काठमाडौं, असोज १५ । सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने बैरागी पहिलो व्यक्ति हुन् । त्यसअघि मुख्य सचिव लोकदर्शन रेग्मीले मुख्य सचिवबाट राजीनामा दिएकाे थिए । आफू बेलायतमा राजदूत हुने पक्का भएपछि रेग्मीले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषदको बैठकले मुख्य सचिव रेग्मीको राजीनामा लिएर उनलाई भने बेलायतका लागि राजदूतमा नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ । यसैगरी, सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
वैरागीलाई मुख्य सचिव बनाउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओली कार्यकाल बाँकी नै रहेका रेग्मीलाई बेलायतको राजदूत बनाउन सरकार तयार भएको हो । रेग्मीको पदावधि सकिनु अगावै वैरागीले यही असोज २१ गते नियमति अवकाश पाउने भएपछि रेग्मीलाई बेलायतको राजदूत पद दिएर सरकारले बैरागीलाई मुख्य सचिव बनाइएको हो।
रेग्मीको कार्यकाल सकिन भने अझै दुई हप्ता बाँकी थियो । तर प्रधानमन्त्री बैरागीलाई मुख्य सचिव बनाउने पक्षमा भएपछि बेलायतको राजदूत बनेर रेग्मीले राजीनामा दिएका हुन् । रेग्मीले अहिले राजीनामा नदिएर असोज २२ पछि मात्र दिएको भए चन्द्र घिमिरे, विश्वनाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिवको दावेदार बन्न पाउने थिए । तर रेग्मीले प्रधानमन्त्रीको इच्छा पूरा गर्न आफू बेलायतको राजदूत बन्दै राजीनामा दिएका हुन् ।
खतिवडा भने राष्ट्रिय सभामा पुनर्नियुक्ति नपाएपछि अर्थमन्त्रीबाट राजीनामा दिई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त भएका थिए । तर प्रधानमन्त्री ओलीले खतिवडालाई पनि अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेकाे छन् । खतिवडा लगातार लाभको पदमा रहने व्यक्ति रहेका छन् ।
राष्ट्र बैंकबाट आफ्नो जागिरे जीवन शुरु गरेका उनले राष्ट्र बैंकको गभर्नर, दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्री जस्ता पद प्राप्त गरीसकेका छन् । प्रधानमन्त्री ओलीका निकट खतिवडालाई उनले अहिले अमेरिकाका लागि राजदूत बनाएका हुन् । सरकारबाट राजदूतमा सिफारिश खतिवडा र रेग्मीको संसदीय समितिमा सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।