विराट मेडिकल कलेजमा आधुनिक र सुव्यवस्थित पुस्तकालय स्थापना

0
252

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मेडिकल साइन्सका विद्यार्थीलाई लक्षित गर्दै अत्याधुनिक लाइबे्ररी सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याउनु भएको हो ।

आफ्ना मातापिताको नाममा मेडिकल कलेज भित्र स्थापना गरिएको पुस्तकालयको काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले सोमबार उद्घाटन गर्नु भएको हो ।

ई–लाइबे्ररीसहितको सुविधा रहेको लाइबे्ररीमा मेडिकल साइन्ससहित साहित्यका प्रशस्त पुस्तकहरु राखिएका छन् । विज्ञान तथा मेडिकल क्षेत्रका विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक तथा सामाग्री अध्ययनका लागि सुव्यवस्थित संरचना निर्माण गरिएको छ ।

सत्र हजार बर्गफिट क्षेत्रफलमा रहेको लाइब्रेरीमा एकै पटक सातसय जनाले अध्ययन गर्नसक्नेछन् । अध्ययन मात्रै नभई एकअर्काबीच छलफल गर्नुपर्ने अवस्था आएमा पाँचवटा कोठा समेतको सुविधा रहेको छ । पहिलो चरणमा विराट मेडिकल कलेजका विद्यार्थी लक्षित गरिएको भएपनि अन्य मेडिकल कलेजका विद्यार्थीलाई समेत अध्ययनको अवसर दिईने छ । त्यसका लागि अन्य पुस्तकालयको सदस्य लिए झैं निश्चित शुल्कमा त्यहाँ समेत सदस्य बन्न पाउने सुविधा दिइने छ ।

उद्घाटनका क्रममा काठमाण्डौं विश्वविद्यालयका उपकुलपति थापाले मेडिकल कलेजका लागि व्यवस्थित पुस्तकालय मेरुदण्डकै रुपमा मानिने बताउनुभयो । उहाँले मेडिकल कलेजहरुले अध्ययनसँगै अब अनुसन्धानको क्षेत्रमा ध्यानदिनुपर्नेमा जोड समेत दिनुभयो । साना भन्दा साना कुरालाई समेत संग्रह गरेर राख्नसक्दा भविष्यमा त्यसबाट नयाँ कुरा सिक्न सकिने उहाँको धारणा थियो । उपकुलपति थापाले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई समेत चाँडै नै सम्बन्धन प्रदान गरिने बताउनुभयो । मेडिकल कलेजहरुकै कारण आजको जोखिम अवस्था चिर्नका लागि सहज भएको उपकुलपति थापाको भनाई थियो ।

अध्ययन गर्नुपर्ने विद्यार्थीले जहाँ पुगेर भएपनि अध्ययन गर्ने भएपनि उपचार गर्ने सर्वसाधारणलाई पर्दै आएको समस्या मेडिकल कलेजकै कारण हल हँदै गएको उहाँको बुझाई थियो । संरचना पर्याप्त भएका मेडिकल कलेजहरुलाई सम्बन्ध दिएर विदेशमा जाने विद्यार्थीलाई नेपालमै रोक्न सकिने र खोज अनुसन्धानको क्षेत्रमा लगानी बृद्धि गर्दै विदेशका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिनेमा उहाँको जोड थियो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा.कार्कीले आफु ३ वर्षको हुँदा २०२० सालमा बुबाको मृत्यु भएकोले बुबा र आमाको नाममा केहि न केहि गर्नुपर्ने आफूलाई ईच्छा रहेको बताउनुभयो । त्यो ईच्छा व्यवस्थित पुस्तकालयमार्फत पूरा गरेको उहाँले बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here