चुलाचुली रंगशाला

0
466

कथाः

          उद्धब न्यौपाने

जीवनका महत्वपूर्ण क्षणहरु उभारेर थुप्रै काम गर्नु छ । समय उभ्रिएछ भने कविताका मीठा हरफहरु पढ्नु छ । मलाई लाग्छ कविताभन्दा सुन्दर चिज संसारमा सायद अर्को हुँदैन । खोजी गर्दा भेटिँदैन पनि होला । हुन्छ भने कल्पनाको उच्च विश्लेषण कवितामै हुन्छ । र त म हमेशा कविता पढिरहेको हुन्छु । यदाकदा पुराना गीतहरु सुनिरहेको हुन्छु । गीत गाउन तयार गरेका शब्दकाव्यमा बगिरहेको हुन्छु । बिर्सँदा पनि सम्झिरहेको हुन्छ गजलका केही पुराना शेरहरु । त्यसो त म पढ्दा नथाक्ने कथा नै हो । जयमाया आफू एक्लै लिखापानी आइपुगी । जयमाया पात्र र ऊ बाँचेको भूगोल । झोलाभित्र सती पात्र र ऊ बाँचेको परिवेश । साँचो अर्थमा लेखकले कल्पना गरेको पात्र र ऊ बाँचेको भूगोल नै मेरो पाठ्य सामाग्री हुनेगर्छ । विषय स्थान्तरण नगरी भन्दा म पात्र र म बाँचेको भूगोल अनि हामीले मान्दै आएको संस्कृति ।
हो, म पात्रको उमेरले चालिस वसन्त पुग्न धेर छैन । बाबुनानीहरु बिहान स्कुल जान्छन् र साँझ नपर्दै गुण फर्कन्छन् । ती बाबुनानीहरुको पनि म बाबु । न विद्यालय जानु छ न कुनै लोकसेवा आयोगको परीक्षा लेख्नु छ । र पनि साँझ–बिहान किताबको अगाडि म आफैँलाई भेटिरहन्छु । समकक्षी प्रायः खाडी, मलेशिया, दुबई, कतारतिर छन् । कोही कोही त युरोपको ठूला सहरतिर छिरिसकेका छन् । उमेर समूहका साथीहरु किताब छुँदैनन् । घरी–घरी म आफैँलाई लाग्छ– देख्नेहरुले मलाई पक्कै अनौठो देख्छन् र भन्दाहुन्, “यो मान्छेको भातपानी नै किताब हो ।”
बिहान ओछ्यानबाट जुरुक्कै उठेपछि देख्ने चुरे पहाड नै हो । त्यहाँभित्रको हरियाली पूर्व, पश्चिम फैलिएको चुरेका सुन्दर–सुन्दर देखिने अग्ला, होचा चुचुराहरु । चुचुराको काखमा हुर्किएको हरियो झाडी । मेरो जीवनको धेरै अंश यतै बितेको छ । म जुन देश पुगेपनि मैले देख्ने सपना यतैको हो । मैले बगाउने पसिनाको तमोर पनि यतै बगाएको छु । ढाँडेहोली, कालीहोडा, तिर्तिरे, तीनदोभाने, हुरिभञ्झ्याङ, वनबिहार, धिमाल खोल्सी आदि आदि । गाईबस्तु पुर्याउन बाख्रा हेर्न, घाँस काट्न, ढाँडेको पानी पाइपमा घुसार्न, तिर्तिरेको पानी गाग्रोमा बोकिल्याउन । ढाडेको घाँसे पाखो, सात दिनेको लम्पटे डाँडो, चिसो बतास बगिरहने हुरिभञ्झ्याङ होस् वा धररर बगिरहने तिर्तिरे, हेरिरहँदा अझै हेरौँ लाग्ने धिमाल खोल्सीको लम्पट चिस्यान । त्यसैको माथ्लो ढापमा आफूलाई सर्वाङ्ग खाली राखेको नाङ्गे डाँडो । सयौँ मजदुरको बथान, मृग र मृगसावकहरुको रहरलाग्दो ताँती, मसिना बुच्चा भुनीहरुसँग थुतुनाले गिट्ठा भ्याकुर खोतल्दै बँदेलको जत्था । सातदिने उक्लँदा नउक्लिँदै देखिने तल बुकुवाको बस्ती । फर्केर आइपुगिने तिर्तिरे हाँङ्देवाको मीठो लाग्ने चिसो पानी ।
प्राकृतिको स्वर्णिमा स्वरुप, जति हेरेपनि, जति पढेपनि आदिम मुन्धुमजस्तै, माथिको हरियो पहाड र तलको बुकुवा बस्तीलाई । यही तिर्तिरे हो, यहाँबाट जता हेरेपनि आँखामा अटाउन नसकेको हरित सुन्दरता । घामलाई छेल्नेगरि आकाशलाई माथि पुर्याउन उडेका चराहरु । उता पारिपट्टि बनबिहारमा राताराता जोडी–जोडी बाँदर, देख्दा उत्ताउलो लाग्ने तमासा । बुकुवाली हाङदेवा आइपुग्दा नपुग्दै नै हो, मान्छेले साहुको अनुहार भुसुक्कै बिर्सिन्छ । बिर्सिन्छ शरीरको दिगो रोग र बिर्सिन्छ पेटको भोक । मान्छेले साँच्चै बाँचेको अनुभव गर्छ भने यहीँ आइपुग्दा गर्दोरहेछ आफू ज्यूँदो छु भनेर । चुरेजसरी नै पूर्वपश्चिम फैलिएको तिर्तिरे डाँडो । बुकुवाको शिरैबाट बगिझर्ने तिर्तिरे शिवजीको जटाबाट बगेको गंगाजस्तै । आदिम युगको पुराणको कथाझैँ लाग्छ । वर्तमानको वास्तविकता र सचित्र । डाँडाको त्यही तल दक्षिणतर्फ काँक्रो चिरेको चिराजस्तै चिरैचिरा छ । अघि भर्खरै सात दिनेबाट तल हेर्दा हलो जोतिसकेर पटाहा लाउन बिर्सेको बारीकान्लो जस्तै । यतै देखिन्छ नि उहिलेदेखि गोठाला, गोठाल्निले रहरलाई जतनले लुकाउन पुग्ने होली र लाज छोप्न मिल्ने मसिना खोल्सी पनि ।
हो यहाँनेर यतिबेला म बलिया, बाङ्गा, दर्बिला, भरपर्दिला, साथीहरुको माझमा छु । उमेरले, रहरले, विचारले, दृष्टिकोणले पनि परिपक्व हुनुहुन्छ ति साथीहरु । हामी भएमध्येमा सामाजिक रहर छ, सामाजिक उमङ्ग छ सँगसँगै सामाजिक उद्देलना छ र एउटा साझा उद्देश्य छ । त्यो हो चुलाचुलीमा वृहत् ठूलो रंगशाला बनाउने । संयोगले होला, हाम्रो रहरलाई मायाले, प्रेमले खप्लक्क अँगालो हालेर सघाउने चुलाचुलीका अग्रज र सामाजिक रुपमा पाका भइसकेका व्यक्ति, व्यक्तित्वहरुको सहयोग त छँदैछ । त्यसमा पनि प्रकृतिले हराभरा बनाएको पहाडको फेदैमा आँखाले हेर्दा नभ्याउने अर्धसमथर भू–भाग पनि हामीसँगै छ । त्यही भू–भागको उच्च स्थानमा उभिँदा देखिने तल रतुवाको पुल, दमकको आवाघर छ । त्यहाँ बिकास भएको टाउनेकरण, कंक्रिटले पुरिँदै गरेको दमकको आदिम सभ्यता र संस्कृति सजिलै देखिन्छ । बुकुवाको चुचुरो, थाक्कले पाखा, एकपाइले, हरिणेचौर र सुन्दर हरियालीतर्फ मनमस्तिष्कलाई फर्काएर हेरिरहेका छौँ । तिर्तिरेको धरर बग्ने पानी र संगीतझैँ लाग्ने चराको चिर्विर । हो, यहिँनेर डाँडालाई खसालेर खोल्सी पुर्नु छ । थुम्काथुम्की काटेर होलाहोलीलाई माथि उकास्नु छ । धर्धरे नियन्त्रण गरी फेरि सम्याउनु छ । पश्चिमतिर बगिहिँड्ने बुकुवा खोलालाई चेकड्याम लगाएर पोखरी बनाउनु छ । जंगली जनावर र चराहरुलाई पनि सुकेको घाँटी भिज्नेगरी पानी खुवाउनु छ । उहिले पहिले आदि अनादिकालमा मञ्जूश्रीले चोभारलाई काटेर पोखरीलाई काठमाडौं बनाए । त्यत्रो त गर्नु परेन अहिलेलाई । यो डाँडो काटेर खोल्सीतिर खसाल्नु मात्र हो । समग्रमा बहुप्रतिष्ठिट, बहुआयामिक, देश, विदेशले जान्नेसम्मको रंगशाला बनाउनु छ । हिजो बनाउनेहरुले जानेर हो वा नजानेर एक रंगको बनाए । जानेर बहुरंगको बनाउनु छ ।
हामी बनाउनेहरु छौँ । अर्काथरि बनाउनुपर्छ भन्ने नाममा हामीभित्रै पसेर बनाउन नदिनेहरु पनि छन् । कहिले नाममा झगडा गर्छन् । कहिले दाममा झगडा गर्छन् । यो हाङदेवा चौक किन राखिस् भन्छन् । बुढीबजु थानको नाम बिगारेर युमासाम्मा थान पारिस भन्छन् । पख न तँलाई । बाँझोलाई मांसेबुङ भनिराख्ने पनि तैँ होस् नि भन्छन् । उनीहरु अनुहार रातो, पिरो पारेर गाली गर्छन् । मलाई पहाडलाई पहाड र हिमाललाई हिमाल भन्न खुब आनन्द लाग्छ । हुन त यो पशुहाटमा गाईबाख्रा बेचेर नाफा खाने व्यापार होइन । सन्तानले कालजयी उपभोग गर्ने संरचना हो । गर्दा राम्रै गर्नु छ । भनौँ न हलो अड्काएर गोरु कुट्नेहरु पनि उत्तिकै छन् । ती तत्तत साथीहरुलाई सम्झाउनु छ, फकाउनु पनि छ । एउटा नामोद विजुवाले मधौरुलाई लागेको लगनलाई हटाउन फलाकेझैँ फलाक्नु छ उनका कानमा । विकासको गतिलाई निरन्तर स्पीडमा लानु छ । हुन त बजेटले, वार्डले, गाउँपालिकाले जिल्ला समन्वय समितिले रंगशाला देखिसकेको छैन । बजेटले रंगशाला देखाउनु भनेको पनि फलामको चिउरा चबाउनुमा खासै फरक पाएको छुइनँ । म केवल भोग्दै छु मात्र । रंगशालाको आकारले दुईसय नाघिसकेको छ । चौडाई एक सय असी नाघेर एकासी पुगिसकेको छ । बाँकी सम्याउने ठाउँ उता आँखाले भ्याएसम्म छ । हाम्रा बाजेहरु इन्द्रलाल, सुभांगी, ठडेली बाबै मिलेर, झोडा फाँडेर विद्यालय बनाएका थिए त्यो युगमा । म नाति पुस्ताकोले एउटा रंगशाला बनाउने कर्ममा तम्सिनु छ ।
हिजो बिहान भर्खरै मात्र धिमाल खोल्सीको वीराराङदेउ, पोखरीको मष्टोबन्झाँक्री देउलाई तिर्तिरेको युमासाम्माङलाई धामीले, धमन्तरीले, ओझाले, बिजुवाले, लामाले, पुरेतले हाम्रो सेवा सावाहरुले पूर्णेको दिन पारेर अक्षेतापाति, फलफुल, नानानैवेद, मेवा, मिष्ठान्नहरु खोजेर पुजा गरे, आराधना गरे । भनिरान् पनि “हामीले तिम्रो आँगनछेउमा रंगशाला बनाइराख्दै छौँ । तिमी बन्दै नरिसाउनू । गोसा नहुनू । बेलामौका पारेर आउँदै दूधको धारा दिन्छौँ । हाकेताकेको पुर्याउनु ।” हामी हेर्नेहरु, देख्नेहरु पूजा गर्न आएकाहरु, प्रसादी खानु आएकोहरु पनि भेला भयौँ र शिवपाञ्चायन मन्दिरको विरहाङ्ग देउलाई ओझा, विजुवा, धामी, धमन्तरी, फेदाङ्बा, गुरुपुरेत, लामा, सेवासवाहरु समेत भएर चयाब्रुङ्ग, झ्याली, शंख, घण्टा, नौमती बाजा समेतले पूजा गर्दै लावालस्करसहित बुकुवा पोखरीको मष्टो वनझाँक्रीलाई पुकार्दै मनायौँ, फकायौँ । जोडजोडले नाच्यौँ । आदिम मन्त्र गुन्गुनाउँदै पोखरीबाट तिर्तिरेको युमासाम्मासँग भेट्न लाग्यौँ ।
रंगशाला प्रवेश गर्दानगर्दै युमासाम्मा खुशी भइछिन् क्यार, आकाशमा बादलका थेग्ला थेग्लीहरु देखा परे । भेला भएका गुरु, पुरेत, लामा, सेवा साबाले तिर्तिरे हाङदेवाको युमासाम्मालाई जोडजोडले बक्साएर जोडी परेवा आकाशमा उडाएपछि पानी पर्नथाल्यो । चैतको खडेरीमा कमिला कुद्ने रतुवाखोलामा भेल, बाढी आइगएछ । प्रसादी खानु आएको साथीहरु पानीमा लड्दै, पड्दै आइपुगे । सेवासावा र देवारीहरु भोगबली गर्ने र फुलफलेदो चढाउने भनेर चर्काचर्की पनि परिगयो ।

जान्नेहरुले सम्झायो– आज हामी पहाडदेखि मदेश बसाइँ आएको दिन, यहाँ त हामीलाई धिमालहरुले यहाँको रैथाने भइबस्दा धिमालटारको विरहाङ देउ, बुकुवा पोखरीको मष्टोबन्झाँक्री र तिर्तिरेको युमासाम्मा पूजा गर्न लगाएको उबेला तर भोगबली नगरेको भनी पठाए । भोगबली गर्ने र नगर्ने भन्नेहरुलाई मलाई भन्न मन लागेको थियो, प्रसिद्ध अंग्रेजी साहित्यकार जर्ज बनावडको भनाई “मन्दिर र पेटलाई चिहान बनाउनु हुँदैन” भनेर । तर केहि भनिनँ । उहिले, पहिलेको हाम्रो बाबुबाजेहरुको च्याब्जुल्याब्जुहरुको जीवनकथा जान्नेले सुनाए । नसुन्नेले सुन्यौँ । टोड्के, कुसुन्डेबाट झरेर, पेरुङ्गेखोला तरेर मावाखोला डिलैडिल देउरालीमा पाती चढाउँदै बुकुवामा बसाइँ सरी आएको । ढाकर बिसाउँदा धिमाल खोल्सीको धिमालहरुले पहाडदेखि आएको आउँदा बाटोभरि दुःख पाएको भनी तिर्तिरेको पानी ल्याई चामलको भात पकाएर अघाउँजी खुवाएपछि धिमाल बुढाले भनेछन्– “तिमी पहाडेदेखि मधेश झरी आयौ । नौ डाँडा, नौ खोला तरी आयौ । यहाँ औलो छ, जोगिनुपर्छ । हात्ती लाग्छ, सर्प लाग्छ । जोगिनु, जोगाउनु । अब झाडी फाँडी आवाधि बनाएर गरिखानु । यो विरराङ देउसँग वर माग्नु । ऊ पर पोखरीमा मष्टो वनझाँक्रीलाई धुप, धुमार नैवेद दिनु । तिर्तिरे, हाङ्देवाको युमासाम्माङलाई पान, सुपारी, नैवेद सँग दुधधारा दिनु । त्यसको वरिपरि दिसापिसाब नगर्नु । फोहोर नगर्नु । अब आइन्दा चैत्र जाँदो बैशाख लाग्दो शुभ दिनमा, शुभ बारमा शुभ तिथिमा, शुभ साइत पारी शुद्ध मनले, शुद्ध वचनले, वर्षेनी युमासाम्माङ बुझाउनु, बक्साउनु” भनेर रासनपानी, ओड्ने, ओछ्याउने दिएर धिमालहरुले उनयो, विनयो, जंगलमा गरेको सहयोगमा बूढा धिमालको सम्झनामा वर्षेनी पूजा हुने हुनाले मैले खुब सम्झेँ, उबेलाको प्रिय धिमाललाई । बुकुवा सिरान हाङदेवाको नवनिर्मित चुलाचुली रंगशालामा ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here