‘बेइमान पाइला’ नियालेर हेर्दा

0
598

  विमल लामिछाने /

पछिल्लो समय फेसबुकले मान्छेलाई विश्व हेर्न सजिलो बनाइदिएको छ । विज्ञानको यो चरम उत्कर्षमा मान्छेहरु फेसबुक/गुगलबाट टाढा रहेका कमै होलान् । तीनहप्ता अघिको कुरा हो, लेखक तथा सम्पादक यज्ञराज प्रसाईं गुरुको फेसबुक पोष्टमा ‘बेइमान पाइला’ नामक निवन्ध संग्रह विमोचन सन्दर्भको स्टाटस भेटाएँ । प्राय चिने जानेका साथीहरुको स्टाटसमा कमेण्ट गर्नु फेसबुक चलाउनेहरुको धर्म जस्तै लाग्थ्यो र कमेण्ट बक्समा बधाई नलेखि सकिन ।
भोली पल्ट विहान ०२३–५६२१९० बाट फोन आयो । यो यज्ञराज सरका घरको नम्वर रहेछ । हुन त उहाँसँग मेरो चिनजान जनयुद्ध पछिको खुल्ला परिवेशसँगै भएपनि घनिष्टता झापाबाट प्रकाशित सुखानी आवाज साप्ताहिक/मासिक पत्रिकासँगै जोडिएको हो । हामी एउटै टिममा उहाँ सम्पादक र म प्रधान सम्पादक रहेर पत्रिका प्रकाशन गरेका थियौं ।
लामो समय भेट नभएको र त्यो कल पनि निकै लामो समय पछिको भएकोले झण्डै आधा घण्टा बोलिएछ । फोनमा धेरैजसो कुरा समसामयिक राजनीतिक परिवेश र हासोमजाक नै भए । अन्त्यमा उहाँले पुनः सम्वोधन गर्दै भन्नु भयोः विमल जी, तपाइलाई एउटा पुस्तक दिनु थियो, कसैलाई पठाइदिन्छु पढेर समिक्षा लेखिदिनुहोस् है । उहाँको अनुरोधलाई मैले सहज स्वीकारेँ ।
२०७५ साल असार ४ गते पत्रकार भाइ झुलन रेग्मी मार्फत ‘बेइमान पाइला’ नामको निवन्ध संग्रह मेरो हातमा पर्यो ।
यज्ञराज प्रसाईंद्धारा लिखित ‘बेइमान पाइला’ निबन्ध संग्रहमा झण्डै पाँच दशकको कालखण्डलाई अप्रेसन गर्दै राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक विषयबस्तुहरुलाई फिल्टर गरेर निखारेर प्रतिनिधी पात्रको रुपमा समेट्ने भरपुर कोशिस गरिएको रहेछ । मुलुक परिर्वतनबाट विकास खोज्ने, भविश्यका कर्णधार, र राजनीतिक इतिहासका खोज अभियन्ताहरुकालागि सन्दर्भ सामग्रीको मुख्य आधार बन्न सक्छ यो पुस्तक ।
३४ विषय समेटिएको यो निबन्ध संग्रहले समाजका चौतफी विषयलाई समेटेको देखिन्छ । झम्पल नामक पत्रिकाको प्रकाशन र सम्पादनमा भएको कठिनाई पत्रकारिता क्षेत्रका चुनौती, जोखिम र परिणामलाई नमूनाको रुपमा चित्रण गरिएको पाइन्छ । सम्पादक बनेर कलम चलाउँदा पञ्चायती शासकले दिएको दुःख र तनावलाई अहिलेको पत्रकारिताका विद्यार्थीले पनि पाठ सिक्नकालागि उदाहरणका रुपमा अध्यायनको सामग्री बन्न लायक छ । नेपालको राजनीतिक परिवेशका दृष्यहरुलाई कतै साहित्य जडित, कतै सिधै र कतै घुमाउरो पाराले प्रश्तुत गरिएको छ । पुस्तक अध्यायन गर्दा कुनैपनि विषय छोडिए अधुरो अध्यायन होला कि जस्तो गरि विषयसूचीमा समेटिएको भएपनि पाठकका आप्mना–आप्mना रुचीका विषय हुन्छन् । जसमध्य ‘मैले भेटेका केहि टर्रा प्रवृतिहरु, डाँडाघरे बा का प्रेत आत्माहरु, मृत्युको मुखबाट फर्केको त्यो दिन, विद्रोही सन्तान झम्पल र झापा आन्दोलन, आस्था र निष्ठाको माटोमा टेकेको क्षण’ विशेष पठनयोग्य विषयभित्र पर्दछन् । यसको मतलब अरु विषय योग्य छैनन् भन्ने चाहिँ पटक्कै होइन ।
विशेषत भूमिगत जनयुद्ध कालका नारा, योजना, लक्ष र प्रतिबद्धतासहितका क्रियाकलापहरु शान्ति कालसँगै कसरी स्खलित भए, यसमा कार्यकर्ताहरुको भूमिका के रहँदै गयो, भन्ने कुरालाई शिष्ट भाषामा प्रश्तुत गरिएको छ । देशमा पटक पटक साहसिक परिर्वतन आए तर जनताको जीवन स्तरमा परिर्वतन आउन नसक्नुका पछाडि नेताहरुको फेर समाउने गणेश प्रवृति र कोट टक्टक्याउने, चाटुकार र भाटहरुले हालीमुहाली गर्न पाउनु, इमान्दार कार्यकर्ता उपेक्षित हुनु नै हो भन्ने निष्कर्ष निकाल्दै यही बेइमानी विरुद्ध पुस्तकलाई विम्व मानिएको छ ।
पूर्वको राजनीतिमा बामपन्थी आन्दोलनबारे कसैले अध्यायन गर्नुपर्दा यो पुस्तकलाई मुख्य श्रोत मान्न सकिनेगरि वामपन्थी आन्दोलनको उठान यो पुस्तकमा गरिएको छ । पुस्तकमा जनताको ठूलो हिस्साको इच्छा विगत लामो समयदेखि बामपन्थी एकताको भएपनि बामपन्थीहरु आफ्नै श्वार्थ र पदलोलुपताका कारण पटक पटक चोइटिनु परेको र सामन्तहरुको राज रहँदै आएको क्रान्तिकारी भनाउदाहरु नोकरशाह, दलाल र नवधनाढ्य बन्न पुगेको लेखकको तर्कले राम्रो स्पेस पाएको छ ।
निवन्ध संग्रहले जनताको रगत पसिना साटेर प्लटिङ, घरघडेरी जोड्ने, वन सम्पदा र जल सम्पदालाई धरौटी राखेर विदेशीको इशारामा चलेका नेता प्रतिनिधी पात्रहरु मुखीया पाराका पे्रतआत्मा हुन् भनेर ब्याङ्ग्यात्मक रुपले पुस्तकमा उतारिएको छ ।
जीवनको यात्रामा विश्राम लिएका अमरहरुको सम्झना गर्दै केहि पात्रलाई पुस्तकमा समेटिएको छ । जसमा पूर्वको माओवादी आन्दोलन र बर्तमान सन्दर्भमा कमरेड राजेन्द्र, भन्ने टपिकमा माओवादीका तत्कालिन नेता गौरीशंकर खड्काको बाल्यकाल र शिक्षा, राजनीतिक जीवन, जनयुद्धको फौजी नेतृत्व जस्ता विषय समेटिएको छ भने, जनबादी लेखक तथा पत्रकार जनयुद्धका अर्का शहिद डि.कौडिन्यसँगको अन्तिम क्षण, स्मृतिमा मदन ढकाल, सजल आँखाभित्र उभिएका कुमार संग्रौला, स्मृतिमा ननित थापा, दृष्टीमा विष्णु र नविन जस्ता विषयले शहिदप्रतिको सम्मान, ऐतिहासिक त्याग र समर्पणलाई सहिद प्रतिविम्वको रुपमा स्मरण गरिएको छ ।
यो पुस्तकमा अर्को महत्वपूर्ण पाटोको रुपमा भ्रमणका अनुभूतिहरुलाई समेटिएको छ । लेखकले देश विदेशका विभिन्न स्थानमा भ्रमण गर्दा तेस्रो आँखाले देखेका प्राकृतिक मनोरम दृष्यहरु, ऐतिहासिक पौराणिक विषयहरु कसरी पाठकसामु पकिने, कसरी पठनीय र स्वादिलो बनाउने भन्ने कुरा अनुशरण गर्न लायक हुनेगरी बर्णन गरिएको छ । यसमा ५ वटा यात्रा सस्मरण समावेश गरिएको छ ।
सिक्किम यात्रा, मेवाडका शाशक महाराणा प्रतापको ऐतिहासिक दरवार यात्रा, पश्चिम नेपालको यात्रा, भारत उदयपुरको संग्राहलय अवलोकन लेखकले पाठकलाई समेत शुक्ष्म ढंगले गराउनु भएको छ । त्यस्तै भेलोरको यात्रा र उपचारको क्रममा भेलोर अस्पतालमा दलाल र विरामीबाटै कमिसन खाने विचौलियाको विगविगी बढ्न थालेको अनुभूति सहित अव उपचारमा जानेहरुलाई सजग गराइएको छ । सिक्किमको चीन सीमा र चीनको अवलोकन, माउण्ट आवुको यात्रा स्मरण योग्य रहेको ब्याख्या जस्ताको तस्तै उतार्ने कोसिस गर्दै यात्रामा भेटिएका र भोगिएका विषयलाई लेखकले जीवन्त बर्णन गर्दै कलात्मक रुपले पाठकसामु ल्याउन प्रयत्न गरेको पाइन्छ ।
पारिवारिका विषयमा लेखकले आप्mनी आमाले भोग्नुपरेको हण्डर, बालबच्चा साना छदै बुबाले स्वर्गको बाटो रोजेपछि आमाले बाल्यकालका छोराछोरी हुर्काउन गर्नूपरेको संघर्ष, शिक्षा दिक्षा जस्ता कुराको जिम्मेवारीको आमाले बोक्नुपरेको भारी, पटक पटकको बसाईं सराइ, उत्पादन नहुने सतिघट्टाको काँसघारीलाई प्राथमिकताका साथ कलम चलाउनु भएको छ । आमालाई छोरो कहाँ लुकाइस् तुरुन्त निकाल भनेर पञ्चायती प्रहरीले गरेको ज्यादती, घर छोडेर डेरा बस्दै हिड्नु परेको अवस्था जस्ता दुःख दर्द सहँदै आफूलाई पढाउने हुर्काउने आमाको आथिक अभावको कारण मुटुको भल्भ टाल्न नसकेको कारुणिक यथार्थलाई वर्णन गर्दै लेखक भक्कानिएको आभाष शब्दहरुले दिन्छन् । लेखकले मन कुडियाउनु भएको छ, पटक पटक मन कुडिँएको छ, भाँचिएको छ र पाठकलाई पनि स्तब्ध बनाउन सफल हुनुभएको छ । यो लेखकको सफलता हो ।
लेखक यज्ञराज प्रसाईंको यो निबन्ध संग्रह आफैमा जीवन्त संग्रहको रुपमा रहेको छ । यो पुस्तक समाजको प्रतिविम्व हो । सिक्नेहरुकालागि नमूना र उत्प्रेरणाको श्रोतको पुस्तक पनि हुन सक्छ । उत्साहका साथ लेखिएको यो निबन्ध संग्रहभित्र के के थियो भनेर बर्णनात्मक रुपमा यो सानो समिक्षापृष्ठमा उतार्न सकिने कुरै भएन । समग्रमा यो निबन्ध संग्रह खोजेर एक पटक सबैले पढ्न योग्य पुस्तक भने अवश्य हो भन्ने मलाई लाग्छ । लेखकले मनमस्तिष्कलाई खारेर जीवन भोगाइका कथा, ब्यथालाई कलात्मक रुपले उतार्न सफल हुनुभएको छ । लेखकले समाजलाई दिनुभएको यो योगदानले लेखकप्रति समाज ऋणी छ । धन्यवाद । bmllamichhane@gmail.com

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here