आज अपाङ्गता दिवस मनाइँदै

0
157

काठमाडौं, मङसिर १७ गते / अपाङ्गता भएका व्यक्तिको पीडा भने ज्यूँकात्यूँ छ, तर औपचारिकताका लागि सोमबार २७ औं विश्व अपाङ्गता दिवस मनाइँदैछ छ ।
समाज कल्याण परिषद्का अनुसार अपाङ्गताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार पाँच सय छन्, तीमध्ये पाँच सय मात्रै सक्रिय रूपमा काम गरिरहेका छन् ।
सरकारी र गैरसरकारी क्षेत्रले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन नआएको अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले बताउने गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुर्दशन सुवेदीले महासंघले पछिल्ला केही वर्षयता अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि दुर्गम गाउँमा गएर उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सशक्त बनाउने कार्यक्रम सञ्चालन गर्दै आए पनि पर्याप्त नभएको बताउनुभयो ।
अपाङ्गताका नाममा क्रियाशील केही संस्थाले बद्नाम गरे पनि सबैलाई एउटै डोकोमा हालेर तुलना गर्न नमिल्ने बताउँदै उहाँले भन्नुभयो, ‘कतिपय संस्था यस्ता छन् जसले अपाङ्गता भएका व्यक्तिको जीवनमा नसोचेको परिवर्तन ल्याउने गरी काम गरेका छन् ।’
राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको करिव पाँँच लाख जना अपाङ्गता भएका व्यक्ति छन् । विश्व बैँक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा सार्वजानिक गरेको प्रतिवेदनले विश्वको कूल जनसंख्याको १५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपाङ्गता भएको उल्लेख छ ।
अझै पनि अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक पुनःस्थापना, सशक्तिकरण, चेतना लगायतका बारेमा राज्य मौन रहँदा अपाङ्गता भएका व्यक्ति खुलेर समाजमा आउन नसकेको बताउँदै महासंघका अध्यक्ष सुवेदीले भन्नुभयो, “ग्रामीण दुर्गम भेगका कतिपय अपाङ्गता भएका व्यक्तिहरुको पहिचानसमेत हुन सकेको छैन ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले राज्यले सबै अपाङ्गता भएका व्यक्तिहरुलाई तथ्यांकमा समेटिनुपर्ने भन्दै यस वर्षको राष्ट्रिय नारामा उनीहरूको गणनालाई जोड दिएको बताउनुभयो । उहाँले अपाङ्गता विषयमा तथ्यांक संकलनमा हुने प्राविधिक जटिलता, जनचेतनाको अभाव, अपाङ्गता भएका व्यक्तिलाई गणना नगर्ने, उनीहरुलाई लुकाउने प्रवृत्तिलगायतका कारण धेरै अपाङ्गता भएका व्यक्ति विगतका गणनामा छुटेको हुनसक्ने भएकाले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा यथार्थ संख्या आउने गरी अभियान सञ्चालन गर्न लागेका जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्याे । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चित’ गरिएको छ । नेपालमा भने अन्तर्राष्ट्रिय नारासँगै ‘मलाई गणना गर, समावेश गर’ भन्ने नारा तय गरेर अपाङ्गता भएका व्यक्तिको गणनालाई केन्द्रित गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here