७७ वटै जिल्ला घुमेको छु,जनताका संस्कृति देख्या छु, भाषा सुनेको छु , अब देश बनाउँछु – प्रधानमन्त्री

0
329

गौरादह/ प्रधानमन्त्री केपी ओलीले जतिसक्दो चाँडो देश समृद्ध बनाउने बताएका छन् । ‘मैले जेल देख्या छु, नेल भोग्या छु, लात खाएको छु, सलाम पनि खाएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘देश–विदेश देख्या छु, ७७ वटै जिल्ला घुमेको छु, ती जिल्लाका भूगोल, त्यहाँका जनताका संस्कृति देख्या छु, भाषा सुनेको छु, मैले नेपाललाई जतिसक्दो चाँडो सम्वृद्ध देश बनाउनु छ ।’

प्रधानमन्त्री ओलीले अब कसैको खेलले पनि सरकार नहल्लिने बताएका छन् । सुदृढ र स्थिर सरकार बनेकाले बहुमत र स्थितरताको सदुपयोग गर्दै आफूले देश विकास गर्ने प्रधानमन्त्रीले बताए ।

बुधबार गृहजिल्ला झापास्थित आफू निर्वाचित क्षेत्रमा आयोजित कार्यक्रममा उनले देशकै सबैभन्दा बढी मतले विजयी भएको बताए । मतदातासँग उनले प्रधानमन्त्री भएपछि बारम्बार आइरहन नपाए पनि मन मस्तिष्कमा सबैलाई समेटेको प्रतिक्रिया दिए ।

‘म देश र जनताका लागि काम गर्छु, मैले केही कमाउनु छैन,’ गौरादह नगरपालिकाले प्रधानमन्त्रीलाई गरेको नागरिक अभिनन्दनपछि प्रधानमन्त्री ओलीले भने, ‘एकढंगले म राजनीतिक जोगीजस्तै हुँ, धेरै कुरामा मौका पाएको छु, स्वास्थ्यका हिसाबले पनि, राजनीतिक हिसाबले पनि ।’

आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा बहुमत नभएकाले राम्रा काम गर्दागदै हट्नुपरेको जिकिर गरे । ‘तपाईंहरुले अहिले हटाउन नसक्ने स्थिति बनाएर पठाउनु भएको छ, अब कुनै खेल र तिकडमले काम गर्नेवाला छैन,’ उनले भने ।

सरकारले सुशासन र विकासको बाटो समातेको बताउँदै प्रधानमन्त्री ओलीले कानुनविपरित कसैलाई दुःख दिने, झुटा मुद्दामा फँसाउने तथा विपक्षीलाई दुःख दिने ढंगले सरकार अघि नबढ्ने प्रष्ट पारे । ‘कुनै पार्टीलाई भोट दिएवापत, कुनै विचार बोकेबापत, कुनै पार्टीमा लागेबापत अहिलेको सरकारले भेदभाव गर्दैन,’ प्रधानमन्त्री ओलीले भने,‘हरेक नागरिकले बिना भेदभाव उत्तिकै हक राख्दछन्, एउटालाई माया गर्नु अर्कालाई दुःख दिनु भनेको मनमा राक्षस पस्नु हो ।’

वर्तमान सरकार सुशासन, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्दै जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने बाटोमा अघि बढेको प्रधानमन्त्रीको भनाइ थियो । कुनै कार्यालयमा जाँदा कर्मचारीले नागरिकलाई अलिकति पनि ढिला गरेर दुःख नदिन निर्देशन दिए ।

कर्मचारीहरु राष्ट्रसेवक भएकाले तत्काल नागरिकलाई सेवा उपलब्ध गराउनुपर्ने प्रधानमन्त्रीको तर्क थियो । मुलुकमा अब विकास पहिलेझैँ सुस्त गतिमा नभएर तीव्र वेगले हुने उनले दाबी गरे । देशमा विकास गर्ने उत्तरदायित्व र जिम्मेवारी आफू नेतृत्वको सरकारमा रहेको उनको भनाइ थियो ।

आफूले कुनै किसिमको ढाँटछलको राजनीति गर्न जरुरी नरहेको प्रधानमन्त्रीले बताए । सोझो हिसावले देश र जनताको समस्यामा केन्द्रीत भएर अगाडि बढ्दा पार्टी, इष्टमित्र र जनताबाट राम्रो साथ पाएको उनले सुनाए । आगामी दिनमा मुलुकको व्यवस्थाका कमीका कारण जनताका आँखाबाट आँसु नझर्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

‘यहाँका खेतहरु आधुनिक कृषिमा जानुपर्छ, कृषिको आधुनिकीकरणतर्फ अगाडि बढ्न जरुरी छ,’ उनले भने, ‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदै कृषि आधुनिकीकरण कार्यक्रम अघि बढाएको छु ।’ गौरादहमा कृषि क्याम्पस सुरु भएकाले केही वर्षपछि कृषि वैज्ञानिक उत्पादन हुने बताउँदै प्रधानमन्त्री ओलीले धेरै र ठूला बाली कसरी फलाउने भन्नेतिर कृषि वैज्ञानिक लाग्नुपर्ने बताए ।

नागरिक अभिनन्दन कार्यक्रमअघि प्रधानमन्त्री ओलीले कमल गाउँपालिकामा ५० शैय्याको आयुर्वेदिक औषधालय शिलान्यास गरे । २ वर्षभित्र त्यसको भवन तयार हुने उनको विश्वास छ ।

‘पहिले हामीले काम गर्न पाएनौँ, अहिले हाम्रो काम देखेर कोहीकोही आत्तिएका छन्, हामी केही वर्षकमै गरिव युगको अन्त्य गरेर नयाँ युगमा जानेछौँ,’ प्रधानमन्त्रीले भने, ‘यसपटक बालबालिकाका लागि भर्ना अभियान सञ्चालन गर्यौँ, अर्काे वर्षबाट कुनै पनि बालबालिका विद्यालयबाहिर हुँदैनन्, कक्षा १२ सम्म निःशुल्क पढाइनेछ ।’

५ वर्षभित्र आफूले मुलुकमा उलटफेर ल्याउने उनले दाबी गरे । कसैको हल्लाका पछि नलाग्न प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई आग्रहसमेत गरे । ‘म तपाईंहरुले छानेर प्रधानमन्त्री बनाएको व्यक्ति हुँ, मेरो विश्वास गर्नुस्,’ उनले भने, ‘कोही गरिब भएको देख्न सक्दिनँ, फुस्को छानो रहेछ भने टिन हाल्दिने काम मेरो, हामी ५० हजारसम्मको टिन किनिदिन्छौँ ।’

जनप्रतिनिधिलाई निर्देशन

जनतालाई दुःख हुने काम नगर्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई निर्देशन दिए । जनप्रतिनिधिले सुविधा मात्र लिएको र जनताका काम नगरेको भन्ने गुनासो सुनिएको उनले बताए ।

‘अबदेखि यस्तो आरोप नआओस्, जनतालाई मन नपर्ने काम नगर्नु, मोटरसाइकलमा नहिँड् भने जनताले भने पैदल हिँड्नुस्,’ जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन थियो ।

स्थानीय तहले कर लगाउने अधिकार भएकाले नै लगाएको उनले स्पष्ट पारे । कर पहिले पनि लाग्ने गरेको उनले सर्वसाधारणलाई स्मरण गराए । ‘म आफैँ राँगागाडा चलाएको मान्छे हुँ, मैले चलाउँदा पनि गाडामा कर तिरेको पातो टाँसेको हुन्थ्यो, मेरै राँगागाडामा थियो,’ उनले भने,‘रेडियो, साइकलको कर तिर्नुपथ्र्याे, अहिले त्यो कहाँ लागेको छ ?’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here