गाउँ सम्म शहरी सुविधा पुग्दैछन् : वडाध्यक्ष प्रजापति सापकोटा

0
448

दमक / संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ ।  विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ ।  यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर २  का वडाध्यक्ष प्रजापति सापकोटा संग विकास निर्माणका र नगरकाे यातायात तथा ट्राफिक व्यवस्थापन  सम्वन्धमा गरीएकाे  कुराकानी :-

वडामा जनप्रतिनिधीको नेतृत्व आएपछि वडावासीले के परिवर्तनको महसुस गरेका छन् ?
परिवर्तन एकैसाथ त हुँदैन, क्रमश हुने कुरा हो । तर पनि यस वडामा तीनओटै तह मार्फत विभिन्न विकासका योजनाले धेरैनै परिवर्तन भएको देखाएको छ । विपन्न तथा  मध्यमवर्गीय परिवारको बसोबास रहेको र धेरै भाग ग्रामिण क्षेत्र रहेको यस वडामा क्रमश सवै सहरी सुविधाहरु पुग्दैछन् । हाम्रो कार्यकालमा कम्तिमा सवै प्रकारका आधारभूत सुविधाहरु पु¥याउने लक्ष्यका साथ काम भईरहेको छ । यस्तै सामाजिक विकास, सशक्तिकरणका क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरिएका छन् । हरियाली अभिवृद्धी, वृक्षरोपण जस्ता कार्यमा विरुवा वितरण, सरल रुपमा सवै प्रकारका सेवा प्रवाह जस्ता कुरामा पनि हामीले ध्यान दिएका छौं ।
यस वडामा संघ तथा प्रदेश सरकारबाट कस्ता योजनाहरु आई रहेका छन् र स्थानीय सरकारले कस्ता योजनाहरु कार्यान्वयन गरि रहेको छ ?
यस वडामा संघीय सरकार तथा प्रदेशबाट वृहत योजनाहरु आई रहेका छन् । जस्तो कि, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत ९० लाख रुपैयाँमा रतुवाको तटबन्धन गरिएको छ । यस्तै १ करोड ४० लाखको लागतमा थप काम पनि यस वर्ष भयो । ५७ करोड रुपैयाँको लागत रहने र वडा नं. २, ३ र ४ का बासिन्दालाई लाभ दिने गरि वृहत खानेपानी योजनाको काम भई रहेको छ । चुलाचुली जोड्ने स्थानमा झोलुङ्गे पुल बनेको छ । वनबाटीकामा पूर्वाधार निर्माण गरिएको छ । हिमावि— मधुमल्ला सडक कालोपत्रेको क्रममा छ । शिक्षा तर्फ हेर्ने हो भने हिमालय माविमा डेढ करोड रुपैयाँको लागतमा नमूना विद्यालयका लागि पूर्वाधार निर्माण भएको छ । बाँकी डेढ करोडको योजना पनि सञ्चालित छ । यस्तै प्रदेश सरकारको तर्फबाट फाल्गुनन्द बसपार्क निर्माणको काम भई रहेको छ । रतुवामा तटबन्धन हुँदैछ । गुम्बा उत्तरको बाटो पनि स्तरीकरण हुँदैछ भने विश्व बैंक र निजी क्षेत्रमार्फत फोहोर प्रशोधन र उर्जा उत्पादनको प्लान्ट पनि बनिरहेको छ । यसरी हेर्दा यस वडामा वृहत योजनाहरु सञ्चालन भएका छन् र अझै पनि कतिपय जारी अवस्थामा छन् । हामीले नगरपालिका मार्फत त्रिपुरेश्वर टोलमा कालोपत्रे गरेका छौं । सामाजिक सशक्तिकरणको काम गरेका छौं । क्षमता विकास तर्फ पनि ध्यान दिएका छौं । यहाँको कृषि क्षेत्रको आधुनिकीकरणका लागि पनि हाम्रो प्राथमिकता छ । यसरी हामी तीनओटै तहमार्फत यस वडामा सवै प्रकारको विकासका लागि लागि परेका छौं । शिक्षा तर्फनै हामीले सरस्वती आधारभूत विद्यालयमा शौचालय, रंङरोगन लगायतको काम गरिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी,पूर्वाधार लगायतका सवै क्षेत्र हाम्रो प्राथमिकतामा छन् ।
अब यस वडामा कस्ता योजनालाई प्राथमिकता दिनुपर्ने अवस्था छ ?
हामीले पूर्वाधार विकासका लागि धेरै काम गर्नु पर्छ । यस्तै यहाँका सिमसार, पोखरीहरुको संरक्षण, स्तरीकरण, वातावरण संरक्षणका लागि पनि काम गर्दैछौं भने आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालयको भवन निर्माण कार्य अघि बढि सकेकाले चाँडै पूरा हुने निश्चित छ । बाँकी कुरा विजुली र खानेपानीको पनि हो । हामी सवै घरमा यि सेवा पु¥याउने ढंगबाट लागिपरेका छौं । यस्तै यस वडामा खोलाको कटानको पनि समस्या भएकाले माथिल्लो तहका सरकारको समेत लागतमा यो काम पनि सक्न आवश्यक छ । यस्तै विपन्नताको अवस्था पहिचान गरि आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्न लगायतका अत्यावश्यक बस्तु तथा सेवाको उपलव्धतामा सहुलियत प्रदान गर्ने पनि हाम्रो लक्ष्य रहेको छ ।
आफ्नो लक्ष्य हाँसिल गर्न वडा समिति सफल भएको ठान्नु हुन्छ ?
मैले भन्नुपर्दा हाम्रो वडा समिति परिवार एक ढिक्का भएर विकास तर्फ केन्द्रित भएका छौं । सवै जनप्रतिनिधी दिनभरि वडाको विकासमानै केन्द्रित भई रहेकाछौं । नगरपालिका तथा प्रदेश र संघीय सरकारका योजनाहरु समेत यस वडामा सञ्चालित भई रहेकाले पक्कै पनि विकासको महसुस भई रहेको छ भन्ने लागेको छ । पूर्णतया सन्तुष्टि भन्दा पनि सन्तोसजन रुपमानै काम भईरहेको मैले महसुस गरेको छु ।
यातायात तथा ट्राफिक व्यवस्थापन एवम् सहरी सुदृढिकरण समितिको संयोजक पनिहुनुहुन्छ, यो समितिले कसरी काम गरिरहेको छ ?
मैले जुनरुपमा यो जिम्मेवारी पाएको छु, त्यस बेला देखिनै तोकिएको क्षेत्रमा काम गरिदै आएको छ । समितिले यातायात क्षेत्र, ट्र्राफिक प्रहरी तथा नगरबासीसँग सहकार्य गरेर काम गर्दै आएको छ । एक कार्यविधिनै पारित गरि त्यसलाई कार्यान्वयन गराउने तर्फ हामी अघि बढेका छौं । सडक किनारामा मिचिएको क्षेत्र खालि गर्ने, बसपार्क तथा विसौनीहरुलाई व्यवस्थित पार्ने, भित्री सडकहरुमा पनि भएका अवरोध हटाउने र अवरोध हुने अवस्था आउन नदिने, बढि भिडहुने स्थानहरुमा एकतर्फी मात्र पार्किङ्को व्यवस्था गर्ने लगायतका काम भएका छन् । अझै पनि हामी यो सहरलाई सुन्दर बनाउने, पार्किङलाई सरल र व्यवस्थित पार्ने तर्फ सवै पक्षसँग सहकार्य गरि अघि बढि रहेका छौं ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here