आर्थिक अभावले बहुभाषिक विद्यालय संकटमा

0
249

दमक/ झापा जिल्लामा सञ्चालित बहुभाषिक विद्यालयहरू संकटमा परेका छन् । आर्थिक तथा प्रशासनिक कठिनाइका कारण बहुभाषिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
जिल्लामा तीनवटा बहुभाषिक विद्यालय सञ्चालित छन् । तीनवटै विद्यालय गौरीगन्ज गाउँपालिकाभित्र पर्दछन् । प्रशासनिक तथा आर्थिक अभावमा गौरीगन्ज ५ मा पर्ने तारा बहुभाषिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।
०६७ को शैक्षिक सत्रदेखि सुरु भएको उक्त विद्यालयमा ०७३ सम्म कक्षा ५ सम्म पढाइ हुन्थ्यो । तर, आर्थिक अभाव भएपछि विद्यालयमा चालु शैक्षिक सत्रमा कक्षा ३ सम्म मात्रै पढाइ भइरहेको छ ।

विद्यालयलाई अहिलेसम्म जिल्ला शिक्षा कार्यालयले दर्ता दिएको छैन । विद्यालयकी प्रधानाध्यापक सुमित्रा राजवंशीले भनिन्, ‘जिशिअले दर्ता गरिनदिँदा विद्यालय सञ्चालनमा निकै कठिनाइ भइरहेको छ । त्यसमाथि आर्थिक स्रोत समेत नहुँदा अर्काे वर्षदेखि विद्यालय चलाउने कि बन्द गर्ने भन्ने अवस्थामा पुगेका छौं ।’
विद्यालयमा स्थानीय गरिब तथा विपन्न वर्गका आदिवासी समुदायका ६० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा स्थानीय राजवंशी भाषाबाट समेत पठनपाठन हुने गरेकोले विद्यार्थीको शैक्षिक प्रगति राम्रो रहेको स्रोत व्यक्ति डिल्लीराम अधिकारीले बताए । ‘घरमै बोल्ने भाषामा विद्यालयमा पठनपाठन हुने गरेकाले विद्यार्थीले छिटै सिक्ने गरेका छन् ।’ अधिकारीले भने, ‘तर, सरकारी सहयोग पाउन नसक्दा विद्यालय संकटमा परेको छ ।’ गत वर्षसम्म ५ जना शिक्षक रहेकोमा अहिले घटाएर एक जना कार्यालय सहयोगी र तीन जना शिक्षक कार्यरत छन् । तर, उनीहरू कसैले पनि १८ महिनादेखि तलब नपाएको प्रधानाध्यापक राजवंशीले बताइन् । ‘अहिले हामीबिना तलब काम गरिरहेका छौं । विद्यालय बच्यो भने हामीलाई पनि राम्रो हुन्छ कि भन्ने आशमा काम गरिरहेका छौं । १८ महिना भइसक्यो एक रुपैयाँ पाएका छैनौं,’ उनले भनिन् ।
उक्त वडामा चिल्लारा आधारभूत विद्यालय र वडा २ मा रहेको आमगाछी आधारभूत विद्यालयमा पनि आर्थिक संकट देखिएको छ । नियमित बजेटको व्यवस्था नभएको तथा शिक्षक दरबन्दी समेत नभएकाले विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको चिल्लाराका प्रधानाध्यापक जीतबहादुर राजवंशीले बताए । तीनवटै विद्यालय ०६७ को शैक्षिक सत्रदेखि सुरु भएका हुन् । नेपाली राष्ट्रिय भाषाहरूको संरक्षण संस्थाको पहलमा ती विद्यालयहरू स्थापना भएका हुन् ।
संस्थाले पाँच वर्षसम्म सबैखाले सहयोग गरेको थियो । तर, त्यसपछि सहयोग कटौती गरेपछि बहुभाषिक विद्यालयहरू संकटमा परेको आमगाछीका प्रधानाध्यापक विष्णुप्रसाद राजवंशीले बताए । तीन वटै विद्यालयमा केजीदेखि कक्षा १ सम्म पूर्णरूपमा स्थानीय राजवंशी भाषाबाट पठनपाठन हुने गर्दछ । त्यसपछि एउटा विषय राजवंशी राखेर अन्य पाठ्यपुस्तक विद्यार्थी सहजताअनुसार नेपाली र राजवंशी भाषामा बुझ्ने गरी पढाइने गरिन्छ ।
उनका अनुसार संस्थाले चिल्लारा र आमगाछीका शिक्षकहरूको तलबमा भने न्यूनतम सहयोग गरिरहेको छ । आमगाछीमा ५ र चिल्लारामा ४ जना शिक्षक कार्यरत छन् । शिक्षकहरूले बढीमा मासिक ८ हजार ५ सय रुपैयाँ मात्रै तलब सुविधा पाउने गरेका छन् । चिल्लारामा एक सय एक जना र आमगाछीमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । प्रअ विष्णुप्रसाद राजवंशीका अनुसार संस्थाले चालु शैक्षिक सत्रसम्म मात्रै तलबमा सहयोग गर्ने जनाएको छ । ‘नयाँ शैक्षिक सत्रदेखि हामीलाई कसले तलब दिने हो केही थाहा छैन,’ राजवंशीले भने, ‘आर्थिक अभाव र अन्योलकाबीच विद्यालय चलाइरहेका छौं ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here