झापामा ३ सय ३४ जना नयाँ क्षयरोगी

0
818

झापा/ झापामा फेला परेका छन् । चालू आर्थिक वर्षको पहिला चौमासिकको अवधिमा जिल्लामा ९४ जना महिला र २ सय ४० पुरुषगरी ३ सय ३४ जना नयाँ क्षयरोगी फेला परेको जिल्ला जनस्वाथ्य कार्यालय झापाका क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले जानकारी दिए ।
उनका अनुसार जिल्लाका बढी प्रभावित १० स्थानमध्ये दमक सबैभन्दा धेरै ५० जना (महिला १७, पुरुष ३३) र तोपगाछीमा सबैभन्दा कम ८ जना (महिला २, पुरुष ६) क्षयरोगी फेला परेका छन् ।
त्यस्तै, शनिश्चरेमा ३६ जना (महिला १६, पुरुष २०), बिर्तामोडमा २२ जना (महिला ६, पुरुष १६), काँकरभिट्टामा १७ जना (महिला ६, पुरुष ११), सुरुङ्गा १६ जना (महिला ३ जना, १३ पुरुष), सतासीधाममा १५ जना (महिला ५, पुरुष १०), भद्रपुर ११ जना (महिला २, पुरुष ९) पुरुष र लखनपुर १० जना (महिला ३, पुरुष ७) नयाँ क्षयरोगी फेला परेका छन् । बाँकी छिटपुट रुपमा जिल्लाका विभिन्न स्थानमा क्षयरोगी फेला परेको कार्यालयले जनाएको छ ।
जिल्लामा आव २०७२÷०७३ मा १ हजार ८६ जना (महिला ३८० र पुरुष ७०६) र आव ०७३÷०७४ मा १ हजार ७० जना (महिला ३७६ र ६९४ पुरुष) मा क्षयरोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्ला जनस्वास्थ्यले विराट नेपाल मेडिकल ट्रष्ट सहयोगमा जिल्लामा क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको दाहालले बताए । ट्रष्टको सहयोगमा ल्याबको सुविधा नभएको स्थानबाट खकार संकलन गरेर ल्याबसम्म पुर्याउने र रोगी परिवारका सबै सदस्यको खकार परीक्षण गर्ने गरिएको छ ।
हाल जिल्लाका ५३ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको छ भने १८ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क खकार परीक्षण हुँदै आएको छ ।
क्षयरोगीलाई डट्स प्रविधिबाट (स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा) उपचार गरिँदै आएको छ । पहिलो चरणको नयाँ बिरामीलाई ६ महिना र औषधि अनियमित भएका र रोग बल्झिएका बिरामीलाई ८ महिना औषधि सेवन गराएर उपचार गरिँदै आएको छ ।
झापामा गत वर्ष ९ जनाको क्षयरोगका कारण मृत्यु भएको कार्यालयले जनाएको छ । ‘विश्वमा बर्सेनि साढेसात लाख मानिसको मृत्यु हुने गरेको छ’, जिल्ला जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले भने, ‘रोगका कारण बिरामीको मृत्यु हुने रोगमध्ये क्षयरोग नवौँ स्थानमा पर्छ ।’
झापामा क्षयरोगी पत्ता लगाउने कार्यमा ६० प्रतिशतमात्र लक्ष्य हासिल हुने गरेको अधिकृत दाहालले बताए । ‘१५–४९ वर्ष उमेर समूहका बिरामीको संख्या बढी छ’, उनले भने, ‘झापामा भेटिएका क्षयरोगीमध्ये ९२ प्रतिशतको सफल उपचार भएको छ ।’
नेपालमा कूल जनसंख्याको ४५ प्रतिशत मानिस क्षयरोगको जोखिममा रहेका छन् । बर्सेनि ४० हजार मानिसमा क्षयरोगको संक्रमण हुने गरेको छ भने २० हजार जनालाई क्षयरोग लाग्ने गरेको कार्यालयले जनाएको छ । जसमध्ये ५ देखि ७ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ । विश्वभरको तथ्यांक हेर्ने हो भने प्रतिदिन ४ हजार मानिसले क्षयरोगका कारण मृत्युवरण गरिरहेका छन् ।
सरकारले सन् २०५० सम्ममा मुलुकमा प्रतिलाख जनसंख्यामा १ भन्दा कम क्षयरोग संख्या बनाउने लक्ष्य लिएको छ । क्षयरोग अतिप्रभावित २२ वटा जिल्लामध्ये झापा छैठौँ स्थानमा रहेको कार्यालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here