ताप्लेजुङमा व्यवसायिक जडिबुटी खेती

0
545

प्रयास लिम्बू, ताप्लेजुङ, असार १७ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका ३ तिरिङ्गेका किसानहरुले व्यवसायिक जडिबुटी खेती गर्न थालेका छन् । जडिबुटीबाट राम्रो आम्दानी गर्न सकिने भएसँगै तिरिङ्गेका किसानहरुले हाल व्यवसायिक रुपमा जडिबुटी खेती गर्न थालेका हुन् ।

जिल्ला वन कार्यालय ताप्लेजुङले जडिबुटी खेतीमा सङ्लग्न किसानलाई पछिल्लो समय केही आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएपछि स्थानीय किसान थप उत्साहित हुँदै व्यवसायिक खेतीतर्फ जुटेका छन् ।

हाल तिरिङ्गेका करिव २५ परिवार व्यवसायिक जडिबुटी खेतीमा सङ्लग्न रहँदै आएका बताइएको छ । तिरिङ्गेका किसानले पाखान्वेद, बुढो ओखती, सतुवा, टिम्बुर, बोझो, सुगन्ध, चिम्फिङ, चिराइतो, लौठसल्ला लगायत प्रजातिका जडिबुटी खेती लगाउँदै आएका छन् ।

आम्दानीको राम्रो स्रोत बन्ने देखेपछि करिव चार वर्ष अघिदेखि तिरिङ्गेका किसानले व्यवसायिक जडिबुटी खेती सुरु गरेका स्थानीय खड्गबहादुर पौडेलले बताउनुभयो । व्यवसायिक जडिबुटी खेतीबाट हाल उत्पादन पनि सुरु भएको पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार खेतीमा सङ्लग्न सबै किसानले जडिबुटी उत्पादन गरी आम्दानी पनि गर्न थालेका छन् । हाल सङ्कलन केन्द्र र उचित बजार व्यवस्था नहुँदा भने उत्पादित जडिबुटी बिक्री गर्नलाई सहज नभएको उहाँले बताउनुभयो ।

यस्तै अर्का किसान अशोककुमार बस्नेतले पनि जडिबुटी सङ्कलन केन्द्र र बजारको आवश्यक भएको बताउनुभयो । कतिपय जिल्ला बाहिरका व्यापारीलाई सम्पर्क गर्दा ठूलो परिमाणमा उनीहरुको माग हुने गरेको बस्नेतको भनाइ छ । ठूलो परिमाणको माग हुने हुँदा तत्काल थोरै परिमाण भने बिक्री गर्नलाई केही असहज रहेको उहाँले बताउनुभयो ।

उहाँहरु जस्तै अन्य किसानले पनि उत्पादित जडिबुटी उचित मूल्य र सहज रुपमा बिक्री गर्न पाए सोचेभन्दा राम्रो आम्दानी लिन सकिने बताउँछन् । बजार तथा सङ्कलन केन्द्रको अभावमा स्थानीय व्यापारीलाई जडिबुटी बिक्री गर्दा चाहेजस्तो मूल्य नदिने गरेका किसानको गुनासो छ । उत्पादित जडिबुटी सहज रुपमा बिक्री गर्नलाई जिल्ला वन कार्यालयले बजार व्यवस्थाका लागि सहयोग गर्नुपर्ने किसानको माग रहेको छ ।

यता जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले जडिबुटी खेती बिस्तार तथा प्रवद्र्धनका लागि किसानलाई अनुदान सहयोग दिँदै आएको बताउनुभयो । सहायक वन अधिकृत दासले खेतीमा सङ्लग्न किसानलाई बिरुवा स्याहार–सम्भारबापत अनुदान र लौठसल्ला तथा चिराइतो खेती बिस्तारका लागि अनुदान रकम प्रदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तिरिङ्गे, फुरुम्बु, हाङ्देवा लगायतका किसानलाई वन कार्यालयले अनुदान सहयोग उपलब्ध गराएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here