‘गोल्डेन भ्याली’ पनि सुन्तला उत्पादन घट्दै

0
509
DIGITAL CAMERA

इलाम १९ मंसिर / जिल्लाका अधिकांश क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला धेरै उत्पादन हुने भएकाले ‘गोल्डेन भ्याली’ उपनाम पाएको रोङको जिर्मलेस्थित सलकपुरमा पनि सुन्तला उत्पादन घट्दै गएको छ ।

सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिएको सलकपुरमा गत वर्षको तुलानामा आधा उत्पादन घट्ने किसानले बताएका छन् ।

मौसमी रोग, किराको प्रकोप, सुन्तलाको चिचिला लागेका बेला असिना आउनु र कृषकलाई सुन्तलाको मलखाद र विषादी प्रयोगको ज्ञान नहुनुले पनि उत्पादन घट्ने निश्चित भएको कृषक बताउँछन् । पुराना बोटमा रोगको संक्रमण डढेलोजस्तो सल्किँदै गएको छ । यसे वर्ष कतिपय कृषकले ७० प्रतिशतसम्म उत्पादन घट्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

सुन्तला फल्न थालेपछि घरघर आएर बगान नै बिक्री गरिने यो स्थानमा अधिकांश बगानको मोल आधा मात्र गरिएको स्थानीय टंक थापाले बताए । किसानका अनुसार गत वर्ष १० लाख रुपैयाँमा बिक्री भएका सुन्तलाका बगान यो वर्ष मुस्किलले ५ लाख रुपैयाँमा मात्र बिक्री हुने अवस्था आएको छ ।

पछिल्लो समय सुन्तलामा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तला टुप्पोबाट सुक्दै जाने, पात पहेंलिने र बोटै पूरै सुक्ने समस्याले सुन्तलाको उत्पादन घटेको हो । सलकपुरमा मात्र हैन, यो वर्ष इलाम जिल्लामै सुन्तलाको उत्पादन घट्ने अवस्था देखिएको साबिक जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने इलामनगरपालिका, नामसालिङ, सोयाङ, गोदकलगायत स्थानमा सुन्तलाको उत्पादनमा कमी आएको छ । गत वर्षहरू जस्तो यो वर्ष बोटमा दाना नै कम लागेको कृषकको भनाइ छ । रोगको संक्रमणले हरेक बगानमा बोट सुक्ने क्रम पनि उस्तै छ ।

जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलमा सुन्तला बगान रहेको छ । ‘रोगका कारण सबै बगान मासिए पछि नयाँ लगाउने क्रममा छौं,’ माइजोगमाई ६ प्याङका दीपक नेपालले भने, ‘केही वर्षअघि सुन्तलाको बिक्रीबाट वर्षभरि खान पुग्ने आम्दानी हुन्थ्यो तर अहिले अधिकांश कृषकको अवस्था दयनीय भएको छ ।’

सुन्तलामा लाग्ने रोगलाई जोगाउनका लागि जिर्मलेका किसानले सुन्तलाको बोटमा नेटसमेत लगाउन थालेका छन् ।

सुन्तलाको दानामा किराले आक्रमण गरेर फल कुहिने भएपछि त्यसको विकल्पमा कृषकले जाली खरिद गरेर लगाउने गरेका छन् । महँगो पर्ने भए पनि अरू उपाय नभएकाले जाली लगाउन थालिएको स्थानीय लाखमान तामाङले बताए । जिर्मले क्षेत्रमा परीक्षणका लागि योवर्ष डेढ दर्जन बोटमा जाली लगाइएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here