२८ असार,दमक/ नेपाल शिक्षक संघका प्रदेश नं एकका संयोजक पूर्णप्रसाद गौतमले नयाँ नेपालको संघीय संरचनासँगै शिक्षा नियमावली निर्माणमा बहस चलाउनुपर्ने बताएका छन् ।
विहिवार नेपाल शिक्षक संघले दमकमा आयोजना गरेको अन्तरक्रिया तथा सुझाव कार्यक्रममा बोल्दै संयोजक गौतमले अबको शिक्षा नियमावली कस्तो बनाउने भन्ने नै मुख्य प्रश्न रहेको बताए ।
कार्यक्रमा नेपाल शिक्षक संघका संघीय प्रतिनिधि प्रकाश भण्डारीले कानुन भन्दा माथि कोही नरहेकाले कानुनी कठघरामा रहेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।
यसैगरी नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका उपाध्यक्ष सुरेन्द्र कटुवालले जुनसुकै सरकार आएपनि शिक्षकका समस्या हल गर्न नसकेकाले संघीय संरचनापछि बन्ने शिक्षा नियमावलीहरुमा नै शिक्षकका अधिकारको सुनिश्चितता गर्न जिल्ला, नगर र गाउँमा रहेका शिक्षकहरुको बहस चलाएर सुझाव दिनुपर्ने बताए ।
शिक्षक नेता चुडेन्द्र प्रसाद खड्काले दमक नपाले प्रश्तुत गरेको शिक्षा नियमावली बहुमतको दम्भ र घमण्डका आधारमा निमाण गरेको आरोप लगाएका छन् । कार्यक्रमा अधिकांश शिक्षकहरुले संघीय संरचनामा नियूक्ति प्रक्रिया, शिक्षकको पोसाक लगायतका विषय, सरुवा, बढुवा, शैक्षिक विकासका कार्यक्रम कसरी प्रभावकारी र बैज्ञानिक बनाउन सकिन्छ भन्ने जस्ता विषय बहसका विषय भएको बताएका हुन् । धेरजसो शिक्षकले अहिले चलिरहेको शिक्षकको पोशाकको कलर परिर्वतन गर्न माग गरेका छन् ।