Saturday, November 30, 2024
Home Blog Page 301

नेकपाले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं/ निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव विष्णु पौडेललाई पौडेललाई प्रदान गरेका हुन् ।

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि नेता सुवासचन्द्र नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिए । तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङ लगायत आयोगमा पुगेका थिए । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया सुरु गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चुलाचुली रंगशाला

कथाः

          उद्धब न्यौपाने

जीवनका महत्वपूर्ण क्षणहरु उभारेर थुप्रै काम गर्नु छ । समय उभ्रिएछ भने कविताका मीठा हरफहरु पढ्नु छ । मलाई लाग्छ कविताभन्दा सुन्दर चिज संसारमा सायद अर्को हुँदैन । खोजी गर्दा भेटिँदैन पनि होला । हुन्छ भने कल्पनाको उच्च विश्लेषण कवितामै हुन्छ । र त म हमेशा कविता पढिरहेको हुन्छु । यदाकदा पुराना गीतहरु सुनिरहेको हुन्छु । गीत गाउन तयार गरेका शब्दकाव्यमा बगिरहेको हुन्छु । बिर्सँदा पनि सम्झिरहेको हुन्छ गजलका केही पुराना शेरहरु । त्यसो त म पढ्दा नथाक्ने कथा नै हो । जयमाया आफू एक्लै लिखापानी आइपुगी । जयमाया पात्र र ऊ बाँचेको भूगोल । झोलाभित्र सती पात्र र ऊ बाँचेको परिवेश । साँचो अर्थमा लेखकले कल्पना गरेको पात्र र ऊ बाँचेको भूगोल नै मेरो पाठ्य सामाग्री हुनेगर्छ । विषय स्थान्तरण नगरी भन्दा म पात्र र म बाँचेको भूगोल अनि हामीले मान्दै आएको संस्कृति ।
हो, म पात्रको उमेरले चालिस वसन्त पुग्न धेर छैन । बाबुनानीहरु बिहान स्कुल जान्छन् र साँझ नपर्दै गुण फर्कन्छन् । ती बाबुनानीहरुको पनि म बाबु । न विद्यालय जानु छ न कुनै लोकसेवा आयोगको परीक्षा लेख्नु छ । र पनि साँझ–बिहान किताबको अगाडि म आफैँलाई भेटिरहन्छु । समकक्षी प्रायः खाडी, मलेशिया, दुबई, कतारतिर छन् । कोही कोही त युरोपको ठूला सहरतिर छिरिसकेका छन् । उमेर समूहका साथीहरु किताब छुँदैनन् । घरी–घरी म आफैँलाई लाग्छ– देख्नेहरुले मलाई पक्कै अनौठो देख्छन् र भन्दाहुन्, “यो मान्छेको भातपानी नै किताब हो ।”
बिहान ओछ्यानबाट जुरुक्कै उठेपछि देख्ने चुरे पहाड नै हो । त्यहाँभित्रको हरियाली पूर्व, पश्चिम फैलिएको चुरेका सुन्दर–सुन्दर देखिने अग्ला, होचा चुचुराहरु । चुचुराको काखमा हुर्किएको हरियो झाडी । मेरो जीवनको धेरै अंश यतै बितेको छ । म जुन देश पुगेपनि मैले देख्ने सपना यतैको हो । मैले बगाउने पसिनाको तमोर पनि यतै बगाएको छु । ढाँडेहोली, कालीहोडा, तिर्तिरे, तीनदोभाने, हुरिभञ्झ्याङ, वनबिहार, धिमाल खोल्सी आदि आदि । गाईबस्तु पुर्याउन बाख्रा हेर्न, घाँस काट्न, ढाँडेको पानी पाइपमा घुसार्न, तिर्तिरेको पानी गाग्रोमा बोकिल्याउन । ढाडेको घाँसे पाखो, सात दिनेको लम्पटे डाँडो, चिसो बतास बगिरहने हुरिभञ्झ्याङ होस् वा धररर बगिरहने तिर्तिरे, हेरिरहँदा अझै हेरौँ लाग्ने धिमाल खोल्सीको लम्पट चिस्यान । त्यसैको माथ्लो ढापमा आफूलाई सर्वाङ्ग खाली राखेको नाङ्गे डाँडो । सयौँ मजदुरको बथान, मृग र मृगसावकहरुको रहरलाग्दो ताँती, मसिना बुच्चा भुनीहरुसँग थुतुनाले गिट्ठा भ्याकुर खोतल्दै बँदेलको जत्था । सातदिने उक्लँदा नउक्लिँदै देखिने तल बुकुवाको बस्ती । फर्केर आइपुगिने तिर्तिरे हाँङ्देवाको मीठो लाग्ने चिसो पानी ।
प्राकृतिको स्वर्णिमा स्वरुप, जति हेरेपनि, जति पढेपनि आदिम मुन्धुमजस्तै, माथिको हरियो पहाड र तलको बुकुवा बस्तीलाई । यही तिर्तिरे हो, यहाँबाट जता हेरेपनि आँखामा अटाउन नसकेको हरित सुन्दरता । घामलाई छेल्नेगरि आकाशलाई माथि पुर्याउन उडेका चराहरु । उता पारिपट्टि बनबिहारमा राताराता जोडी–जोडी बाँदर, देख्दा उत्ताउलो लाग्ने तमासा । बुकुवाली हाङदेवा आइपुग्दा नपुग्दै नै हो, मान्छेले साहुको अनुहार भुसुक्कै बिर्सिन्छ । बिर्सिन्छ शरीरको दिगो रोग र बिर्सिन्छ पेटको भोक । मान्छेले साँच्चै बाँचेको अनुभव गर्छ भने यहीँ आइपुग्दा गर्दोरहेछ आफू ज्यूँदो छु भनेर । चुरेजसरी नै पूर्वपश्चिम फैलिएको तिर्तिरे डाँडो । बुकुवाको शिरैबाट बगिझर्ने तिर्तिरे शिवजीको जटाबाट बगेको गंगाजस्तै । आदिम युगको पुराणको कथाझैँ लाग्छ । वर्तमानको वास्तविकता र सचित्र । डाँडाको त्यही तल दक्षिणतर्फ काँक्रो चिरेको चिराजस्तै चिरैचिरा छ । अघि भर्खरै सात दिनेबाट तल हेर्दा हलो जोतिसकेर पटाहा लाउन बिर्सेको बारीकान्लो जस्तै । यतै देखिन्छ नि उहिलेदेखि गोठाला, गोठाल्निले रहरलाई जतनले लुकाउन पुग्ने होली र लाज छोप्न मिल्ने मसिना खोल्सी पनि ।
हो यहाँनेर यतिबेला म बलिया, बाङ्गा, दर्बिला, भरपर्दिला, साथीहरुको माझमा छु । उमेरले, रहरले, विचारले, दृष्टिकोणले पनि परिपक्व हुनुहुन्छ ति साथीहरु । हामी भएमध्येमा सामाजिक रहर छ, सामाजिक उमङ्ग छ सँगसँगै सामाजिक उद्देलना छ र एउटा साझा उद्देश्य छ । त्यो हो चुलाचुलीमा वृहत् ठूलो रंगशाला बनाउने । संयोगले होला, हाम्रो रहरलाई मायाले, प्रेमले खप्लक्क अँगालो हालेर सघाउने चुलाचुलीका अग्रज र सामाजिक रुपमा पाका भइसकेका व्यक्ति, व्यक्तित्वहरुको सहयोग त छँदैछ । त्यसमा पनि प्रकृतिले हराभरा बनाएको पहाडको फेदैमा आँखाले हेर्दा नभ्याउने अर्धसमथर भू–भाग पनि हामीसँगै छ । त्यही भू–भागको उच्च स्थानमा उभिँदा देखिने तल रतुवाको पुल, दमकको आवाघर छ । त्यहाँ बिकास भएको टाउनेकरण, कंक्रिटले पुरिँदै गरेको दमकको आदिम सभ्यता र संस्कृति सजिलै देखिन्छ । बुकुवाको चुचुरो, थाक्कले पाखा, एकपाइले, हरिणेचौर र सुन्दर हरियालीतर्फ मनमस्तिष्कलाई फर्काएर हेरिरहेका छौँ । तिर्तिरेको धरर बग्ने पानी र संगीतझैँ लाग्ने चराको चिर्विर । हो, यहिँनेर डाँडालाई खसालेर खोल्सी पुर्नु छ । थुम्काथुम्की काटेर होलाहोलीलाई माथि उकास्नु छ । धर्धरे नियन्त्रण गरी फेरि सम्याउनु छ । पश्चिमतिर बगिहिँड्ने बुकुवा खोलालाई चेकड्याम लगाएर पोखरी बनाउनु छ । जंगली जनावर र चराहरुलाई पनि सुकेको घाँटी भिज्नेगरी पानी खुवाउनु छ । उहिले पहिले आदि अनादिकालमा मञ्जूश्रीले चोभारलाई काटेर पोखरीलाई काठमाडौं बनाए । त्यत्रो त गर्नु परेन अहिलेलाई । यो डाँडो काटेर खोल्सीतिर खसाल्नु मात्र हो । समग्रमा बहुप्रतिष्ठिट, बहुआयामिक, देश, विदेशले जान्नेसम्मको रंगशाला बनाउनु छ । हिजो बनाउनेहरुले जानेर हो वा नजानेर एक रंगको बनाए । जानेर बहुरंगको बनाउनु छ ।
हामी बनाउनेहरु छौँ । अर्काथरि बनाउनुपर्छ भन्ने नाममा हामीभित्रै पसेर बनाउन नदिनेहरु पनि छन् । कहिले नाममा झगडा गर्छन् । कहिले दाममा झगडा गर्छन् । यो हाङदेवा चौक किन राखिस् भन्छन् । बुढीबजु थानको नाम बिगारेर युमासाम्मा थान पारिस भन्छन् । पख न तँलाई । बाँझोलाई मांसेबुङ भनिराख्ने पनि तैँ होस् नि भन्छन् । उनीहरु अनुहार रातो, पिरो पारेर गाली गर्छन् । मलाई पहाडलाई पहाड र हिमाललाई हिमाल भन्न खुब आनन्द लाग्छ । हुन त यो पशुहाटमा गाईबाख्रा बेचेर नाफा खाने व्यापार होइन । सन्तानले कालजयी उपभोग गर्ने संरचना हो । गर्दा राम्रै गर्नु छ । भनौँ न हलो अड्काएर गोरु कुट्नेहरु पनि उत्तिकै छन् । ती तत्तत साथीहरुलाई सम्झाउनु छ, फकाउनु पनि छ । एउटा नामोद विजुवाले मधौरुलाई लागेको लगनलाई हटाउन फलाकेझैँ फलाक्नु छ उनका कानमा । विकासको गतिलाई निरन्तर स्पीडमा लानु छ । हुन त बजेटले, वार्डले, गाउँपालिकाले जिल्ला समन्वय समितिले रंगशाला देखिसकेको छैन । बजेटले रंगशाला देखाउनु भनेको पनि फलामको चिउरा चबाउनुमा खासै फरक पाएको छुइनँ । म केवल भोग्दै छु मात्र । रंगशालाको आकारले दुईसय नाघिसकेको छ । चौडाई एक सय असी नाघेर एकासी पुगिसकेको छ । बाँकी सम्याउने ठाउँ उता आँखाले भ्याएसम्म छ । हाम्रा बाजेहरु इन्द्रलाल, सुभांगी, ठडेली बाबै मिलेर, झोडा फाँडेर विद्यालय बनाएका थिए त्यो युगमा । म नाति पुस्ताकोले एउटा रंगशाला बनाउने कर्ममा तम्सिनु छ ।
हिजो बिहान भर्खरै मात्र धिमाल खोल्सीको वीराराङदेउ, पोखरीको मष्टोबन्झाँक्री देउलाई तिर्तिरेको युमासाम्माङलाई धामीले, धमन्तरीले, ओझाले, बिजुवाले, लामाले, पुरेतले हाम्रो सेवा सावाहरुले पूर्णेको दिन पारेर अक्षेतापाति, फलफुल, नानानैवेद, मेवा, मिष्ठान्नहरु खोजेर पुजा गरे, आराधना गरे । भनिरान् पनि “हामीले तिम्रो आँगनछेउमा रंगशाला बनाइराख्दै छौँ । तिमी बन्दै नरिसाउनू । गोसा नहुनू । बेलामौका पारेर आउँदै दूधको धारा दिन्छौँ । हाकेताकेको पुर्याउनु ।” हामी हेर्नेहरु, देख्नेहरु पूजा गर्न आएकाहरु, प्रसादी खानु आएकोहरु पनि भेला भयौँ र शिवपाञ्चायन मन्दिरको विरहाङ्ग देउलाई ओझा, विजुवा, धामी, धमन्तरी, फेदाङ्बा, गुरुपुरेत, लामा, सेवासवाहरु समेत भएर चयाब्रुङ्ग, झ्याली, शंख, घण्टा, नौमती बाजा समेतले पूजा गर्दै लावालस्करसहित बुकुवा पोखरीको मष्टो वनझाँक्रीलाई पुकार्दै मनायौँ, फकायौँ । जोडजोडले नाच्यौँ । आदिम मन्त्र गुन्गुनाउँदै पोखरीबाट तिर्तिरेको युमासाम्मासँग भेट्न लाग्यौँ ।
रंगशाला प्रवेश गर्दानगर्दै युमासाम्मा खुशी भइछिन् क्यार, आकाशमा बादलका थेग्ला थेग्लीहरु देखा परे । भेला भएका गुरु, पुरेत, लामा, सेवा साबाले तिर्तिरे हाङदेवाको युमासाम्मालाई जोडजोडले बक्साएर जोडी परेवा आकाशमा उडाएपछि पानी पर्नथाल्यो । चैतको खडेरीमा कमिला कुद्ने रतुवाखोलामा भेल, बाढी आइगएछ । प्रसादी खानु आएको साथीहरु पानीमा लड्दै, पड्दै आइपुगे । सेवासावा र देवारीहरु भोगबली गर्ने र फुलफलेदो चढाउने भनेर चर्काचर्की पनि परिगयो ।

जान्नेहरुले सम्झायो– आज हामी पहाडदेखि मदेश बसाइँ आएको दिन, यहाँ त हामीलाई धिमालहरुले यहाँको रैथाने भइबस्दा धिमालटारको विरहाङ देउ, बुकुवा पोखरीको मष्टोबन्झाँक्री र तिर्तिरेको युमासाम्मा पूजा गर्न लगाएको उबेला तर भोगबली नगरेको भनी पठाए । भोगबली गर्ने र नगर्ने भन्नेहरुलाई मलाई भन्न मन लागेको थियो, प्रसिद्ध अंग्रेजी साहित्यकार जर्ज बनावडको भनाई “मन्दिर र पेटलाई चिहान बनाउनु हुँदैन” भनेर । तर केहि भनिनँ । उहिले, पहिलेको हाम्रो बाबुबाजेहरुको च्याब्जुल्याब्जुहरुको जीवनकथा जान्नेले सुनाए । नसुन्नेले सुन्यौँ । टोड्के, कुसुन्डेबाट झरेर, पेरुङ्गेखोला तरेर मावाखोला डिलैडिल देउरालीमा पाती चढाउँदै बुकुवामा बसाइँ सरी आएको । ढाकर बिसाउँदा धिमाल खोल्सीको धिमालहरुले पहाडदेखि आएको आउँदा बाटोभरि दुःख पाएको भनी तिर्तिरेको पानी ल्याई चामलको भात पकाएर अघाउँजी खुवाएपछि धिमाल बुढाले भनेछन्– “तिमी पहाडेदेखि मधेश झरी आयौ । नौ डाँडा, नौ खोला तरी आयौ । यहाँ औलो छ, जोगिनुपर्छ । हात्ती लाग्छ, सर्प लाग्छ । जोगिनु, जोगाउनु । अब झाडी फाँडी आवाधि बनाएर गरिखानु । यो विरराङ देउसँग वर माग्नु । ऊ पर पोखरीमा मष्टो वनझाँक्रीलाई धुप, धुमार नैवेद दिनु । तिर्तिरे, हाङ्देवाको युमासाम्माङलाई पान, सुपारी, नैवेद सँग दुधधारा दिनु । त्यसको वरिपरि दिसापिसाब नगर्नु । फोहोर नगर्नु । अब आइन्दा चैत्र जाँदो बैशाख लाग्दो शुभ दिनमा, शुभ बारमा शुभ तिथिमा, शुभ साइत पारी शुद्ध मनले, शुद्ध वचनले, वर्षेनी युमासाम्माङ बुझाउनु, बक्साउनु” भनेर रासनपानी, ओड्ने, ओछ्याउने दिएर धिमालहरुले उनयो, विनयो, जंगलमा गरेको सहयोगमा बूढा धिमालको सम्झनामा वर्षेनी पूजा हुने हुनाले मैले खुब सम्झेँ, उबेलाको प्रिय धिमाललाई । बुकुवा सिरान हाङदेवाको नवनिर्मित चुलाचुली रंगशालामा ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

२४ जनाले दिए रगत दान

दमक/ विश्व रक्तदान दिवशको अवसर पारेर दमक अनलाइन इन्स्टिच्यूटले दमक बेलडाँगी रोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
दमक रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा भएको रक्तदानमा १६ पुरुष र ८ महिलाले रगत दिएको दमक अनलाइन इन्स्टिच्यूटका प्रवन्धक खेम दाहालले जानकारी दिए ।
रक्तदानको उद्घाटन जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमले गरेका थिएभने विभिन्न संस्थाका प्रतिनिधिहरुको उपश्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जनवादी विद्यालयको पढाइ रोकियो

मेगराज खड्का
रुकुम / तत्कालीन नेकपा माओवादीले रुकुमको तत्कालीन मोराबाङ गाविसको क्याङ्सीमा २०६१ मा स्थापना गरेको वासु स्मृति जनवादी विद्यालय राष्ट्रिय शैक्षिक संग्रहालय हुने भएको छ। उक्त विद्यालय माओवादीका पोलिटब्युरो सदस्य सुरेश आले (‘वासु’ नाम स्थापना भएको हो। अहिले बन्द भएको उक्त विद्यालयको भवन, ‘जनवादी’ पाठ्यपुस्तक र अन्य भौतिक सामग्रीहरूलाई राखेर शैक्षिक संग्रहालयको विकास गर्ने तयारी गरिएको हो। माओवादीले स्थापना गरेका जनवादी विद्यालयमा रुकुम पूर्वको भूमे गाउँपालिका–३, क्यांसीमा रहेको उक्त विद्यालय पनि एक हो।

सोही विद्यालयलाई गाउँपालिकाले राष्ट्रिय शैक्षिक संग्रालयको रुपमा विकास गर्ने अन्तिम गृहकार्य भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए। के हो जनवादी विद्यालय ? माओवादी सशस्त्र युद्धताका उसले आफ्ना नेता, कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपाङ्ग परिवारका छोराछोरीहरुलाई शिक्षा दिलाउने उद्देश्यले माओवादी शिक्षा विभागअन्तर्गत खोलिएका विद्यालय हो। उक्त विद्यालयमा पार्टीले नै तयार गरेको ‘जनवादी’ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढाइ हुन्थ्यो। यस विद्यालयमा २० जना टुहुरा बालबालिकासहित १११ जना अध्ययन गर्थे। विद्यालयमै खाने बस्ने व्यवस्था गरिएको थियो। रुकुमसँगै छिमेकी जिल्ला जाजरकोट, रोल्पा, सल्यान र बाग्लुङका विद्यार्थी थिए। विद्यालयको सम्पूर्ण खर्च माओवादी कार्यालयबाट नै ब्यहोरिने गरिएको थियो। क कलम, ख खुकुरी… जनवादी विद्यालयमा कक्षा ४ सम्म पठनपाठन हुन्थयो।

पार्टीको शिक्षा विभागले तयार पारेको पाठ्यपुस्तक सरकारी विद्यायको भन्दा फरक रहेको स्थानीय मनराखे कामीले बताए। ‘सुरुमा अनौपचारिक रुपामा पढाइ भए पनि पछि आफ्नै फरक पाठ्क्रम, कार्ययोजना र शिक्षण विधि अपनाई आवासीय तरिकाबाट पढाइन्थ्यो,’ उनले भने, ‘पुस्तकमा माओवादी पार्टीको परिचय, नेताका जीवनी, हातहतियार र युद्ध कौसलसम्बन्धी पढाइ हुन्थ्यो।’ यस विद्यालयमा क कलम, ख खुकुरी र ब बन्दुक, छ छापामार, ल लालसेना, क्ष क्षेप्यास्त्र भनेर पढाइ हुने गरेको स्थनीय शिक्षक जीवन रोकाले बताए। त्यस्तै, अंग्रेजीमा ए फर आर्मी, बि फर ब्लास्ट, जि फर गन र आर फर राइफल भनेर अक्षर चिनाउने गरिएको रोकाले बताए। विद्यालयको राष्ट्रिय गानमा जहाँ विश्वभरिका कम्युनिष्टहरूले गाउने ‘उठ जाग भोका नाङ्गा…’ बोलको गीत गाइन्थ्यो।

स्थापनाकालमा माओवादी पार्टीको शिक्षा विभागले तयार परेको पाठ्यपुस्तक पढाइ भए पनि करिब सात वर्षपछि सरकारी पाठ्यपुस्तक पठनपाठन सुरु भएको थियो। माओवादी शान्ति प्रकृया मार्फत गएर सरकारमा सामेल भएपछि सरकारी पाठ्यपुस्तक पढाइ हुन थालेको थियो। नजिकै अर्काे सरकारी विद्यालय भएकाले व्यवस्थित बनाउने भन्दै उक्त विद्यालयलाई जनवादी विद्यालयलाई सरकारी विद्यालयमा गाभियो। दुई विद्यालय एकापसमा गाभ्दा स्थापना भएको विद्यालयको नाम शहीद वासु स्मृति नमुना आधारभूत विद्यालय राखियो।

विद्यालय नेपाल सरकार मातहत आएपछि जनवादी विद्यालयको भवन र पाठ्यपुस्तक बेवारिसे बनेको स्थानीय मनराखे कामीले बताए। जीर्ण विद्यालय शैक्षिक संग्रहालयको रूपमा विकास गरिने जनवादी विद्यालय अहिले जीर्ण छ। भवनको बाहिर तारजाली लगाएर सुरक्षित गरिए पनि भित्र भद्रगोल छ।

भित्र भवन मुसाले खोलेको छ। विद्यालय परिसरमा झार उम्रिएको छ। किताब र अन्य शैक्षिक सामग्रीहरु यत्रतत्र छरिएका छन्। यस विद्यालय ऐतिहासिक भएकाले सरकारले संरक्षणका विशेष कार्यक्रम ल्याउनु पर्ने स्थानीयको माग छ। स्थनीय रामबहादुर रोका क्याङ्सीकै जनताको पसिनाबाट निर्माण भएको भन्दै त्यसलाई पार्टीको कुरा मात्र नगरेर तत्काल संरक्षण गर्नुपर्ने बताउँछन्।

रोकाका अनुसार उक्त विद्यालयको भवन स्थानीयसँगै आसपासका नागरिकले जनश्रमदानबाट निर्माण गरिएको हो। ‘द्वन्द्वकालमा पनि व्यवस्थित रूपमा सञ्चालन भएको विद्यालय माओवादी शान्ति प्रकृयामा आएपछि पार्टीले बेवास्था गर्यो र लथालिंग भयो,’ उनले भने, ‘अब स्थानीय सरकारले पनि यसको बेवास्ता नगरोस्, यो हाम्रो प्रतिष्ठासँग जोडिएको पनि विषय हो।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गाडीको ठक्करले पैदलयात्रीको मृत्य

उर्लाबारी/ सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा बिहान ६ः२५ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ।

ठक्कर दिने पिकअप र त्यसका चालकलाई प्रहरी चौकी, गछियाले नियन्त्रणमा लिएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

पथरी , १८ जेठ/ मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गरेका हुन् ।
मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुला दिसामुक्त भइसकेका र साविक टाँडी गाविसलाई मात्र घोषणा गर्न बाँकी रहेको थियो । साविक टाँडी गाविस तथा हालको मिक्लाजुङ वडा नं २, ३ र ४ का ६५ घरधुरीमा शौचालय निर्माण गरेसँगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
कार्यक्रममा जिसस प्रमुख पोखरेलले सबैले चर्पीमै दिसापिसाब गर्ने बानी बसाई गाउँलाई स्वच्छ, सफा, सुन्दर गाउँ, टोल बनाउन आग्रह गरे । उनले खुला दिसामुक्त घोषणालाई प्रभावकारी बनाउन गाउँपालिकाको सार्वजनिक स्थान, बसपार्क, विद्यालयमा पनि शौचालय निर्माण गर्नुपर्ने बताए ।

सोही अवसरमा मिक्लाजुङ गाउँपालिकाले ६० वर्ष उमेर कटेका चारजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका विनाश्वरी राई, गायत्रा सञ्जेल, तिलकुमारी आचार्य र लक्ष्मी दाहाललाई जनही रु ५० हजार नगदसहित बिदाइ गरिएको हो ।
गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागि सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अपराधीको सूचिमा ताप्लेजुङका को को ?

ताप्लेजुङ / ताप्लेजुङ भित्र रहेर विभिन्न अपराधीक कृयाकलापमा संलग्न हुनेहरुको सुष्म ढंगले पहिचान गरि व्ल्याक लिष्ट तयार गरिने भएको छ । समाजलाई अपराधमुक्त बनाउने उद्धेश्य सहित गृह मन्त्रालयले लागु गरेको ८२ वुँदे कार्ययोजनामा रहेर जिल्ला सुरक्षा समितिले व्ल्याक लिष्ट तयार गर्न लागेको हो ।

सुरक्षा समितिले अपराधीक गतिविधि नियन्त्रणका लागि १९ वुँदे योजना तयार गर्दै यहि जेठ मसान्त भित्रै व्ल्याक लिष्ट तयार गर्ने गरि आवस्यक काम भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जानकारी दिनुभयो ।

उक्त १९ वुँदे योजनामा गैर कानुनी ढंगले हतियार राख्नेलाई पहिचान गरि कारबाही गरिने र कानुनी रुपमा रहेका हतियारको विवरण संकलन गर्ने लगायतका विषय समेटिएका छन् ।

यस्तै लागु औषधको प्रयोग, छुवाछुतजन्य गतिविधि, लैंगिक हिंसा, बाल विवाह, जवरजस्ती करणी लगायतका घटना यियन्त्रणका लागि महिनामा १ पटक विद्यालय वा समुदायमा पुगेर सचेतनामुलक कार्यक्रम गर्ने समेत उक्त सुरक्षा योजनामा जनाईएको छ ।

उक्त योजना गएको जेठ १३ गतेबाट नै लागु भईसकेको बताईएको छ । यता असार मसान्त भित्रै सदरमुकाम फुङलिङ भित्र विग्रिएर रहेका सिसि क्यामेरालाई मर्मत गरि सञ्चालन गर्ने समेत बताईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सेक्स भएपनि बच्चा नहुनुका कारण यस्ता छन्

0

यौन दुर्बलताका अधिकांश कारण पूर्ण रुपमा सम्बोधन गर्न सकिदैन । किनकी वंशानुगत समस्या र पोलिसाइटिक ओभरी सिन्ड्रोमको जस्ता समस्याको उपचार कठिन हुन्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको मानिसको यौन दुर्बलता पनि समस्या पनि समाधान हुदैन । महिलाहरुमा विभिन्न कारणले गर्भवती हुँदैन । बाह्य जीवनशैलीले पनि गर्भधारण हुनबाट बञ्चित गर्छ । चाहेको समयमा गर्भधारण नहुनु र यौन दुर्बलताका कारण यस्ता छन्

अत्याधिक तौल – बढी तौल र गर्भधारणको समस्या एक आपसमा सम्बन्धित छन् । गर्भ नरहनुमा महिला भन्दापनि पुरुषको तौल मुख्य कारक हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार तौल बढी भएका अर्थात् धेरै मोटोपन हुने जोडीको ठिक्क तौल भएका जोडीले भन्दा सन्तान जन्माउने संभावना ५९ प्रतिशत कम रहन्छ ।

अत्याधिक तनाव – गर्भको बच्चालाई असर गर्ने भएकोले चिकित्सकले हरेकले गर्भवती महिलालाई तनावमुक्त रहन सल्लाह दिन्छन् । तर, गर्भवती हुन चाहने जोडी पनि तनावमुक्त हुनु आवश्यक छ । अमेरिकाको ह्युमन रिप्रोडक्समा प्रकाशित अध्ययन अनुसार बढी तनाव लिने महिला वा पुरुषमा अन्य साधारण जोडीको तुलनामा बच्चा जन्माउन नसक्ने खतरा दोब्बर खतरा हुन्छ । तनावले उर्वरता कसरी घटाउँछ भन्ने विषयमा उनीहरुले कुनै कारण पत्ता लगाउन त सकेनन् तर योगा तथा ध्यान गर्नेमा गर्भधारणको धेरै सम्भावना रहेको देखाएका थिए ।

अत्याधिक टेलिभिजन हेर्नु – टेलिभिजन हेरेर निष्क्रिय जीवन बिताउने पुरुषहरुको वीर्यको मात्रामा हस हुन्छ । ब्रिटिश जर्नल अफ स्पोर्ट मेडिसियनमा प्रकाशित अध्ययन अनुसार सातामा २० घन्टा भन्दा बढी टेलिभिजन हेर्ने पुरुषमा वीर्यको तीब्रता ४४ प्रतिशतले घटेको थियो । जबकी सातामा १५ घन्टाभन्दा टेलिभिजन हेर्ने मानिसहमा वीर्यको तीब्रता ७३ प्रतिशतले बढेको थियो ।

परिष्कृत मासु खानु – परिष्कृृत मासु खाने पुरुषको वीर्यको मात्र घट्ने सन् २०१४ मा इपिडिमियोलोजीमा प्रकाशित एक अध्ययनमा उल्लेख छ । अर्कोतर्फ कुखुराको मासु लगायतका परिकार खाने मानिसमा भने उर्वरता बढ्ने सोही अध्ययनमा उल्लेख छ । पर्याप्त

यौनकार्य नहुँदा – गर्भधारणका लागि यौन अपरिहार्य छ। यौन बच्चा जन्माउनका लागि मात्र नभई सम्बन्धका लागि पनि जरुरी छ । उचित यौन सक्रियताले महिलाको हर्मन सक्रीय भई प्रजननका दृष्टिले सक्षम बनाउने सन् २०१५ मा गरिएको एक अध्ययनले देखाएको छ।

अत्याधिक धुमपान – धुमपानले पनि उर्वरतामा हस आउँछ । अमेरिकन सोसाईटी अफ रिप्रोडक्टिभ मेडिसियनका अनुसार चुरोट पिउने पुरुषको उर्वरता १३ प्रतिशतले हस आउँछ । धुमपानले महिलाको अन्डासयमा अशर गर्छ भने पुरुषको वीर्यमा हस ल्याउँछ ।

जिममा धेरै समय – व्यायाम निसन्देह स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बच्चा जन्माउने अवस्थापूर्व पनि गर्भवती महिलाले सामान्य व्यायाम गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । तर, गर्भवती हुन चाहने महिलाले सामान्य व्यायाम गर्नुपर्छ । विज्ञहरुका अनुसार सामान्य व्यायामले उर्वरता बढाउन सहयोग गर्छ भने अत्याधिक व्यायामले उर्वरता घटाउँछ । स्वास्थ्यखबरबाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवासलाई जेल

विराटनगर / हातहतियार तथा खरखजना मुद्दामा धर्मगुरु स्वामी श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नसकिएको भन्दै पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

श्रीनिवासचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट बाहिर लगिएको थियो । त्यस क्रममा उनले आफूलाई फसाईएको दाबी गरेका थिए । कैदीबन्दीको चापका कारण मोरङ जिल्ला कारागारमा राख्न सम्भव नभएकोले उनलाई सुनसरीको झुम्कास्थित कारागारमा लैजाने तयारी गरिएको थियो । तर बिरामीको बहाना गरेपछि उपचारका लागि कोशी अञ्चल अस्पतालमा लगिएको छ ।

हिरासतमा बस्ने अवधिभर उनी अस्पतालको आइसियुमै बसेका थिए । गोली लागेपछि लामो समय न्युरो हस्पिटल बसेर उनले स्वयंले पत्रकार सम्मेलन गरी आफू ठिक भएको भन्दै अस्पतालबाट बाहिरिएका थिए । धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैंले आफैंलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासाचार्यलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । भारतको नयाँ दिल्ली जाने तयारी गर्दागर्दै उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट पक्राउ गरी मोरङ ल्याएको थियो । यस मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । बाराको सिमरा ३ घर भई सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्दै आएका आचार्य विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएको बेला आफ्नै योजनामा आफैंमाथि गोली प्रहार गरी धार्मिक हिंसा फैलाउने प्रयत्न गरेको बताइएको छ ।

गोली हान्ने पनि जेल चलान यसैबीच श्रीनिवासाचार्यको निर्देशनमा उनलाई गोली हान्ने अगंरक्षक चितवन भरतपुर–४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि पूर्पक्षको लागि कारागार चलान गरिएको छ । थुनछेक बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठक र प्रतिवादीकोतर्फबाट वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ता मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए । चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बजेटबाट उद्योग क्षेत्र निराश, पूर्वाधार विकासमा जोड

 १६ जेठ ,विराटनगर / आर्थिक वर्ष २०७५/७६ को बजेट सकारात्मक र आशामुखी रहेको विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । दीर्घकालमा सकारात्मक प्रभाव राख्ने गरी योजनाहरु बनेको र त्यसमा आधारित रहेर प्रयाप्त बजेट विनियोजन भएकोले पनि सकारात्मक मान्न सकिने विचार उनीहरुले व्यक्त गरेका छन् ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन आदि क्षेत्रमा सरकारले विशेष जोड दिएकाले मुलुकलाई आत्मनिर्भर बनाउँदै लैजाने आशा गर्न सकिने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । पर्यटन क्षेत्रको विकासका लागि जोड दिइनु र एक सय नयाँ गन्तव्य स्थानको पहिचान गरी विकास गर्ने लक्ष्य निर्धारण गरिनु बजेटको सकारात्मक पक्ष भएको संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले बताए । उनले बाटो पहिल्याउन नसकिरहेको अवस्थामा यो बजेटले मुलुकलाई निश्चित मार्गमा हिडाउने अपेक्षा गर्न सकिने आशा व्यक्त गरे । बजेटले निर्यात व्यापारलाई प्रवर्धन गर्न खोजेकोमा व्यवसायीले खुसी व्यक्त गरेका छन् । निर्यात व्यापारको ठूलो हिस्सा भारतसँग रहेको हुँदा भारत निर्यातमा ५ प्रतिशत प्रोत्साहन छुट पाउने हो कि होइन भन्ने विषय भने बजेटमा स्पष्ट नदेखिएको प्रतिक्रिया व्यवसायीले दिएका छन् । यद्यपि, सो विषय सकारात्मक रहेको उद्योगी महेश जाजुले बताए । उनले संसदमा पेश गर्ने तयारीमा रहेको आत्मनिर्भर सम्बन्धी ऐन पारित गरेर कार्यान्वयनमा लगिए प्रभावकारी हुने धारणा व्यक्त गरे ।

उद्योग क्षेत्रका लागि भने बजेटले आशाको सञ्चार गर्न नसकेको व्यवसायीले बताएका छन् । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन नगरिएको, प्रदेश स्तरमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र आदिको कुरा गरिएको भए पनि यकिन नगरिएकाले धेरै उत्साह नभएको उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । उनले पूर्वाधार विकासमा जोड दिएको बजेट समग्रमा सकारात्मक नै रहेको टिप्पणी गरे ।

एक अर्बभन्दा बढी लगानी भएका उद्योग अनिवार्यरुपमा सार्वजनिक लगानीमा जानुपर्ने बाध्यकारी व्यवस्थाले भने औद्योगिक लगानीमा नकारात्मक प्रभाव पर्ने अनुमान विराटनगरका व्यवसायीले गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष सारडाले एकै व्यक्तिले लगानी जुटाउने क्षमता राख्नेहरु लगानी गर्न निरुत्साहित हुन सक्नेतर्फ सचेत नदेखिएको बताए । उद्योगी अविनाश बोहोराले बजेट उत्पादनमूलक र रोजगारमूलक उद्योगको कोणबाट हेर्दा खासै सकारात्मक नदेखिएका टिप्पणी गरेका छन् ।

उनले औद्योगिकरणतर्फ सरकारले जोड नदिएको अनुभूति गरेको पनि बताए । यद्यपि, अन्य धेरै क्षेत्रमा सरकारले सकारात्मक देखिनेगरी बजेट ल्याएको उनको भनाई थियो । धेरै करहरु खारेज गर्नु तथा धेरै नयाँ करको अवधारणा अघि सारिएकाले पनि त्यसको प्रभाव बिस्तारै विश्लेषण हुने उनको भनाई थियो । उत्तर दक्षिण प्रसारण लाइन बिस्तार, जलमार्ग र रेलमार्गको अध्ययन आदि परियोजनाले बजेटको सकारात्मक पाटोको रुपमा उनीहरुले व्यख्या गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले यो बजेटलाई क्रान्तिकारी बजेटको संज्ञा दिए । उनले औद्योगिक क्षेत्र, औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र, निर्यात प्रवद्र्धनमा ५ प्रतिशत छुट, उत्तरदक्षिण प्रसारण लाइन, सहज विद्युत आपूर्ति, युवा र महिला उद्यमीलाई प्रोत्साहन आदि बजेटको सकारात्मक पाटो भएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्