गुणस्तरीय पानी कसरी ?

0
668

 रविकिरण आचार्य

पानी मानव जीवनको लागि महत्वपूर्ण आधारभूत आवश्यकता हो। पानीबिना जीवनको कल्पनासम्म गर्न सकिँदैन। पानी पर्याप्त हुँदैमा यसले मानिसको आवश्यकतालाई तात्कालिक रूपमा समाधान त गर्ला, तर अन्ततोगत्वा गुणस्तरहीनताको कारणले हैजा, टाइफाइड, आउँ, कमलपित्त जस्ता विभिन्न किसिमका पानीजन्य रोगको उत्पत्ति गराई मानव जीवनलाई जटिल र तहसनहस बनाइदिन्छ। त्यसैले पिउने पानी गुणस्तरीय र शुद्ध हुनुपर्छ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार हामीलाई आवश्यक पर्ने रासायनिक तत्वहरू ठीक–ठीक मात्रामा भएको तथा कुनै पनि प्रकारका ब्याक्टेरिया, भाइरस र अन्य परजीवीरहित भौतिक अवस्थासमेत ठीक रहेको पानी नै गुणस्तरीय पानी हो। हामीले मूलतः तीन किसिमबाट पानी प्राप्त गर्दछौं।

सतहको पानीअन्तर्गत नदी, खोला, मूल, खोल्सा, ताल, पोखरी आदि स्रोतमा पाइने पानी हो। नेपालको सन्दर्भमा हामीले यी सबै प्रकारका स्रोतबाट पिउने प्रयोजनका लागि पानी प्रयोग गरिरहेका छौं। त्यसैगरी ह्यान्डपम्प, सेलो टयुबवेल, बोरिङ जस्ता भूमिगत पानीको प्रयोग पनि उत्तिकै गरिरहेका छौं। यसका अतिरिक्त आकाशको पानीलाई पनि कतिपय अवस्था र ठाउँअनुसार प्रयोग गरिएको पाइन्छ। यसरी जुनसुकै स्रोतसाधनबाट पानीको उपयोग गरे पनि ती कुनै न कुनै किसिमले प्रदूषित भएको पाइन्छ। खासगरी हामीले पिउने पानी निम्नअनुसार प्रदूषित हुने गर्छ।

१. उद्योगजन्य स्रोतहरू

यसअन्तर्गत उद्योग सञ्चालनका क्रममा उपउत्पादकको रूपमा निस्कने जैविक, अजैविकलगायत विभिन्न किसिमका विषादी पानीका स्रोतमा मिसाइदिँदा पानी प्रदूषित हुने देखिन्छ।

२. घरायसी स्रोतहरू ः यसअन्तर्गत विभिन्न घरायसी क्रियाकलापबाट उत्पन्न हुने फोहरपानी, साबुन तथा डिटर्जेन्टयुक्त पानी कुनै पनि किसिमले पानीको स्रोतमा मिसिँदा पानी प्रदूषित हुने गर्छ।

३. कृषिजन्य स्रोत ः हामीले उपयोग गर्ने विभिन्न खाद्यान्न बालीको उत्पादन क्षमता अभिवृद्धि गर्नका लागि थरीथरीका कीटनाशक औषधि, फन्जिसाइडहरूका अतिरिक्त डीएपी, युरिया जस्ता रासायनिक मलको अधिकतम प्रयोगका कारण ती सबैका अवशेष पानीको स्रोतहरूमा मिसिँदा पानी प्रदूषित हुन्छ।

४. पेटोलियम पदार्थ डिजेल इत्यादि ः पेट्रोल, डिजेलजस्ता हाइडोकार्बन यौगिकहरूको चुहावट तथा तिनीहरूको जलनबाट उत्पन्न हुने विषालु ग्याँस विभिन्न माध्यमबाट पानीमा मिसिन जाँदा पानी प्रदूषित हुने देखिन्छ।

५. ढल व्यवस्थापन ः हाम्रोजस्तो अल्पविकसित देशका सबै ठाउँमा ढल प्रणालीको समुचित व्यवस्थापन नहुँदा र खानेपानी वितरण प्रणाली तथा ढल निष्कासन प्रणाली एवं सडक सम्भार प्रणाली परस्परमा जोडिएर जाँदा चुहावट भई पानीमा मिसिँदा प्रदूषण भएको देखिन्छ। यसका अतिरिक्त खानेपानी वितरण प्रणालीमा प्रयोग हुने कमसल किसिमका पाइपमा छिटो खिया लाग्ने हुँदा पानी प्रदूषित हुने देखिन्छ।

६. प्राकृतिक रूपमा पाइने विभिन्न तत्वहरूको मिसावट ः भौगर्भिक विचलन हुँदा पृथ्वीमा विद्यमान कपर, साइनाइड, लिड, सल्फाइड, सल्फेट, क्याडमिएम, मर्करीजस्ता हानिकारक तत्वहरूको अति संघन भई पानीका स्रोतमा मिसिँदा प्रदूषित हुने देखिन्छ।

पानी प्रदूषित हुनबाट जोगाउने उपाय सामान्यतया पानी र यसका स्रोत मानवीय क्रियकलापबाट प्रदूषित हुने हुँदा स्वयं मानिसहरू सचेत भएर पानीका स्रोत प्रदूषित हुनबाट जोगाउन उत्पे्ररित हुनुपर्छ। यसका लागि निम्नअनुसार गर्दा पानी प्रदूषण हुनबाट जोगाउन सकिन्छ–

१. उद्योगबाट निस्कने विभिन्न जैविक, अजैविक एवं अन्य विषादीयुक्त पानीलाई पिउने पानीको स्रोतमा नमिसाई त्यसको उपचार गरेर मात्र व्यवस्थितरूपमा विर्सजन गर्नुपर्ने देखिन्छ।

२. घरायसी क्रियाकलापबाट उत्पादन भएका फोहर र फोहर पानीलाई पिउने पानीका स्रोतमा नमिसाई उचित तरिकाले व्यवस्थापन गर्न सके मात्र पानी प्रदूषण हुनबाट रोक्न सकिन्छ।

३. कृषि उत्पादनका लागि प्रयोग गरिने विषादी एवं रासायनिक मलको सीमित प्रयोग एवं प्रयोगपछि त्यसको अवशेषलाई निस्तेज पारी पानीको स्रोतमा पहुँच नदिई पानी प्रदूषण हुनबाट रोक्न सकिन्छ।

४. विद्यमान डिजेल पेट्रोलयुक्त गाडीको साटो ब्याट्री एवं सोलार पावरबाट चल्न सक्ने भेहिकलको व्यवस्थापन गर्न सके मात्र त्यसबाट पानीमा हुन सक्ने प्रदूषण रोक्न सकिन्छ।

५. खानेपानी वितरण प्रणालीका पाइपहरू गुणस्तरीय हुनुपर्ने साथै खानेपानी, ढल, विद्युत एवं सडक विस्तारका कार्यक्रम समन्वयात्मक तरिकाले गर्न सके मात्र पानीको स्रोत प्रदूषित हुनबाट रोक्न सकिन्छ।

अन्त्यमा, विभिन्न किसिमका सावधानी अपनाउँदा—अपनाउँदै पनि हामीले पिउने पानी प्रदूषित हुन सक्ने हुँदा हिउँद र बर्खा गरी कम्तीमा पनि वर्षको दुईपटक पानीको नमुना परीक्षण गराई पानीको प्रयोग गर्दा राम्रो हुन्छ। यसका लागि नजिकैको पानी परीक्षण प्रयोगशालामा गई पानी परीक्षण गराउनुपर्छ। पानीमा कोलिफर्म ब्याक्टेरिया पाइएमा पिउने पानीलाई राम्रोसँग उमाली अथवा क्लोरिनको झोल उपर्युक्त मात्रामा मिलाई प्रयोग गर्नुपर्छ। रासायनिक तत्व राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार नपाइएमा पानीलाई विभिन्न तरिकाले शुद्धीकरण गर्नुपर्ने हुन्छ। घरायसी फिल्टरदेखि बजारमा पाइने फिल्टरहरूसमेत प्रयोग गर्न सकिन्छ।

—आचार्य खानेपानी तथा ढल निकास विभागका रसायनशास्त्री हुन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here