दमक/चैत ३०/ राष्ट्रिय गौरबको आयोजना अन्तर्गत पर्ने दमकमा निर्माणधीन व्यापरिक गृह सहितको एक सय मिटर अग्लो भ्यूटावर निर्माणको काम संचालन गर्ने वातावरण मिलाउन माग गरिएको छ । लामो समय देखि लकडाउनका कारण विना काम बन्दी बनेका झण्डै एक सय कामदारले काम गर्ने वा घर फर्कने वातावरण मिलाउन सरकारसंग माग गरेका हुन् ।
लकडाउनको समय सुरक्षालाई ध्यान दिँदै राष्ट्रिय गौरवको आयोजनाहरु संचालन गर्न सकिने सरकारले बताउँदै आए पनि दमकमा निर्माणधीन नमूना भ्यूटावारको काम भने बन्द रहेको छ । १ अर्व ५६ करोड बजेटको आयोजनामा दैनिक चाहिने सिमेन्ट र मेशिनको इन्धन अभावले काम रोकिएकाले संचालनको वातावरण बनाउन सरकारसँग माग गरिएको चाइनिज निर्माण कम्पनि जेसीजिआईइसी, आसीस र ओम साइराम जेभी कम्पनिका प्रोजेक्ट म्यानेजर सरजल विडारीले बताए ।
एक साताको बन्द पछि खुल्ला भन्ने आशमा बसेका ७८ जना कामदार अहिले कम्पनिको निर्माण क्षेत्र भित्र विना काम बस्न बाध्य छन् । लामो समय लकडाउन हुँदा आफूहरुलाई समस्या भएकाले काम वा घर फर्कने वातावरण मिलाउन उनीहरुले आग्रह गरेका छन् ।
केही भारतीय र अधिक नेपालका विभिन्न क्षेत्रका कामदारहरु निर्माण क्षेत्र भन्दा बाहिर निस्कन पाएका छैनन् । घर फर्कन खोज्नेहरुलाई बाटोबाटै प्रहरीले फर्काए पछि तत्काल काम खुलाउने वा घर फर्कने वातावरण मिलाउन आयोजनका सुरक्षा कर्मचारी देवीबहादुर थापाले बताए ।
दमक नगरपालिका वडा नं. ३ मा ५ विगाह क्षेत्रफलको घेरावारा भित्र ७ कठ्ठा जमिनमा व्यापरिक भवन सहित १८ तले १ सय मिटर अग्लो भ्यू टावर गत असार देखि निर्माण थालिएको हो । ३६ महिनासम्ममा सक्ने गरी निर्माण थालिएको राष्ट्रिय गौरवको आयोजना तत्काल संचालन गर्ने वातावरण मिलाउन कम्पनिका कामदारहरुले माग गरेका छन् ।