दमकमा सहकारीका पीडितहरु न्याय खोज्दै, सर्वसाधारणको करोडौ बचत जोखिममा

0
1085

दमक   / झापाको दमकमा नगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरुले नगरपालिकालाई अटेर गरेका छन् ।

यहाँ सञ्चालित बचत तथा ऋण , कृषि, बहुउद्धेश्यीय लगायतका विभिन्न प्रकारका ७५ वटा भन्दा बढी सहकारी संस्थाहरुले संघीय , प्रदेश र स्थानीय सरकारले बनाएका सहकारी सम्बन्धि नियम तथा कानुनको उल्लंघन गरिरहेका हुन् ।

नियमित रुपमा सञ्चालन हुँदै आएका संस्थाहरुले बार्षिक रुपमा हरेक आर्थिक बर्षको ६ महिना भित्र अनिवार्य रुपमा बार्षिक साधारण सभा गरी , साधारण सभाको निर्णय पुस्तिकाको एकप्रति नगरपालिकाको सहकारी शाखामा बुझाउनु पर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने, मासिक रुपमा वित्तिय कारोबारको विवरण बुझाउनु पर्ने र चुनावी साधारण सभा भए निर्वाचित समितिको नामावली पेश गर्नुपर्ने लगायतका व्यवस्था भएपनि दमकमा सञ्चालित नगरको नियमन तथा रेखदेखको क्षेत्राधिकार भित्र रहेका ९० बढी सहकारी मध्ये चालू आर्थिक बर्षमा हाल सम्म १६ वटाले मात्रै त्यस्तो विवरण बुझाउने गरेका नगरपालिकाका सहकारी प्रमुख इच्छाराम चौलागाइँले बताउनु भयो । स्थानीय सरकार सञ्चालनमा आएको अढाई बर्ष वितेपनि सहकारी संस्थाहरुले स्थानीय सरकारलाई अटेर गरिरहेका छन भने स्थानीय सरकार र सरकारका अधिकारीहरुले पनि सहकारीमाथि एक्सन लिन खोजेका देखिँदैनन् ।

नारायणी र स्वर्गपुरी सहकारीका पीडितहरु न्याय खोज्दै

पर्याप्त नियमन र अनुगमनको अभाजमा दमकमा सञ्चालित सहकारी संस्थाहरुले बचत कर्ताहरुको रकम ठगी गर्ने क्रम बढ्दो छ । पछिल्लो समय दुई वटा सहकारी संस्थाहरुले बचत फिर्ता नगरेको समाचार बाहिर आईसकेको छ भने आधा दर्जन सहकारीहरु बचत कर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा गुज्रिरहेका छन् । सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले नै संस्थाबाट ठुलो रकम ऋण लिएपछि कतिपय सहकारीका बचत कर्ताहरुले आफ्नो बचत रकम फिर्ता पाउन नसक्ने अवस्था आएको जानकारहरुको भनाई छ ।

नारायणी बचत तथा ऋण सहकारी संस्थाले दमक ६ स्थित घिमिरे मार्केट नजिकैको एक घरमा कार्यालयको बोर्ड समेत नराखी कार्यालय सञ्चालन गरी आएको र सो संस्थामा बचत गरेका बचतकर्ताहरुको लाखौं रुपैयाँ निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरु हार गुहार मागिरहेका छन् ।

सो सहकारीमा आफ्नो, आफ्नी श्रीमति र छोराछोरीका नाममा समेत करीब १३ लाख रुपैयाँ बचत गरेर त्रैमासिक रुपमा ब्याज रकम बुझ्दै आउनु भएका दमक ८ का टिका भट्टराईले पछिल्ला केहि दिनयता बचत रकम फिर्ता लिन खोजेपनि पाउन नसकेको बताउनु भयो । उहाँले बचत रकम फिर्ता दिलाउने निकाय कुन हो र कसरी फिर्ता लिन सकिन्छ ? भन्ने बारेमा आफूलाई जानकारी नहुँदा दिनहुँ कार्यालय सम्म आउने, नगरपालिकाको सहकारी फाँटमा पुग्ने र गुनासो राख्ने बाहेक केहि गर्न नसकेको बताउनु भयो । सोही सहकारीमा आफ्ना छोरा छोरीले कमाएर पठाएको १२ लाख रुपैयाँ बचत गरेको बताउने कोहबरा बालुवथान स्थायी घर भएकी सरस्वती घिमिरेले १६ प्रतिशत ब्याज पाउने आशामा राखेको बचत रकम फिर्ता पाउन नसकेको बताउनु भयो । सोही संस्थामा २ लाख रुपैयाँ हाराहारीमा बचत गरेर ब्याज लिँदै आउनु भएका बृद्ध नन्दलाल आचार्यले पनि संस्थामा गरेको बचत रकम फिर्ता पाउन नसकेको गुनासो गर्नुभयो ।

सो सहकारीका करीब १५ जना पीडित बचतकर्ताहरु आज दमक नगरपालिकाको सहकारी शाखामा गएर आफ्नो समस्या सहकारी शाखाका प्रमुख इच्छाराम चौलागाइँसंग राखेपछि उहाँले नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर समस्या राख्न सुझाउनु भयो । तर पीडितहरुले नगर प्रमुख रोमनाथ ओली काम विशेषका कारण विराटनगर जानु भएको जानकारी पाएको र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा उहाँँलाई भेट्न नसकेको गुनासो गर्नु भयो ।

नारायणी सहकारीको सञ्चालक समितिका अध्यक्षसहित बहुमत पदाधिकारीहरुलाई बचत कर्ताहरुले भेट्न सकेका छैनन भने दुई जनासंग भेट भएपनि आफूहरुले मात्रै सो रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पाएका छन् ।

निष्कर्ष न्यूजको टिम सो सहकारीको कार्यालयमा पुग्दा कार्यालय भित्र निक्षेप फिर्ता माग्न आउनेहरु मात्रै थिए । कार्यालय खुल्ला रहेपनि कार्यालयका व्यवस्थापक भुपालमान कार्की कार्यालयमा भेटिनु भएन । उहाँले सहकारीमा रहेको समस्या सुल्झाउने प्रयास भईरहेको भन्दै आफू २÷३ दिन यता कार्यालयमा नरहेको र काम विशेषले चन्द्रगढी पुगेको बताउनु भयो । बचत कर्ताहरुले भने व्यवस्थापक कार्कीसंग भेट भएपनि गैह्रजिम्मेवारपूर्ण जवाफ दिने, अल्मलाउने प्रयास मात्रै गर्ने गरेको आरोप लगाएका छन् ।

त्यसैगरी दमकस्थित शंखधर चोक नजिकै घर भाडामा लिएर करीब १८ महिना अघिदेखि सञ्चालनमा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाले बचत गरेका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेपछि कार्यालयनै बन्द भएको छ ।

सो सहकारी सञ्चालनमा आए यता बचत गरेका सर्वसाधारणले आफ्नो निक्षेप फिर्ता पाउन नसकेपछि अहिले हारगुहार गरिरहेका छन् । सो सहकारीका सञ्चालक समिति अध्यक्ष धिरज बुढाथोकीको निधन भईसकेको र व्यवस्थापकले मनोमानी रुपमा सहकारी सञ्चालन गरिआएको एकपक्षको आरोप छ ।

गौरीगञ्ज घर बताउने राजवंशी थरका ति व्यवस्थापकको आधिकारिक परिचय थाहा हुन सकेको छैन । तर ३ ÷ ४ दिन यता सो सहकारीमा दिनहुँ बचत फिर्ता लिने बचतकर्ताहरु जाने गरेका र कार्यालय बन्द अवस्थामा भेट्ने गरेका छन् ।

आफूहरुले यस अघि सहकारीका कलेक्टर चिनजानका भएका कारण बचत गर्ने गरेको , बचत रकम फिर्ता माग्दै पसलमै ल्याइदिने गरेकाले विश्वासमा परेर सहकारीका व्यवस्थापक , सञ्चालक कसैसंग सम्पर्क नगरी बचत गर्ने गरेकोमा तीन ÷ चार दिन यता कार्यालयनै नखुलेपछि आश्चर्यमा परेको बचतकर्ताहरुको भनाई छ ।

जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा पछिल्लो समय दमकको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका बचत कर्ताहरुको करीब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको अवस्थामा कार्यालय बन्द रहेको पाइएको तर कोहि पनि पीडितहरु बचत फिर्ता पाउँ भन्दै कुनै पनि सरकारी तथा सहकारीका निकाय÷संघ संस्थाहरुमा नपुगेको ओझाले बताउनु भयो ।

दमक नगरपालिकाको सहकारी विभागका प्रमुख इच्छाराम चौलागाइँले स्वर्गपुरी बचत तथा ऋण सहकारी दमकमा सञ्चालित भएपनि त्यसको नियमन, अनुगमन गर्ने जिम्मेवारी भित्र दमक नगरपालिका नपर्ने तर्क गर्नुभयो ।

उहाँले सो सहकारी दमक बाहिर समेत कार्यक्षेत्र भएको सहकारी हुनाले त्यसको नियमन प्रदेशबाट हुने भन्दै दमक नगरपालिका कोही बचत कर्ताहरुको बचत फिर्ता गराउने, ऋण असुल गरिदिने निकाय नभएको र पीडितहरु सम्बन्धित निकायमा जानुपर्ने तर्क गर्नुभयो । उहाँले प्रदेश सरकारले सो बिषयमा अनुगमन तथा नियमन गर्न स्थानीय सरकारलाई समेत सहभागी गराएको अवस्थामा मात्रै दमकले सहभागिता जनाउने बताउनु भयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here