अब रोजगारीका लागि बिदेश जानु पर्दैन : प्रधानमन्त्री केपी शर्मा ओली

0
344

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा आइतबार देशकै ठूलो औद्योगिक पार्कको शिलान्यास गरेका छन् ।

दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकाको एकीकृत जग्गामा बनाउने भनिएको पार्क शिलान्याससँगै पहिलो चरणमा २ अर्ब लगानी हुने र ४५ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने प्रधानमन्त्री ओलीले जनाए । पार्कलाई प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको लगानी बोर्डले दुई वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन निर्माण गरेर काम सुरु गरेको थियो ।

“पार्क निर्माण अवधि १० वर्ष रहेको छ” ओलीले भने, “१० वर्षभित्र लाखौँले रोजगारी पाउनेछन्, नेपाल उत्पादक र बिक्रेताको रूपमा विश्वमा चिनिनेछ ।” पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङ–पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडको लगानी रहनेछ । नेपाल सरकारले कम्पनीलाई ६९ अर्ब रुपैयाँको लगानी स्वीकृत गरिसकेको छ ।सन् २०१७ मा चीनबाट आएको टोलीले पार्क निर्माण गर्ने विषयमा सो क्षेत्रको अवलोकन गरेको थियो । पार्क निर्माणको जिम्मा दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई दिइएको छ । गौरादह नगरपालिका–५, कमल गाउँपालिका–७ र दमक नगरपालिका–१० मा पार्क बन्ने भएको हो ।

पार्क निर्माणपश्चात् चीनमा स्थापित बहुराष्ट्रिय कम्पनी सो क्षेत्रमा स्थापना हुनेछन् । औद्योगिक पार्कको पहिलो चरणमा कपडा, खाद्यान्न, कृषिजन्य र विद्युतीय गाडी उत्पादन गर्ने २६ वटा कम्पनी स्थापना हुने औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।“यो पार्क नेपालकै सबैभन्दा ठूलो औद्योगिक पार्क हुनेछ, स्थापनासँगै आयात प्रतिस्थापन हुने र निर्यात बढ्नेछ,” थापाले भने, “उत्पादन कम हुने र जोखिमयुक्त क्षेत्रमा पार्क बन्न लागेको हो ।” पार्क दक्षिण एसियाकै नमूना औद्योगिक क्षेत्र बन्ने थापाको दाबी छ । पार्क स्थापनाले आर्थिक समृद्धि हुने र वैदेशिक रोजगारी घटाउने थापा बताउँछन् ।

“पार्क निर्माणमा नेपाल सरकारको लगानी भनेको उपलब्ध गराइएको जग्गा हो,” थापाले भने, “सरकारले जग्गा अधिग्रहण गरिरहेको छ, पहिलो चरणका २६ वटा कम्पनी २ वर्षभित्रमा निर्माण सम्पन्न हुनेछन् ।”पार्क ४० वर्षसम्म चीनले नै सञ्चालन गर्ने र त्यसपछि मात्र नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ । ३ खर्ब ३३ अर्बको यो योेजना मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हुनेछ । दमक नगरपालिकाले ती उद्योगहरूलाई १० वर्षसम्म कर नलिने निर्णय गरिसकेको छ । निर्माणका लागि ४ सय ११ बिघा जग्गा अधिग्रहण भइसकेको र बाँकी जग्गा अधिग्रहणको प्रक्रियामा रहेको जग्गा व्यवस्थापन कार्यालयका प्रमुख सञ्जय थापाले बताए । “सबै जग्गाको मुआब्जा १ सय ३६ करोड रुपैयाँ रहेको छ,” थापाले भने, “जसमध्ये ९५ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेका छौँ ।”

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here