दमक/ झापा तथा जोखिममा परेका भूटानी शरणार्थी बृद्धबृद्धा तथा बालबालिकालाई सहयोग गर्ने उद्देश्यले तेस्रो मुलुकमा पुर्नवासमा भएका भूटानीहरुबाट १ डलर सहयोग संकलन अभियान शुरु गरिएको छ ।
पछिल्लो समय भूटानी शरणार्थीहरु तेस्रो मुलुक जानेक्रमसँगै शिविरमा एक्लिएका बृद्धबृद्धा र बालबालिकाहरुको अवस्था नाजुक बने पछि यो अभियान शुरु गरिएको हो । शरणाथीहरुलाई रेखदेख गर्दै आएको दातृ निकायले दिँदै आएको राहत तथा सेवा सुविधा समेत कटौती हुन थाले पछि संकटमा परेका बृद्धबृद्धाहरु कतिपय विजोग भएर मर्नु परेको अवस्था आएको छ ।
करिव १ दर्जन हाराहारीमा एक्लिएर मर्ने संख्या पुग्दा शरणार्थी शिविरमा रहेका अगुवाहरुले चन्दा संकलन गरेर उपचार तथा काजक्रिया गर्नु परे पछि शरणार्थी अगुवाहरुको छलफलले अक्षयकोष निर्माणका लागि अभियान शुरु गरिएको पूर्व सचीव तथा फेन्स क्वल भूटानका अध्यक्ष युवराज राईले बताउनु भयो ।
अहिले जोखिममा परेका बृद्धबृद्धाको संख्या २ सय भन्दा धेरै र १ सय ५० हाराहारीमा बालबालिकाहरु बताइएको छ । संकलन गरिएको रकम बाट स्थापना गरिएको अक्षयकोषले असहाय तथा अनाथहरुलाई सहयोग गरिने जनाईएको छ ।