माउण्ट एभरेष्टको माध्यमबाट समाजसेवा गरिरहेको छुः रुद्रप्रसाद गौतम

0
352

२०२८ साल चैत्र १८ गते भारतको आसाम कार्वाहाङलोङ धनश्रीमा जन्म भई ०५४ साल फागुनमा १८ दिनकी छोरी काखी च्यापेर श्रीमतिसहित नेपाल प्रवेश गरेका रुद्रप्रसाद गौतमले पछिल्लो समय समाजसेवालाई प्राथमिकता दिँदै आएका छन् । १२ वर्ष अघि लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टमा प्रवेश गरेर सदस्यदेखि कोषाध्यक्ष, सचिव, तेस्रो उपाध्यक्ष, दोस्रो उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । प्रश्तुत छ, प्रदेश आवाज डट कमको लागि लायन्सले समाजमा गरेका कामको विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

लायन्सबाट छोटो समयमा चर्चामा आउनु भयो नि ?

म सामान्य परिवारमा जन्मेको मान्छे, ब्यवसायमा हात हालेपछि आय आर्जन हुँदै गयो, हातमा पैसा नहुँदा रेडियो, पत्रिका, टेलिभिजनमा आएका असहायका समाचार पढेपनि टुलुटुलु हेर्नु भन्दा शिवाय केहि गर्न सकिएन । अहिले समाजमा केहि गर्न सकिएला भन्ने आत्मबल बढेको छ । त्यही आत्मबलले लायन्सको माध्यमबाट समाजिक काममा हात हाल्न कोशिस गरेको छु, चर्चा भन्नेकुरा सेवाको प्रतिफल रहेछ ।

लायन्स कल्वको उदेश्य के हो ?

यो सामाजिक संस्था हो, सामाजिक संस्थाको उदेश्य समाजको सेवा गर्नु नै हो । हामी जहाँ विपत, आगलागि, बाढी पहिरो पीडित, अपाङ्गता भएका, असहायलाई सेवा गर्दै अघि बढ्नु हाम्रो संस्थाको लक्ष हो । हामी जहाँ अभाव त्यहाँ लायन्स भन्ने नाराका साथ समाज सेवा गरिरहेका छौ ।

समाजसेवा बाहेक तपाईको पेशा के हो ?

म २०२८ साल चैत्र १८ गते भारतको आसाम कार्वाहाङलोङ धनश्रीमा जन्मेको हुँ ०५४ साल फागुनमा १८ दिनकी छोरी कञ्चन काखी च्यापेर र श्रीमति कमलासहित नेपाल प्रवेश गरेको थिए । नेपालको दमक आएर मालपोत अगाडी पान पसल गरेर ३ वर्ष विताएँ । त्यसपछि किराना पसल खोलेको थिएँ । विचमा जग्गाको कारोबारपनि गरेँ, अहिले उनै छोरीका नाममा खोलेको कञ्चन सप्लायर्स एण्ड टे«डर्स सञ्चालनमा छ ।

अहिले हामी चार जनाको परिवार हो । ब्यवसायबाटै परिवार खर्च धानेको छ । छोरी कञ्चन काठमाण्डौको नेशनल कलेजमा सोसियल वर्कमा ब्याचलर दोस्रोवर्षमा अध्ययनरत छन् । छोरा करिव बानेश्वरको चेल्सी स्कूलमा ८ मा अध्यायनरत छन् । दमक नपा वडा नं ५ धनेश्वर टोलमा घर बनाएको छु, मेरो पछिल्लो समय ब्यवासाय भन्दापनि समाजसेवा नै प्राथमिकतामा परिसकेको छ ।

लायन्सबाट सामाजिक सेवा गर्न सकिन्छ भन्ने प्रेरणा कसरी मिल्यो ?

केही न केहि सामाजिक संस्थामा रहेर समाजको सेवा गर्नु पर्यो भन्ने सोच बनाएर खोजी गर्दा लायन्सको सदस्य भएर काम गर्ने मनसाय बन्यो । लायन्सका साथीहरु हेरेँ सबै सामाजिक भावना बोकेका हुनुहुन्थ्यो र साथीहरुले मलाइपनि काम गरौं भन्दा नाइ भन्न सकिनँ र साथीहरुकै प्रेरणाबाट लायन्सको सदस्य भए ।

तपाइले अध्यक्ष पद सम्हालेपछि सामाजिक सेवाका कार्यहरु के के गर्नुभयो ?

काम त धेरै गरियो तर सम्झनामा आएका केही कामहरु महत्वपूर्ण नै छन् । जस्तैः कमल गाउँपालिकामा बाढीले घर डुबाउँदा ६० घरलाई खाद्यान्न, लत्ताकपडा वितरण गरियो । हंसे दुम्सेमा गाईवस्तु डुवाएको र घर भत्काएको थियो तिनिहरुलाई त्रिपाल, खाद्यान्न उपलब्ध गरायौं । जोगी चौहानमा स्वास्थ्य शिविर चलाएर ५ सय जनालाई निशुल्क उपचार गरायौ । गौरीगञ्जमा बावुराजाको सहयोगमा १३ सय जनालाई निशुल्क होलबोडी चेकजाँच गराएर औषधी वितरण गरियो । ब्याङ डाँडामा निशुल्क स्वस्थ्य शिविर चलाएर ५ सय जनालाई उपचार गरियो । त्यहाँ लायन्स लोकबहादुर अधिकारीको संयोजकत्वमा एक महिनाका बालकदेखि ९९ वर्षका बृद्ध सम्मको हेल्थ चेक भएको थियो ।
यसैगरी मेन मेन जोन (लायन्स स्थापना गर्ने ब्याक्ति) को बर्थ डेको अवसर पारेर उर्लावारी नमुना बाल गृहका ६० जनालाई खाना र नास्ता उपलब्ध गराएर सवैभन्दा सानो बालकबाट केक काटेर अनाथ बालबालिकालाई खुवाइयो ।

सामाजिक सेवाका काम मध्ये महत्वपूर्ण लागेका केही छन् ?

दमक चियाबगानको रत्न बृद्धा आश्रमकी ७२ वर्षीय आमालाई नागरिकता बनाउन पहल गरियो, लायन्सको अध्यक्ष र नपाकी उपमेयरको सनाखतमा नागरिकता वितरण भएपछि उनले बृद्ध भत्ताको सुविधा पाइन् । ८५ वर्षीय बृद्धाको नागरिकता हराएको रहेछ, त्यो खोज्ने कार्य लायन्सले गर्यो । दमक ६ मा बाँधेर राखिएकी १२ वर्षीय बच्चीलाई उद्धार गरि नगद ५ हजार र खाद्यान्न सहयोग, दमक ६ कै एक असोभाविक रुपमा टाउको बढेकी बालिकालाई लायन्सले ७६ हजार रकम खर्च जुटाएर नोवेलमा उपचार गरिएको हो । दुब्र्यसनीमा फसेका ७ जनालाई उद्धार गरिएको छ । दमकको रामकृष्ण मन्दिर ढुकुरपानीमा ज्येष्ठ नागरिकलाई ४० हजार बराबरको टेलिभिजन उपलब्ध गराइएको छ । झापाको दुहागढी बाल सुवोधिनी माविका ६६ सीमान्तकृत विद्यार्थीलाई स्कूल ब्याग र तुथ पेष्ट ब्रस, लायन्स मनोज अग्रवाल र पुन्यप्रसाद घिमिरेको सहयोगमा वितरण गरिएको थियो भने क्लवका अध्यक्ष रुद्रप्रसाद गौतमले विद्यालयको बगैचा संरक्षणमा ५ हजार एकसय उपलब्ध गराइएको हो । हात्तीपाइलेको औषधी खाने सचेतना अभियान चलायौ, यी बाहेक पनि धेरै सामाजिक कामहरु क्लवले गर्दै आएको छ ।

संस्था र जिम्मेवारीप्रति सन्तुष्ट हुनुहुन्छ ?
यो संस्थामा पसेर काम गरेको बाह्र वर्ष भयो । सदस्य भएर लायन्सलाई काँध हालेको देखेपछि साथीहरुले टीमको नेतृत्व गर्ने अवसर दिनुभयो, लायन्स सुरज आचार्य अध्यक्ष भएको बेला कोषाध्यक्ष भएर काम गर्ने मौका मिल्यो । त्यसपछि सचिव, तेस्रो उपाध्यक्ष, दोस्रो उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु । यहाँसम्म आउन सस्थाप्रतिको मेरो दायीत्वबोध र साथीहरुको हौसलाले सफल भएको हूँ । कामको शिलशिलामा केहि कमी कमजोरी भए होलान तर मैले जतिपनि काम गरेको छु, संस्थाको हितको लागि लगानी खेर नजाने गरि गरेको हुनाले म सन्तुष्ट छु । तथापी अझै धेरै काम गर्न बाँकी नै छ । थप जिम्मेवारी आए बहन गर्ने मनोवल बृद्धी भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here