मोरङ/ सफासुग्घर रहेका शौचालयलाई बिहीबार पुरस्कृत गरिएको छ । सातवटा शौचालयको बुधबार निरीक्षण गरेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरको हाटखोलामा रहेको सार्वजनिक शौचालयलाई पुरस्कृत गरे ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगर महानगरपालिकाको हाटखोलास्थित सार्वजनिक शौचालयका सञ्चालकलाई बिहीबार पुरस्कृत गर्दै ।
आफूले निरीक्षण गर्दा सरसफाईलगायतको मापदण्ड पूरा भएको भन्दै शौचालयका सफाइ मजदुर ममता मरिकलाई नगद ५ हजार, प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाए । जीवनमा पहिलोपटक सम्मानित र पुरस्कृत हुँदा ममता दंग छिन् । फोहोरमुक्त प्रदेश निर्माणका लागि सार्वजनिक शौचालयको अनुगमनबाट काम थालेको मन्त्री घिमिरेले बताए ।
‘सरसफाइको अवस्थाले प्रदेशको समृद्धि र सभ्यता झल्किन्छ,’ उनले भने, ‘सरसफाइले प्रदेशवासी स्वस्थ हुन्छ र प्रदेश सभ्य हुन्छ ।’ मन्त्रालयको भौतिक व्यवस्थापनमा मात्रै लागेर नहुने मन्त्री घिमिरेको भनाइ छ । ‘मेरो मन्त्रालयको जिम्मामा सरसफाइ पनि छ, त्यसैले शौचालयबाट काम सुरु गरेको हुँ,’ उनले भने, ‘यसले निरन्तरता पाउँछ ।’
मन्त्रालयका उपसचिव खणेन्द्र रेवतीको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समितिसमेत बनाएको छ । समितिमा जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता, खोनपानी तथा सरसफाइ डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर मोहन महाशेठ, पब्लिक फोरमका उत्तम ढुंगेल र लवकुमार ताम्राकार रहेका छन् । समितिले सरसफाइ, लैङ्गिक र अपांगमैत्री, पानी, बत्ती, सुरक्षात्मक उपायलगायत १२ वटा मापदण्ड बनाएर काम थालेको छ । जिल्ला मालपोत, कोसी अञ्चल अस्पताल, वडा प्रहरी कार्यालय (ख), विराटनगरकै ट्राफिक चोकमा रहेको सार्वजनिक शौचालय, सरस्वती माध्यमिक विद्यालय, बाबा जुट मिलका शौचालयको मन्त्री घिमिरे आफैंले निरीक्षण गरेका थिए ।
एक साताअघि नियुक्त भएका मन्त्री घिमिरेको मन्त्रालयमा भने आफू बस्ने कोठा मात्र छ । जिल्ला जनस्वास्थ्य कार्यालयको भुइँ तलामा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव मंगलबार साँझ मात्र आइपुगेकाले व्यवस्थित रूपमा काम सुरु हुन सकेको छैन ।
सचिव आउन ढिलाइ गरेका कारण मन्त्रालय व्यवस्थापनका कामले पनि गती लिन सकेको छैन । मन्त्रालयको कार्य क्षेत्रको विषयमा ५२ क्षेत्रका विज्ञहरू बिहीबार छलफल गरिएको छ ।
सौचालय सफा राख्नेलाई पुरस्कार
फेसबूकमा कमेन्ट्स गर्नुहोस्