृद्ध भत्ताको सुविधा पाइन् । ८५ वर्षीय बृद्धाको नागरिकता हराएको रहेछ, त्यो खोज्ने कार्य लायन्सले गर्यो । दमक ६ मा बाँधेर राखिएकी १२ वर्षीय बच्चीलाई उद्धार गरि नगद ५ हजार र खाद्यान्न सहयोग, दमक ६ कै एक असोभाविक रुपमा टाउको बढेकी बालिकालाई लायन्सले ७६ हजार रकम खर्च जुटाएर नोवेलमा उपचार गरिएको हो । दुब्र्यसनीमा फसेका ७ जनालाई उद्धार गरिएको छ । दमकको रामकृष्ण मन्दिर ढुकुरपानीमा ज्येष्ठ नागरिकलाई ४० हजार बराबरको टेलिभिजन उपलब्ध गराइएको छ । झापाको दुहागढी बाल सुवोधिनी माविका ६६ सीमान्तकृत विद्यार्थीलाई स्कूल ब्याग र तुथ पेष्ट ब्रस, लायन्स मनोज अग्रवाल र पुन्यप्रसाद घिमिरेको सहयोगमा वितरण गरिएको थियो भने क्लवका अध्यक्ष रुद्रप्रसाद गौतमले विद्यालयको बगैचा संरक्षणमा ५ हजार एकसय उपलब्ध गराइएको हो । हात्तीपाइलेको औषधी खाने सचेतना अभियान चलायौ, यी बाहेक पनि धेरै सामाजिक कामहरु क्लवले गर्दै आएको छ ।

संस्था र जिम्मेवारीप्रति सन्तुष्ट हुनुहुन्छ ?
यो संस्थामा पसेर काम गरेको बाह्र वर्ष भयो । सदस्य भएर लायन्सलाई काँध हालेको देखेपछि साथीहरुले टीमको नेतृत्व गर्ने अवसर दिनुभयो, लायन्स सुरज आचार्य अध्यक्ष भएको बेला कोषाध्यक्ष भएर काम गर्ने मौका मिल्यो । त्यसपछि सचिव, तेस्रो उपाध्यक्ष, दोस्रो उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु । यहाँसम्म आउन सस्थाप्रतिको मेरो दायीत्वबोध र साथीहरुको हौसलाले सफल भएको हूँ । कामको शिलशिलामा केहि कमी कमजोरी भए होलान तर मैले जतिपनि काम गरेको छु, संस्थाको हितको लागि लगानी खेर नजाने गरि गरेको हुनाले म सन्तुष्ट छु । तथापी अझै धेरै काम गर्न बाँकी नै छ । थप जिम्मेवारी आए बहन गर्ने मनोवल बृद्धी भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मोरङमा चोरीका काठ समातिए

मोरङ/ मोरङमा वन फँडानी तीव्र भइरहेका बेला वन कार्यालयले अवैध काठ बरामद गरेको छ । सुन्दरहरैचा नगरपालिकाको त्रिवेणीस्थित किशोर कार्कीको घरबाट बिहीबार वन कर्मचारीले काठ बरामद गरेका हुन् ।
शौचालयमा लुकाइराखेको काठ सलकपुर वन कार्यालयका प्रमुख लालबहादुर माझीको पहलमा बरामद गरिएको वन कार्यालयले जनाएको छ ।
बिहीबार काठ बरामद गरेर ल्याउनासाथ पार्टीका स्थानीय नेताहरु भने दोषी छुटाउन माग गर्दै वन कार्यालय पुगेका छन् ।
पछिल्लो समय मोरङमा वन फँडानी तीव्र गतिमा भइरहेको छ । फँडानी बढे पनि प्रहरी प्रशासनले चासो नदिएको गुनासो स्थानीयले गरेको छन् । पूर्वसांसद् चन्द्रबहादुर गुरुङले वन फँडानीबारे प्रहरीकोमा उजुरी गर्दासमेत बेवास्ता गर्ने गरेको गुनासो गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नयाँ श्वाद लिएर संगम मोरङको उर्लावारी आउँदै

दमक/ गुणस्तरीय सफा र ताजा खाजा,खाना ,र मिठाईको परिकार बेच्दै आएको संगम स्विटले उर्लावारीबासीलाई नयाँ श्वाद चखाउने भएको छ ।

रामनवमीको अबसर पारेर अर्थात आगमी चैत्र ११ गतेबाट सगम स्विटले आफनो साखा उर्लाबारीमा उदघाटन गर्ने भएको हो ।
उदघाटनमा सबैलाइ निमन्त्रणा समेत गरिएको सन्चालक बिमल शर्माले बताए ।
१९ बर्षअघि झापाको दमकबाट सुरु भएको संगम स्विटले नेपालभर र विदेशमा समेत चर्चा पाइसकेको छ । नेपालका ठूला शहरहरुमा ५ वटा शाखा विस्तार भइसकेका छन् भने उर्लावारी छैटौ शाखामा पर्छ । उर्लावारीमा करिव एक करोडको लगानीमा शाखा खोल्न लागिएको शर्मा बताउँछन् ।

झापाको दमक र विर्तामोड त्यस्तै राजधानीको कमलादी, बानेश्वर र कालीमाटीबाट आफ्नो ग्राहकका लागि सेवा उपलब्ध गराउंदै आइरहेका छौ, अव उर्लावारीमा ओपनिङ गर्दैछौ शर्माले भने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जिप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

रुकुम, चैत ८ गते/  रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् । वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र सात वर्षीय छोरा हिडन खत्री गम्भीर घाइत भएका छन् भने सोही गाउँपालिका वडा नं ७ का ३५ वर्षीया प्रकाश नेपाली, २० वर्षीया निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, बालिका मञ्जु खत्री, आठबीसकोट नगरपालिका वडा नं ९ का २५ वर्षीय रमेश खत्री र वडा नं १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन् ।

घाइतेको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने आमाछोराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्