एमाले माओवादी केन्द्रबिच एकता घोषणा बन्यो ‘नेपाल कम्युनिष्ट पार्टी’

0
376

काठमाण्डौं/ नेकापा एमाले र नेकपा माओवादी केन्द्रविच औपचारिक एकताको घोषणा भएको छ । एकताको घोषणासँगै नवगठित नेपाल कम्युनिस्ट पार्टीलाई कानुनी रूप दिएर दल दर्ता गर्न निर्वाचन आयोग कार्यालयमा पत्र दर्ता गरिएको छ । बिहीबार प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू निर्वाचन आयोग कार्यालय पुगेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दल दर्ताको पत्र बुझाएका हुन् ।
विहिवार नै एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक सकिएको छ । बिहीबार बसेको बैठकले सबै केन्द्रीय कमिटीको सदस्यलाई शपथ गराएको छ ।
सुरुमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए ।
त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए । सोसँगै एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ । बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । त्यस्तै, दुवै पार्टीका जनवर्गीय संगठनहरु खारेज गर्ने निर्णय समेत गरिएको छ ।
बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताएका छन् । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए ।
‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो भन्ने लाग्ला । पार्टी टेप्पो चलाएजस्तो होइन । जेटमा प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले बिहिबार राष्ट्रियसभागृहमा आयोजित पार्टी एकता घोषणासभामा भने ।
उनले आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौ । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरीकन अगाडि बढाउने अठोट र संकल्प गरेका छौं ।’
उनले पुष्पलालले ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण आफूहरु यहाँसम्म आइपुगेको बताए ।

‘पुष्पलालजीले त्यतिबेला कम्युनिष्ट पार्टीको स्थापना नगरेको भए आज एकीकरणको चर्चा गर्ने सायद ठाउँ पनि हुँदैन थियो’, ओलीले भने, ‘ पुष्पलाल अहिले भइराखेको भएको भए उहाँ खुसीले नाच्नु हुन्थ्यो ।’
ओलीले दुई तिहाई सामान्य जोडघटाउको मात्रै भएको भन्दै अर्काे चुनावमा तीन चौथाई जित हासिल गरिने पनि दाबी गरे । उनले अब पार्टी एकतासँगै आफूहरु विकास र समृद्धि तर्फको यात्रामा अघि बढेको पनि बताए ।

यसैगरी अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ युगको सुरुवात भएको बताएका छन् । प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए ।
उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।
पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए । उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए ।

जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।
विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए । प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here