दमक/ होली पर्वलाई मर्यादित बनाउन सबैले सहयोग गर्नु पर्ने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको अन्तर्कि्रया कार्यक्रममा बोल्दै दमक प्रहरी प्रमुख गिरीले प्रहरीको मात्रै एकल प्रयासमा सामाज सम्बृद्ध नबन्ने बताउँदै सबैलाई सहयोगको लागि आग्रह गरेका छन् ।
होलीको बहानामा भाङ, धतुरोका साथै मदिरा सेवन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र उश्रृखल गतिबिधि गर्ने जो कोहिलाई कानुन अनुसार कारबाही गरिने डिएसपीको भनाई छ । अन्तरक्रियामा विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक ब्याक्तित्वले सुझाव समेत राखेका थिए ।
इच्छा बिपरीत रंग दल्ने, जबरजस्ति गर्नेहरुलाइ पक्राउ गरिने उनले जानकारी दिए । मादक पदार्थ खाएर सवारी चलाउने काम पनि नगर्नका लागि उनले आग्रह गरेकाछन् । अटेर गर्नेलाइ पक्राउ गरेर कानून बमोजिम कार्वाही गरिने र यसमा कसैलाइ पनि सोर्सफोर्स नलाग्ने उनले स्पष्ट पारे ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विनोदकुमार खतिवडाले ट्राफिक नियम पालना नगर्नेलाइ कार्वाही गर्ने बताए । फोन गरेर त्यस्ता ब्याक्तिलाइ छुटाउन नभन्न भन्दै भनेमा त्यो नमान्ने पनि जनाए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रोशन गौतम होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगाल, उपाध्यक्ष सुधिर प्रधान, लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, जिबन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, महिला नेतृ निर्मला पाठक यातायात मजदूर नेता विश्वासकुमार काश्यप लगायतले सुझाव दिएका थिए ।
यसैविच फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व विहिवार पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाईएको छ । पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा र खोटाङ जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको जिल्ला समाचादाताहरुले जनाएका छन् ।
बिभिन्न रंगहरुमा रंगिएका नागरिकहरुले सडक बजारहरुमा निश्किएर होली मनाएका छन् । झापामा होलीको सरकारी बिदा आज भए पनि विहिवार होली खेलिएन । पहाडि जिल्ला संग जोडेर सरकारले झापालाई अघिल्लो दिन नै सरकारी बिदा दिए पनि दोस्रो दिनमात्र होली खेलिने भएको हो ।