पत्रकार भागवण्डा,प्रेस चौतारीले ५ अध्यक्ष प्रेस सेन्टरले ३ र युनियनले २ अध्यक्ष

0
191

दमक/ नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रमुख तीन दल निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । राजनीतिक दलले गर्ने भागवण्डाको विरोधमा समाचार लेख्ने पत्रकारकै संस्थामा भागवण्डा गरिएको हो ।
पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले पदहरु भागवण्डा गरेका हुन् ।
भागवण्डा अनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेश कार्यसमितिमध्ये सबैभन्दा धेरै प्रेस चौतारीले ५ वटाको अध्यक्ष पद पाएको छ । प्रेस सेन्टरले ३ र युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने सहमति भएको छ ।
तीनवटा संगठनको अध्यक्षले गरेको सहमति अनुसार प्रेस चौतारीले प्रदेश १, प्रदेश ३, कणार्ली प्रदेश, प्रदेश ७ र प्रतिष्ठानको नेतृत्व पाएको छ । प्रेस सेन्टरले प्रदेश ४, प्रदेश ५ र उपत्यकाको नेतृत्व पाएको छ । प्रेस युनियनले प्रदेश २ र एसोसिएटको अध्यक्ष पद पाएको छ ।
कार्यसमितिमा अर्काे कार्यकारी पद महासचिवमा प्रेस सेन्टरले ४ वटा, प्रेस चौतारी र प्रेस युनियनले ३र३ वटा प्रदेश भागवण्डा गरेका छन् । नेतृत्व मात्र नभई प्रदेश कार्यसमितिका सबै पदमा भागवण्डा गरिएको छ । प्रदेश कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहनेछन् ।
त्यस्तै सदस्यहरुमा ५ जना खुला, ३ जना महिला, १ जना दलित, २ जना आदिवासी जनजाति, २ जना मधेसी र १ जना अल्पसंख्यकबाट रहनेछन् । सबै प्रदेशमा कुन संगठनले कुन कुन पद पाउने भन्ने सहमति भइसकेको छ । अब बैशाख २२ गते हुने अधिवेशनमा सहभागी हुने पत्रकारले नेतृत्व छनोटमा सहभागी हुन नपाउने भएका छन् ।
ठूला संगठनले भागवण्डा गरेसँगै स्वतन्त्र हैसियतका पत्रकार र विभिन्न साना दल निकट र पत्रकारका जातीय, क्षेत्रीय संगठनमा आवद्धहरुले महासंघको नेतृत्व तहमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here