पाथीभरामा चार महिनामा ५० लाख रुपैयाँ संकलन, धाम आसपास क्षेत्रको विकासमा खर्च गरिने

0
349

मंसिर १३, २०७५, ताप्लेजुङ / प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रतिमहिना १२ लाख रुपैयाँभन्दा बढी भेटी उठ्ने गरेको छ ।

पछिल्लो चार महिनामा ५० लाख रुपैयाँ संकलन भएको भेटिघाटी व्यवस्थापन समितिले जनाएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ र सुन, चाँदीलगायतका गहना बिक्री गर्न बाँकी छ ।

सबै सटही गर्दा ६० लाखभन्दा बढी हुने अनुमान समितिको छ । समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार साउनदेखि कात्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिसकिएको छ । पाथीभरामा असोज कात्तिकमा अधिक तीर्थयात्री जाने गरेका छन् ।

दसैं र चैते दसैंको समयमा धेरै भीड लाग्छ । चिसो हुने भएकाले पुस र माघमा भने तीर्थयात्रीको संख्या कम हुने गरेको छ । यो समयमा माथिल्लो फेदीसम्म हिउँ खेल्नेको भने भीड लाग्छ । हिउँ पर्ने सिजनमा माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मनै हिउँले ढाक्छ ।

तातो पलाएसँगै फागुनदेखि सुरु हुने यात्रा जेठसम्म रहन्छ । जेठपछि वर्षा, झरीका कारण भदौसम्म फाट्टफुट्ट मात्रै तीर्थयात्री आउने माथिल्लो फेदीका व्यवसायी बताउँछन् ।

पाथीभरामा संकलित भेटी अहिलेसम्म यही क्षेत्रको विकासमा लगानी हुँदै आएको छ । पैदलमार्ग बनाउने, मोटरबाटोको गुणस्तर सुधार गर्ने, विद्युत विस्तार गर्ने, खानेपानी व्यवस्थापन गर्ने, धर्मशाला बनाउने, स्वास्थ्य सेवा प्रवाह गर्ने जस्ता काममा प्रयोग हुँदै आएको समितिका पदाधिकारीहरू बताउँछन् । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here