रेलवे विस्तारमा भारतसँग सहकार्य गर्न चीन तयार

0
286

काठमाण्डौं/ नेपालको विकासका लागि अन्य मुलुकसँग पनि हातेमालो गर्न चीन तयार रहेको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । बुधबार बेइजिङमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो विचार राखेका हुन् ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । बुधबार बिहान एघार बजे चिनियाँ स्टेट गेष्ट हाउस त्याउथाईमा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङसँग भेटवार्ता गरेका थिए । वाङसँगको भेट वार्ता नै मन्त्री ज्ञवालीको चीन भ्रमणको मुख्य कार्यक्रम थियो ।
पत्रकार सम्मेलनमा चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीका पत्रकारले नेपालका प्रधानमन्त्री केपी ओलीले भरखरै सम्पन्न गरेको भारत भ्रमणको प्रसङ्ग उठाउँदै भारतले नेपालमा रेल्वे विस्तार र कृषि क्षेत्रमा व्यापक सहयोग गर्ने सहमति गरेकोमा चीनको प्रतिक्रिया के छ ? भनेर सोधेका थिए ।

प्रश्नको जवाफ दिने क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङले भने, ‘नेपालको विकासमा चीन र भारत दुवै छिमेकी मुलुकले सहयोग गर्न सक्छन् । चीन, नेपाल र भारतबीचको त्रिपक्षीय सहयोग तीनवटै मुलुकका लागि फाइदाजनक छ ।’
पत्रकार सम्मेलनमा पहिले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले लिखित सम्बोधन गरेका थिए । त्यसपछि मन्त्री ज्ञवालीले पनि लिखित सम्बोधन गरेका थिए । मन्त्रीद्वयको सम्बोधनपछि चिनियाँ पत्रकारले भारतले नेपालमा रेल्वे सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको अवस्थामा चिनियाँको चासो उठाएका थिए । दुई वर्षदेखि चीनले केरुङबाट काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्म रेलवे सेवा विस्तार गर्ने भन्दै प्रारम्भिक प्राविधिक अध्ययन पनि गरिसकेको छ ।
नेपालमा चिनियाँ रेल्वे सेवा विस्तार गर्ने कुरामा चीनले मात्र चासो राखेको तर नेपालले कुनै सक्रियता नदेखाएको सम्बन्धमा प्रश्न गर्दा मन्त्री ज्ञवालीले भने, ‘यसभन्दा अगाडि नेपालमा राजनीतिक स्थिरता थिएन । हामी राजनीतिक मुद्दामा मात्र केन्द्रित थियौँ । अब राजनीतिक संक्रमण सकिएको छ । तीनवटा चुनाव सम्पन्न भएर बहुमतको शक्तिशाली सरकार बनेपछि हामी आर्थिक विकासका मुद्दामा केन्द्रित भएका छौँ । अब चीनबाट रेल लाने कामले तिब्रता पाउँछ ।’
पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्रमन्त्री वाङले केरुङ र तातोपानी बोर्डरलाई विस्तार गरिने बताए । उनले हिमालय क्षेत्र पार गरेर अन्तरदेशीय बहुआयामिक संजाल स्थापना गरिने पनि औँल्याए । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई मार्फत नेपालले भौतिक पूर्वाधार विकाससँग प्रशस्त चिनियाँ लगानी भित्रियाउन सक्ने उल्लेख गरे ।
नेपालमा नयाँ सरकार बनेको र चीनमा पनि चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन तथा राष्ट्रिय जनकंग्रेसको अधिवेशनबाट नयाँयुगमा चीन प्रवेश गरेको सन्दर्भमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्नु उपयुक्त हुने चिनियाँ उपराष्ट्रपति वाङ छिसानले मन्त्री ज्ञवालीलाई बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here