गाेरखा, ३० साउन / पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन् । सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि सचेत भएर लाग्नुपर्ने जोड दिए ।
“नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ”, उनले भने, “भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ हामी अब सचेत हुनु जरुरी छ ।” उनले कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने बताए ।
“क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्नुपर्यो, बिरामीका निम्ती भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने जुन काम हुनुपर्ने थियो, त्यो काम भएको छैन”, डा भट्टराईले भने, “त्यसका सरकारले नियोजित र व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन ।” उनले सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति जटिल बन्दै जाने बताए ।
विश्वमा सबैभन्दा बढी सङ्क्रमित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएकाले उनले त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले बेलैमा सबै सतर्क हुनुपर्ने उल्लेख गरे ।
डा भट्टराईले आजै एक कार्यक्रमबीच गोरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गरेका छन् । उनले चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालका समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गरेका हुन् । करीब रु सात लाख पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ ।