नमूनामा परेका झापाका विद्यालयलाई कार्ययोजना बुझाउन मन्त्रालयको निर्दैश

0
510

दमक, ३१ भाद्र / शिक्षा कार्यालयले झापाबाट छनौट भएका ८ विद्यालयलाई बार्षिक कार्ययोजना बनाई तत्काल मन्त्रालयमा पेश गर्न निर्देश गरेको छ । झापाका ३ सय ६५ सामुदायिक विद्यालय मध्ये दमकको हिमालय, गौरादहको प्रगति, कनकाईको कनकाई, बिर्तामोडको महेन्द्र रत्न, मेचीनगरको धुलाबारी, हल्दिबारीको हल्दिबारी, कचनकवलको लक्ष्मीप्रसाद देवकोटा र झापाको डिल्लीराज मावि नमुना विद्यालयका रूपमा छनोट भएका हुन् । विश्व बैंकको सहयोगमा नेपाल सरकारले नमुना विद्यालय निर्माण गर्ने योजनाअन्तर्गत छनोट भएका विद्यालयलाई कार्ययोजना बनाएर पेश गर्न भनेपछि छनौट भएका विद्यालय प्रशाशनले कार्य योजना बनाउन शुरु गरेका छन् ।
नमुना विद्यालय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयबाट प्रत्येक विद्यालयलाई डेढ करोड रुपैयाँका दरले बजेटसमेत निकासा भइसकेको छ । शिक्षा विभागले जारी गरेको ‘नमुना विद्यालय व्यवस्थापन निर्देशिका’ बारे राम्ररी ज्ञान नहुँदा जिल्लाका विद्यालयहरूले यसअघि निकै ठूलो बजेटको कार्ययोजना पेस गरेका थिए । विभागले उक्त कार्ययोजनालाई अस्वीकृत गरी संशोधन गर्न निर्देशन दिएको छ ।
जिल्लाका अधिकांश विद्यालयमा भौतिक पूर्वाधारको कमीले पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरूले बताएका छन् । विद्यालयहरूमा पर्याप्त कक्षा कोठा, शौचालय, पार्किङस्थल, प्रशासनिक भवनको अभाव । तर, नमुना विद्यालयमा छनोट भएकाले सरकारले ६५ प्रतिशत भौतिक पूर्वाधार, २५ प्रतिशत शिक्षण र १० प्रतिशत व्यवस्थापनमा खर्च गर्न मिल्ने गरी बजेटको व्यवस्था गरेको छ ।
छनौटमा परेका विद्यालयमा अव छात्र र छात्राको छुट्टाछुट्टै होस्टेल, ल्याव, लाइबेरी, विद्यार्थी संख्याको आधारमा कक्षा कोठा, पर्याप्त शिक्षक, पठनपाठनमा आवश्यक प्रोजेक्टर, स्मार्ट बोर्ड, ल्यापटप, सेमिनार हल, गार्डेन, चिल्ड्रेन पार्कलगायतका भौतिक एवं शैक्षिक सामग्रीहरू मन्त्रालयले उपलब्ध गराउने योजना छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here