प्रदेश आवाज डेक्स /
नेपालीमा एउटा उखान छ, मिल्दा चाट्ने, नमिल्दा फाट्ने । यही उखानको चरितार्थ गर्दैछ आजकलका युवा युवतीको उन्मुक्त अधुरो प्रेमको परिणामले । प्रेमले पूर्णता नपाउँदै शारीरिक सम्बन्धमा हतारिने युवा युवतीको भविश्य अन्धकारमात्र हुने गरको छैन समाजमा नराम्रो छाप समेत पर्न थालेको छ ।
सहमतिमा हुने शारीरिक सम्बन्धले असमझदारी वा विवाद भए जबर्जस्ती करणी मुद्दाको रूप लिने गरेको पाइएको छ । अहिलेसम्मका मुद्दाको अध्ययन गर्दा यस्तो पाइएको जिल्ला अदालत झापाले जनाएको हो । जिल्ला न्यायाधीश खिलनाथ रेग्मीका अनुसार अदालतमा दर्ता भएका बलात्कारसम्बन्धी धेरै मुद्दामा संलग्न युवायुवती १८ देखि २५ वर्ष उमेर समूहका छन् । उनीहरूको बयानका आधारमा अनुसन्धान गर्दा बलात्कार नभई शारीरिक सम्बन्धपछिको असमझदारी र विवाद मुद्दाको मुख्य कारण बन्ने गरेको छ ।
‘अदालतमा दर्ता भएका हाडनाताबाहेकका अधिकांश जबर्जस्ती करणी मुद्दाको अनुसन्धानमा यस्तै देखिएको छ’, जिल्ला न्यायाधीश रेग्मीले भने, ‘असमझदारी र विवादले धेरै समस्या ल्याएको छ ।’
यस्ता मुद्दाको अनुसन्धान गरेका न्यायाधीश माधव अधिकारीले स्थानीयको बयानका आधारमा प्रहरीले बनाएको मुचुल्का र पीडितले अदालतमा दिएको बयान नै फरक हुने गरेको सुनाए । ‘सुरुमा प्रहरीको मुचुल्काकै आधारमा अदालतमा जबर्जस्ती करणी मुद्दा पेस हुन्छ’, न्यायाधीश अधिकारीले भने, ‘पछि पीडितसँग बयान लिँदा घटनामा आकाशपाताल फरक भेटिने गरेको पाइएको छ ।’
शारीरिक सम्बन्धपछिको विवादले धेरै घटना अदालतसम्म आउने गरेको उनको भनाइ छ । मुद्दाका पक्ष–विपक्षमा १८ देखि २० वर्षकी युवती र २२ देखि २४ वर्षका युवक हुने गरेको र अनुसन्धानमा बलात्कार गरेजस्तो चोटपटक, च्यातिएको घाउ, च्यातिएको लुगा, केही प्रमाण नभेटिने गरेको उनले सुनाए । ‘शारीरिक सम्बन्ध राखेको केही दिन राम्रो भएपनि लेनदेनमा वा अन्य विषयमा विवाद हुनासाथ जबर्जस्ती करणी मुद्दा हाल्ने फेसनजस्तै भएको छ’, उनले भने । झापामात्र होइन, काठमाडौं, पोखरा, धरान, विराटनगर, नेपालगन्ज, बुटवल, धनगढीजस्ता सहरमा लिभिङ टुगेदर फस्टाउँदो क्रममा देखिन्छ । मन मिलेका बेला लिभिङ टुगेदर बस्ने र मन फाटेका बेला बलात्कारको उजुरी दिने क्रम पनि उत्तिकै छ ।
प्रेम करणीमा किन बदलिन्छ ?
हतारमा सम्बन्ध बनाउने र फुर्सदमा पछुताउने युवायुवतीको शैलीका कारण यस्ता घटना घट्ने धेरैको तर्क छ । लिभिङ टुगेदर बस्नुपूर्व भविष्यका विषयमा प्रशस्त छलफल नहुनु, छिट्टै विश्वास गरेर रिलेसन सुरु गर्नु, विवाहका बारेमा स्पष्ट नहुनु, परिवारको मतलाई काट्न नसक्नु र सारतः लिभिङ टुगेदरलाई विस्तृत छलफलको विषय नबनाई सँगै बस्न हतार गर्नुजस्ता कारणले नेपालमा ‘लिभिङ टुगेदर सम्बन्ध दुर्घटित’ भएको पाइन्छ । विज्ञहरू यो गलत ट्रेन्डले वास्तविक बलात्कारका केसलाई समेत छायाँमा पार्नेतर्फ सचेत रहनुपर्ने बताउँछन् ।
लिभिङ टुगेदरलाई फेक बलात्कारको नाममा ब्लाकमेलिङको अस्त्र बनाइनुका पछाडि केटाले विवाह गर्न अस्वीकार गर्नु, एक–अर्काप्रति अविश्वास, मनमुटाव, विवाद तथा आर्थिक पक्ष मुख्य कारण देखिन्छन् । यद्यपि बन्द नेपाली समाज तथा पुरानो पुस्ताको मनोवैज्ञानिक पक्षले समेत यसको कारकका रूपमा काम गरेको विज्ञहरू बताउँछन् । युवतीसम्बन्धी काम गर्ने संस्था गल्र्स नट ब्राइड नेपालका संस्थापक महासचिव खेम कार्की लिभिङ टुगेदरमा ब्रेक हुनु र यसलाई बलात्कार बनाइनुका पछाडिको मुख्य मनोवैज्ञानिक कारण पुस्तान्तरणलाई मान्छन् । ‘यो मान्छेसँग बसियो भने समस्या हुन्छ भन्ने भएपछि छुट्टिन बलात्कारको मुद्दा हाल्ने वा ब्लाकमेलिङ गर्ने गरिएको पाइन्छ,’ कार्की भन्छन्, ‘यसका पछाडिको मुख्य मनोवैज्ञानिक कारण पुस्तान्तरण नै हो । नयाँ पुस्ताकाहरू लिभिङ टुगेदरमा बस्छन् तर अभिभावकहरूले त्यसैलाई अपराध मान्ने प्रवृतिका कारण मुद्दासम्म पुग्छन् ।’
मनोविद् करुणा कुँवरको बुझाइ पनि डा. कार्कीकै जस्तो छ । कुँवर सम्बन्धमा देखा पर्ने फरकपन, घरेलु हिंसा, सम्बन्धलाई लङ टर्म लाने विषयमा देखिने विवाद आदिजस्ता कारणले लिभिङ टुगेदरमा बसेका महिलाहरू बलात्कारको चार्ज लगाउने अवस्थामा पुग्ने कुरा बताउँछिन् । ‘लिभिङ टुगेदरमा एउटाले लङ टर्म सोच्ने र अर्काेले लङ टर्म नसोच्ने । कल्चरल एस्प्याक्टमा नेपालमा महिलाहरू लिभिङ टुगेदर बसेपछि विवाह गर्नुपर्छ, लङटर्म जानुपर्छ भन्ने सोच्छन्,’ कुँवर भन्छिन्, ‘तर पुरुषले त्यसमा डिनाइ गरिदिँदा चार्ज लगाउने ठाउँ सिर्जना हुन्छ ।’ कुँवरका अनुसार लिभिङ टुगेदर बस्दादेखि नै दुवै जनाबीच भोलिका लागि पूर्ण रूपमा तयारी नहुनु, प्रशस्त छलफल नचलाइनु, अरूले थाहा पाएर महिलालाई गाह्रो पर्ने अवस्था सिर्जना हुनु, महिलाको विवाहको उमेर घर्किनुजस्ता कारणले पनि उनीहरू लङ टर्म रिलेसनका पक्षमा हुन्छन्, तर पुरुषले त्यसलाई अस्वीकार गर्नेबित्तिकै त्यसले समस्याको रूप लिन्छ ।
लिभिङ टुगेदरले निम्त्याएको हिंसा
लिभिङ टुगेदरमा बसेका युवतीहरू घरेलु हिंसाको सिकार भएका यस्तै प्रकृतिका तीन दर्जनभन्दा बढी निवेदन काठमाडौं प्रहरी परिसरमा छन् । प्रहरीका अनुसार लिभिङ टुगेदरमा बसेका युवतीहरूमाथि कुटपिट, गाली–गलौज मात्र होइन, यौनजन्य हिंसा पनि हुने गरेको छ । नेपाली समाजमा लुकाउनुपर्ने सम्बन्ध भएका कारण यस्ता घटनामा पीडितमध्ये कति त प्रहरीसम्मै पुग्दैनन् । केही पुगिहाले पनि आफ्ना प्रेमीलाई श्रीमानका रूपमा प्रस्तुत गरेर उसले आफूमाथि घरेलु हिंसा गर्ने गरेको उजुरी प्रहरीलाई दिन्छन् ।
लिभिङ टुगेदरमा रहँदाको अश्लिल भिडियो बनाउने र पछि त्यसैलाई हतियार बनाएर ब्लाकमेलिङ अनि चरित्रहत्या गरिएका घटना पनि प्रहरीकहाँ प्रशस्तै छन् । लिभिङ टुगेदरमा रहने महिलाहरूको पीडा घरेलु तथा यौनजन्य हिंसामा मात्र सीमित छैन । नेपालमा गैरकानुनी र अवैध मानिने लिभिङ टुगेदर रिलेसनका कारण कहिलेकाहीं आत्महत्या र हत्यासम्मका घटनासमेत घटेका छन् । यसबाहेक पुरुषले सन्तान स्वीकार नगर्ने, सन्तान छाडेर भाग्ने, पटक–पटक गर्भपतन गर्न लगाएपछि विवाह नगरी छाड्नेजस्ता समस्याको सिकार पनि महिलाहरू नै हुने गरेका छन् ।
बलात्कार सम्वन्धी मुद्दाको चाङ
पछिल्लो समय झापा जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दाको चाङ लागेको छ । अदालतको तथ्यांकलाई हेर्दा काठमाडौंपछि झापा जिल्लामा बलात्कारसम्बन्धी मुद्दा बढी पर्ने गरेको छ । जबर्जस्ती करणीअन्तर्गतको उद्योग तथा हाडनातासम्बन्धी १ सय ६ वटा मुद्दा चालू आर्थिक वर्षको अन्त्यमा झापामा दर्ता भएका छन् । अघिल्लो वर्षका गरी ७४ वटा मुद्दा फछ्र्याेट भएको जनाइएको छ ।
जिल्ला अदालतले चालू आवको जेठसम्म ४९.०६ प्रतिशत मुद्दा फैसला गरी फछ्र्याेट भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको १ हजार ६ सय ३९ सहित ४ हजार १ सय ७ वटा मुद्दा दर्ता भएको जनाइएको छ । त्यसमध्ये रिट र पुनरावेदन गरी २ हजार १५ मुद्दा फछ्र्याेट भएका हुन् ।
‘अदालतमा दर्ता भएका हाडनाताबाहेकका अधिकांश जबर्जस्ती करणी मुद्दाको अनुसन्धानमा यस्तै देखिएको छ । असमझदारीले समस्या ल्याएको छ ।’
अंशसम्बन्धी ४ सय १६, सम्बन्धविच्छेदमा ६ सय ६३, मानव बेचबिखन तथा ओसारपसारमा २७, लागुऔषधमा १ सय ११ र अन्यमा १ हजार १ सय ४५ वटा मुद्दा दर्ता भएका छन् ।
अदालतको तथ्यांकअनुसार ३८ करोड ८१ लाख ८० हजार ९० रुपैयाँ बक्यौता विभिन्न व्यक्तिबाट असुल गर्न बाँकी छ । विभिन्न प्रकृतिका मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएको रकममध्ये ५१ करोड २३ लाख ३६ हजार ९ सय ५९ रुपैयाँ उठाउनुपर्नेमा १२ करोड ४१ लाख ५६ हजार ८ सय ६९ रुपैयाँ असुली भएको छ । अदालतले विभिन्न मुद्दामा सजाय तोकी फरार रहेका १ सय ७० अभियुक्तलाई प्रहरीको सहयोगमा पक्राउ गरी अदालत पेस गरेको छ ।