दमकमा पटक पटक विद्युत अवरुद्ध, राष्ट्रिय युवा संघ द्वारा चेतावनी सहित दमक वितरण केन्द्रमा ध्यानाकर्षण

0
860

दमक/झापाको दमक र आसपास क्षेत्रमा अनियमित रुपमा विद्युत कटौती हुँदा सर्वसाधारणले समस्या ब्यहोर्नुपरेको भन्दै सत्तारुढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले आज विद्युत प्राधिकरण दमक वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।

संगठनको दमक नगर कमिटीले आज दमक वितरण केन्द्र प्रमुख जितेन्द्र यादवलाई ज्ञापन पत्र बुझाउँदै बिना कारण भइरहेको विद्युत सेवा अवरुद्ध गर्ने कार्य तत्काल रोक्न माग गरेको हो । सो संगठनले बुझाएको ज्ञापन पत्रमा ४ बर्ष यता लोडसेडिङ अन्त्य भएको महसुस नागरिकहरुले गर्दै आएकोमा पछिल्लो एक महिना यता दिनहुँ ५/६ पटक सम्म विद्युत अवरुद्ध गरिनु रहस्यमयी भएको आंशका समेत गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ – विगत करिब ४ बर्ष यता निरन्तर विद्युत सेवा सूचारु रहँदै आएकोमा पछिल्लो एक महिना यता एकाएक रहस्यमयी ढंगबाट दैनिक ५/६ पटक सम्म विद्युत सेवा अवरुद्ध हुनुको कारण के हो ? देशमा पर्याप्त जलविद्युतको उपलब्धता रहेको , सरकार र प्राधिकरण स्वयंले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको सार्वजनिक गरिरहँदा यस क्षेत्रमा चाहिं किन विद्युत सेवा अवरुद्ध गरिएको हो ? आजैदेखि विद्युत सेवा नियमित नगरिए जनतामा परेको समस्या निराकरणका राष्ट्रिय युवा संगठन जुनसुकै कदम चाल्न पछि नपर्ने पनि चेतावनी दिइएको छ ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय युवा संघका झापा जिल्ला संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल, खेम सापकोटा, डेन्जोङ लामासहितको टोली प्राधिकरणको दमक वितरण केन्द्रमा पुगेको थियो । सो टोलीले कुनैपनि बहानामा विद्युत कटौती गरेर सरकारको बदनाम गराउने कर्मचारीतन्त्रको गलत नियत हुन सक्ने भन्दै त्यस्तो जनभावना विपरित कार्य गर्ने कर्मचारीहरुमाथि कारवाहीको लागि समेत पहल गर्ने चेतावनी दिएको थियो । सो अवसरमा केन्द्र प्रमुख यादवले छिटफुट बाहेक विद्युत सेवा अवरुद्ध नभएको तर आगामी दिनमा थप सेवा अवरुद्ध हुन सक्ने अवस्था आउन नदिन उर्लाबारी सव स्टेशन तत्काल सूचारु गर्ने वातावरण मिलाउन सरकारसंग पहलका लागि अनुरोध समेत गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here