बजेटबाट उद्योग क्षेत्र निराश, पूर्वाधार विकासमा जोड

0
225

 १६ जेठ ,विराटनगर / आर्थिक वर्ष २०७५/७६ को बजेट सकारात्मक र आशामुखी रहेको विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । दीर्घकालमा सकारात्मक प्रभाव राख्ने गरी योजनाहरु बनेको र त्यसमा आधारित रहेर प्रयाप्त बजेट विनियोजन भएकोले पनि सकारात्मक मान्न सकिने विचार उनीहरुले व्यक्त गरेका छन् ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन आदि क्षेत्रमा सरकारले विशेष जोड दिएकाले मुलुकलाई आत्मनिर्भर बनाउँदै लैजाने आशा गर्न सकिने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । पर्यटन क्षेत्रको विकासका लागि जोड दिइनु र एक सय नयाँ गन्तव्य स्थानको पहिचान गरी विकास गर्ने लक्ष्य निर्धारण गरिनु बजेटको सकारात्मक पक्ष भएको संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले बताए । उनले बाटो पहिल्याउन नसकिरहेको अवस्थामा यो बजेटले मुलुकलाई निश्चित मार्गमा हिडाउने अपेक्षा गर्न सकिने आशा व्यक्त गरे । बजेटले निर्यात व्यापारलाई प्रवर्धन गर्न खोजेकोमा व्यवसायीले खुसी व्यक्त गरेका छन् । निर्यात व्यापारको ठूलो हिस्सा भारतसँग रहेको हुँदा भारत निर्यातमा ५ प्रतिशत प्रोत्साहन छुट पाउने हो कि होइन भन्ने विषय भने बजेटमा स्पष्ट नदेखिएको प्रतिक्रिया व्यवसायीले दिएका छन् । यद्यपि, सो विषय सकारात्मक रहेको उद्योगी महेश जाजुले बताए । उनले संसदमा पेश गर्ने तयारीमा रहेको आत्मनिर्भर सम्बन्धी ऐन पारित गरेर कार्यान्वयनमा लगिए प्रभावकारी हुने धारणा व्यक्त गरे ।

उद्योग क्षेत्रका लागि भने बजेटले आशाको सञ्चार गर्न नसकेको व्यवसायीले बताएका छन् । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन नगरिएको, प्रदेश स्तरमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र आदिको कुरा गरिएको भए पनि यकिन नगरिएकाले धेरै उत्साह नभएको उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । उनले पूर्वाधार विकासमा जोड दिएको बजेट समग्रमा सकारात्मक नै रहेको टिप्पणी गरे ।

एक अर्बभन्दा बढी लगानी भएका उद्योग अनिवार्यरुपमा सार्वजनिक लगानीमा जानुपर्ने बाध्यकारी व्यवस्थाले भने औद्योगिक लगानीमा नकारात्मक प्रभाव पर्ने अनुमान विराटनगरका व्यवसायीले गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष सारडाले एकै व्यक्तिले लगानी जुटाउने क्षमता राख्नेहरु लगानी गर्न निरुत्साहित हुन सक्नेतर्फ सचेत नदेखिएको बताए । उद्योगी अविनाश बोहोराले बजेट उत्पादनमूलक र रोजगारमूलक उद्योगको कोणबाट हेर्दा खासै सकारात्मक नदेखिएका टिप्पणी गरेका छन् ।

उनले औद्योगिकरणतर्फ सरकारले जोड नदिएको अनुभूति गरेको पनि बताए । यद्यपि, अन्य धेरै क्षेत्रमा सरकारले सकारात्मक देखिनेगरी बजेट ल्याएको उनको भनाई थियो । धेरै करहरु खारेज गर्नु तथा धेरै नयाँ करको अवधारणा अघि सारिएकाले पनि त्यसको प्रभाव बिस्तारै विश्लेषण हुने उनको भनाई थियो । उत्तर दक्षिण प्रसारण लाइन बिस्तार, जलमार्ग र रेलमार्गको अध्ययन आदि परियोजनाले बजेटको सकारात्मक पाटोको रुपमा उनीहरुले व्यख्या गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले यो बजेटलाई क्रान्तिकारी बजेटको संज्ञा दिए । उनले औद्योगिक क्षेत्र, औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र, निर्यात प्रवद्र्धनमा ५ प्रतिशत छुट, उत्तरदक्षिण प्रसारण लाइन, सहज विद्युत आपूर्ति, युवा र महिला उद्यमीलाई प्रोत्साहन आदि बजेटको सकारात्मक पाटो भएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here