कलकलाउँदी शिल्पाले दाह्रीवाल छविलाई मन बुढो हुँदैन भनेर चलचित्र निमाणमा लेपासिएपछि कलकल जवानी र परिपक्व बुढ्यौलीविचको प्रेम कहानी छताछुल्ल भएर पोखिएको छ ।
भनिन्छ, प्रेम र विवाह जति लुकाए पनि लुक्दैन । लामो समयदेखि शिल्पा पोखरेलसँग सम्बन्धमा रहेका छविराज ओझा र शिल्पासम्बन्धी थप हल्ला बजारमा आएको छ । चर्चाअनुसार यो जोडीले गएको दसैंमै विवाह गरिसकेको छ, जसको रहस्य बिस्तारै खुल्दैछ । केही समयअघि मात्र छवि र शिल्पालाई एकै ठाउँ राखेर लिइएको अन्तर्वार्तामा छविले भनेका थिए, ‘अरूले छोडेर गए, शिल्पालाई छोड्दिनँ ।’
शिल्पाले भनेकी छिन्, ‘शरीर बूढोजस्तो देखिए पनि मन बूढो छैन, बिहे पक्का हुन्छ, तर कहिले भन्न सक्दिनँ ।’ केही दिनअघि आफ्नै लगानीमा खुलेको इटहरीको इलाइट सिनेमामा विशेष शोका अवसरमा निर्माता ओझाले विवाहका सम्बन्धमा थप संकेत गरेपछि अब भन्नैपर्छ— छविजी, विवाह भएको हो भने डराउनु पर्दैन । उक्त हलमा छवि धरानमा रहेकी आमाका साथै छोरा साकार र शिल्पा पोखरेल लगायतलाई लिएर पुगेका थिए ।
ओझाले पत्रकारहरूसँगको छोटो भेटमा भनेका छन्, ‘हामी सम्पूर्ण ओझा परिवारले मंगलम हेरेका छौं ।’ सम्पूर्ण ओझा परिवार भनेर खिचाइएको उक्त तस्बिरमा छवि, शिल्पा, उनकी आमा तथा उनका छोरा साकार ओझा देखिन्छन् । तस्बिरमा शिल्पा र छविले आमालाई दुईपट्टिबाट हात समातेका छन् भने साकार पछिल्तिर छन् । सम्पूर्ण ओझा परिवारमा विशेष बडी ल्याङ्ग्वेजका साथ शिल्पा पनि अटाएपछि अब शिल्पा पोखरेल नरहेर ओझा भैसकेको कुरा बुझ्न कठिन नहोला कि ?