डा. विजयकुमार पौडेल
नेपालको कम्युनिष्ट आन्दोलनमा नैतिकता सम्बन्धी अत्यन्त साँघुरो र कतिपय सन्दर्भमा भ्रामक मानसिकता कायम रही आएको छ । नेपाली समाज बरु यस मामिलामा अलि बढी उदार छ, तर मैले भन्नै पर्दछ कम्युनिष्ट आन्दोलन यस मामिलामा नेपाली समाजभन्दा धेरै पछाडि छ ।
अब परिभाषित गर्ने प्रयास गरौं– के हो कम्युनिष्ट नैतिकता ?
जे गर्दा, बोल्दा–लेख्दा, आम श्रमजिवी जनताको हित हुन्छ, कम्युनिष्ट आन्दोलनको हित हुन्छ, देशको हित हुन्छ र समग्रतामा भन्नुपर्दा सम्पूर्ण मानवसमाजको हित हुन्छ, त्यही गर्नु नै अहिलेको युगमा कम्युनिष्ट नैतिकता हो । समाजलाई निरन्तर प्रगतिशीलतातिर उन्मुख गराउने गतिविधिमा लाग्नु कम्युनिष्ट नैतिकता हो । जे गर्दा मानव र प्रकृतिको उचित तालमेल हुनसक्छ, त्यही गर्नु कम्युनिष्ट नैतिकता हो । जे गर्दा कम्युनिष्ट आन्दोलनलाई नोक्सान हुन्छ, समाजमा प्रतिगमन हुन्छ त्यो कम्युनिष्ट मापदण्डमा अनैतिक हुन्छ । अहिलेको युगलाई सहि दिशा दिनसक्ने विचारधारा कम्युनिष्ट विचारधारा हो । कम्युनिष्ट आदर्शले युक्त बलियो पार्टीले मात्रै मानवसमाजलाई सही दिशा दिनसक्छ । पार्टी बलियो हुन सामूहिकता चाहिन्छ । सामूहिकतामा एकता नै कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त हो । पार्टीको नाम ‘कम्युनिष्ट’ राख्दैमा केही हुँदैन, नाम अनुसार आचरण चाहिन्छ । ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’ को विधि नै कम्युनिष्ट एकता कायम गर्न सकिन्छ ।
भियतनामका राष्ट्रपिता तथा प्रथम राष्ट्रपति हो चि मिन्हले भन्नुभएको छ–
‘आम श्रमजीवी जनसाधारणसंग एक मन एक शरीरजस्तो भएर एकाकार हुने, जनतालाई विश्वास गर्ने, उनीहरुका कुरा गंभिरतापूर्वक सुन्ने र मनन गर्ने प्रक्रियामा नै क्रान्तिकारी नैतिकता सन्निहित रहेको हुन्छ, श्रमजीवी जनताको निरन्तर सेवा गर्नु तथा कहिल्यै पनि उनीहरुलाई धोखा नदिनु नै क्रान्तिकारी नैतिकता हो । ‘क्रान्तिकारी नैतिकता आकासबाट झर्दैन, हरेक कार्यकर्ताले आफैंभित्र यसलाई जन्माउनु पर्दछ । दैनिक जीवनका संघर्षबाट खारिने क्रममा नै यो विकसित हुन्छ । सुनलाई जति खार्यो उति शुद्ध भएजस्तै समाज परिवर्तनको कठोर संघर्षमा खारिने क्रममा नै क्रान्तिकारी नैतिकताका मापदण्डहरु सिर्जना हुन्छन् ।’ (‘अन रेभुलुशनरी मोरालिटी’, सेलेक्टेड वक्र्स अफ हो चि मिन्ह (अंग्रेजी),(न्यु योर्कः प्रिज्म की प्रेस, २०११), पृ.७ ।
यसै गरी लेनिनले भन्नुभएको छ–
‘संघर्षको क्रममा सर्वहारा वर्गको हित रक्षा नै हाम्रो सम्पूर्ण नैतिकता हो । वर्ग संघर्षका क्रममा सर्वहारा वर्गको हित रक्षा गर्दै अगाडि बढ्दा हाम्रो नैतिकताको उत्पत्ति र विकास हुन्छ ।’ (द टास्क अफ युथ लीग’, कलेक्टेड वक्र्स, भोलुम– १४, (अंग्रेजी), (मस्कोः प्रोग्रेस पब्लिशर्ष, सन् १९८२), पृ.११५) ।
हरेक युगका आ–आफ्नै नैतिक मानक या मूल्य हुने गर्छन् । हरेक युगका आ–आफ्नै विचारप्रणाली हुन्छन् र यसै हिसाबले हरेक विचारप्रणालीका पनि आ–आफ्नै नैतिकतासम्बन्धी मूल्य–मान्यता हुन्छन् । दास युगमा दास राख्नु कुनै अनैतिक कुरा थिएन । वंशानुगत राजतन्त्र र जमिन्दारी शासन सामन्ती युगको नैतिकता थियो । जे–जसरी हुन्छ मुनाफा कमाउनु, पैसा थुपार्नु र त्यसका लागि राज्यसत्ताको उपयोग गर्नु पुँजीवादी नैतिकता हो । धनी र गरीबका बीचमा असमानता कायम रहन दिनु या वर्ग विभेद कायम राख्नु पनि पुँजीवादी नैतिकता हो । ‘विकास’ सम्बन्धी अवधारणा होस् वा ‘लोक कल्याणकारी कार्यक्रम’ को कुरा होस् पुँजीवादी सरकारको मूल ध्येय शोषणयुक्त पुँजीवादी ब्यवस्था टिकाउनु हो । पुँजीवादमा गरीबी निवारण या गरीबी न्युनीकरण को कुरा गरिन्छ, वर्गभेद मेटाउने कुरा गरिन्न । ब्यक्तिगत सम्पत्तिमा निरन्तर बढोत्तरी गर्न पाउने ब्यवस्था र त्यसले सिर्जना गर्ने चरम व्यक्तिवाद पुँजीवादी नैतिकताका कुरा हुन् ।
महिलाहरुलाई खुला बजारको बिक्रीको वस्तु बनाइनु पुँजीवादका लागि ग्राह्य र नैतिक छ । महिलाहरुलाई बजारमा नांगो बनाउनु, ‘को भन्दा को राम्री ?’ भन्दै सौन्दर्य प्रतियोगिता गराउनु र त्यस मानावताको कलंकित परंपरालाई भब्य समारोहको रुप दिनु नैतिक छ पुँजीवादी समाजमा । यहाँसम्म कि पुरुषको दाह्री फाल्ने ब्लेडको प्रचारमा पनि महिलाको सौन्दर्य बेचिन्छ । अरु के कुरा गर्नु, यौन जस्तो नितान्त निजी विषयलाई पनि पुँजीवादी कानुनले खरिद बिक्रीको विषय बनाइदिन्छ । पुँजीवादी ब्यवस्थाले आफ्नो वैचारिक प्रभाव यसरी कायम गरेको छ कि कतिपय कम्युनिष्ट पार्टीको लाइसेन्स लिएका नेताहरु नै यौन ब्यवशायलाई बैधानिक बनाउँदा समाजको हित हुने कुरा गर्दछन् । सौन्दर्यको आभाष या सौन्दर्यबोध पनि वर्गीय हुन्छ भन्ने कुरा गहिरिएर विश्लेषण गर्दा थाहा हुन्छ । उदाहरणका लागि सामन्ती युगमा कृषि र पशुपालनको प्रधानता थियो । शक्ति चालित यन्त्र–उपकरण थिएनन्, मानव वा पशुको श्रमबाट चल्ने सरल औजार मात्र थिए । यस्ता उत्पादनका काममा बढीमात्रामा शारीरिक श्रमको आवश्यकता पर्दथ्यो । यसैले आमरुपमा मोटो–घाटो पुरुष वा मोटी–तगडी महिला ‘राम्रो’ या ‘राम्री’ मानिन्थे । पुँजीवादमा बढीमात्रामा मेशिनको प्रयोग हुन्छ, शारीरिक श्रमको मात्रा घट्दै जान्छ । यसैले पुँजीवादी शहरको सभ्यताले पातलो वा ‘स्लिम’ शरीरलाई राम्रो देख्छ ।
खाना सम्बन्धी मापदण्ड त वर्गीय हुन्छ, अरु के कुरा गर्नु ! पुँजीवादी समाजमा आमरुपमा गरीब परिवारका मानिासहरु बोसोयुक्त मासु या बढी चिल्लो खाना रुचाउँछन्, धनीले त्यसको विपरित बोसो नभएको मासु वा कम चिल्लो खाना रुचाउँछ । यहाँ भन्न खोजिएको कुरा हो– पुँजीवादी हुनु र समाजवादी हुनु आधारभूतरुपमै भिन्न मानिस हुनु हो । यही भिन्नता हराउँदै जाँदा आज कम्युनिष्ट र गैरकम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताका बीचमा भिन्नता देखिन छोडेको छ । ब्रांण्ड बाहेक को कम्युनिष्ट हो र को हैन भनेर छुट्याउन नसकिने अवस्था हुनु ज्यादै दुःखद छ । आन्दोलनलाई धोखा दिनु, सरकारी पद वा राजनीतिक हैसियतको दुरुपयोग गरेर विनापरिश्रमको धन आर्जन गर्नु वा घुस खानु, भडकिलो जीवनशैली अपनाउनु, पैसाको प्रभावमा परेर निर्णय लिनु, आदर्शका बनावटी कुरा गर्नु र ब्यवहार त्यसको ठीक विपरित गर्नु कम्युनिष्ट नैतिकताका हिसाबले पतित कुरा हुन् । कम्युनिष्ट पार्टीभित्र पुँजीवादी प्रभाव बढ्दै जाँदा पतनका सबै कुरा सामान्य बन्न थालेका छन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेको मानिसलाई पार्टीबाट कार्वाही गरिनुको साटो ‘इज्जतिलो नेता’ मानिनु भनेको कम्युनिष्ट नैतिकताको खडेरी परेको अवस्था हो ।
कम्युनिष्ट नैतिकतालाई यसको खास र विस्तृत अर्थमा बुझाइएको छैन । यसैले हाम्रो कार्यकर्ता पंक्ति यौनिक विषयलाई मात्रै नैतिकताको कसी मान्दछ । निसन्देह रुपमा कम्युनिष्ट कार्यकर्ता शारिरिक या दैहिक (देह सम्बन्धी) नैतिकताको क्षेत्रमा पनि खरो हुनु पर्दछ तर समग्र नैतिकताको कसी त्यही एउटा कुरा मात्रै मान्नु नितान्त गलत छ । तर विडम्बना छ– आजसम्म कम्युनिष्ट आन्दोलनमा अधिकांश कार्वाहीहरु जे–जति भए ती मध्ये अधिकांश दैहिक विषयमा नै भएका छन् (अचेल त त्यो पनि हराउन थालेको छ) । आन्दोलनमा पुर्याइएको घाटा, अस्वाभाविक जीवनशैली, राजनीतिक बेइमानी, भ्रष्टाचार जस्ता विषयमा कम्युनिष्ट पार्टी भित्र कहिल्यै कार्वाही भएन, अहिले त्यस्ता विषयमा ध्यान जान पनि छोडेको छ । केही मानिस जुटेर वैचारिक छलफल गरे भने त्यसले कतिपयको टाउको दुखाउँछ तर भ्रष्टाचार र पदीय दुरुपयोगको कुरा छलफल नै हुन छोडेको छ । यो भनेको कम्युनिष्ट नामको पनि उपहास हो । श्रमको उच्च सम्मान, निर्णयमा सामूहिकता, निश्चित पद्धतिको पालना, हरेक निर्णयमा जनहितको खोजी वा ठम्याई, सादा जीवनशैली, आम श्रमजीवी जनताको हित साधना वा वर्गीय आचरण, प्रगतीशील राष्ट्रवाद, पार्टीभित्र समानताको वातावरण, ब्यवस्थित वा वैज्ञानिक मूल्यांकन प्रणाली, सामाजिक–सांस्कृतिक नैतिकताको उच्च पालना, कम्युनिष्ट संस्कृतिको निरन्तर निर्माण र परिस्कार जस्ता कुराहरु नै कम्युनिष्ट नैतिकताका मानकहरु हुन् ।
जनताले कम्युनिष्ट पार्टीका मानिसलाई उच्च नैतिकतायुक्त देख्न चाहन्छन् । असल कार्यकर्ताहरु आफ्ना नेताहरुलाई आदर्श नैतिकताका प्रतिक भैदिउन् भन्ने चाहन्छन् । त्यस्तो हुन नसकेपछि कार्यकर्ताहरु नेताबाट र जनता पार्टीबाट टाढिन थाल्छन् । कम्युनिष्ट नैतिकताले मात्रै अहिलेको समाजलाई सही दिशा दिन सक्छ । भ्रष्टहरु संरक्षित हुन थालेपछि समाजमा प्रतिगमन शुरु हुन्छ । भ्रष्टहरु किन पुरस्कृत भैरहेका छन ? भ्रष्टाचारको विरुद्धमा देशब्यापी आवाज नउठ्नु भनेको कम्युनिष्ट पार्टीलाई अनैतिकताको धमिरोले खाँदै गरेको अवस्था हो । साभार जनता समाचार .