आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : कांग्रेस महामन्त्री शर्मा

0
171

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गर्नुभयो । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रणगर्दे महामन्त्री शर्माले पार्टीप्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताउनुभयो ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उहाँले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पार्नुभयो । आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै महामन्त्री शर्माले सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै उहाँले त्यसका लागि आपूm र नेतृत्वले संयोजन गर्ने उल्लेख गर्नुभयो । मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् युनियनका महासचिव अजयबाबु शिवाकोटीले आफूलाई निर्वाचित बनाउने अभियानमा युनियन र मिडियाको पनि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउनका लागि अग्रजसँग समूहगतरुपमा क्रियाशील भएर काम गर्ने बताउनुभयो ।

युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्नुभयो । साथै उहाँले मिडिया र सञ्चारकर्मीलाई सहयोग पुग्ने गरी प्रभावकारी योजना ल्याउन वर्तमान सरकारलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा सुरेश आचार्य, वरिष्ठ पत्रकार कविर राणा, महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाललगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै लोकतन्त्रको सुदृढिकरणका लागि सबै राजनीतिक दलले यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here