आफैंलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवासलाई जेल

0
240

विराटनगर / हातहतियार तथा खरखजना मुद्दामा धर्मगुरु स्वामी श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नसकिएको भन्दै पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

श्रीनिवासचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट बाहिर लगिएको थियो । त्यस क्रममा उनले आफूलाई फसाईएको दाबी गरेका थिए । कैदीबन्दीको चापका कारण मोरङ जिल्ला कारागारमा राख्न सम्भव नभएकोले उनलाई सुनसरीको झुम्कास्थित कारागारमा लैजाने तयारी गरिएको थियो । तर बिरामीको बहाना गरेपछि उपचारका लागि कोशी अञ्चल अस्पतालमा लगिएको छ ।

हिरासतमा बस्ने अवधिभर उनी अस्पतालको आइसियुमै बसेका थिए । गोली लागेपछि लामो समय न्युरो हस्पिटल बसेर उनले स्वयंले पत्रकार सम्मेलन गरी आफू ठिक भएको भन्दै अस्पतालबाट बाहिरिएका थिए । धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैंले आफैंलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासाचार्यलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । भारतको नयाँ दिल्ली जाने तयारी गर्दागर्दै उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट पक्राउ गरी मोरङ ल्याएको थियो । यस मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । बाराको सिमरा ३ घर भई सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्दै आएका आचार्य विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएको बेला आफ्नै योजनामा आफैंमाथि गोली प्रहार गरी धार्मिक हिंसा फैलाउने प्रयत्न गरेको बताइएको छ ।

गोली हान्ने पनि जेल चलान यसैबीच श्रीनिवासाचार्यको निर्देशनमा उनलाई गोली हान्ने अगंरक्षक चितवन भरतपुर–४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि पूर्पक्षको लागि कारागार चलान गरिएको छ । थुनछेक बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठक र प्रतिवादीकोतर्फबाट वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ता मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए । चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here