धनमायाँको धन कमाउने सपना पूरा हुन नसकेपछि

0
319

झापा/ धन कमाउने आसमा जोर्डन पुगेकी झापा बिर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन्। उनको पेटमा ८ महिनाको बच्चा छ।

श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन्। गलैंचा फ्याक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कारको सिकार भएकी थिइन्।

आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो। पछाडिबाट एक जनाले अँगालो हाल्यो र लडायो अनि रुमालले मेरो मुख थुनेर बलात्कार गर्‍यो। उसले मलाई जेजे गर्नु थियो सक्यो अनि छाडेर भाग्यो। वरिपरि कोही थिएनन् र मैले पनि न्याय नपाउने डरमा यो घटना कसैलाई सुनाइन्।’ घटनाबाट पीडित उनी बाँच्नु न मर्नुको अवस्थामा पुगिन्। ‘मर्न खोजें मर्न सकिनँ, नेपाल आएँ ज्युँदै मरें,’ नौ दिनअघि श्रीमान् र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा भौंतारिएकी धनमायाले गहभरि आँसु पारेर भनिन्।

उनलाई कम्पनीका म्यानेजरले गत महिना मात्रै नेपाल डिपोट गरेका थिए। कम्पनीबाट काम गरेर फर्किने क्रममा धनमाया भारतीय नागरिकबाट राति ११ बजे बलात्कृत भइन्। आफूमाथि परेको पीडा उनले सहकर्मीलाई सुनाइन्। ‘अर्काको देशमा आएकाले कुनै कारबाही हुँदैन भन्ने साथीहरूले भने। म अत्तालिएँ,’ उनले सुनाइन्। बिस्तारै उनको पेट बढ्दै गयो। बलात्कारको निसानी पेटमा बढेको बल्ल थाहा पाइन्। ‘कम्पनीको म्यानेजरलाई सुनाएँ। उसले बलात्कारी र मलाई घर फर्काइदियो,’ उनले भनिन्। धनमायाका श्रीमान् किरण पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। उतैबाट किरणले रोजगारीमा जान दबाब दिएपछि काठमाडौंमा रहेको एसीसी म्यानपावरमार्फत जोर्डन पुगेकी थिइन्। ‘घर चलाउन गाह्रो थियो।

पैसा पठाउनु भन्दा तँ नै कमाएर देखा भनेपछि छोराछोरी पढाउन र घर खर्च चलाउन विदेशिएँ। सपना साकार गर्नेभन्दा पीडाको भारी बोकेर फर्किएकी छु,’ उनले भनिन्। उनका १४ र ९ वर्षीया २ छोरी र ४ वर्षीय १ छोरा छन्। उनले भनिन्, ‘पैसा कमाएर आएको भए प्यारो हुन्थें होला, पीडामा परेर फर्किएँ, अहिले घरबाट निकालिएँ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here