फाल्गुन महिनाको मासिक राशिफल

0
657

२०७६ फाल्गुन महिनाको सङ्क्रान्ति बिहीवार परेको छ । त्यस्तै उक्त समयमा सिंह लग्न र कृष्णपक्षको पञ्चमी तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले फाल्गुन महिनाभरि कुम्भ राशिमा विचरण गर्ने गर्दछन् । अन्य ग्रहहरूमध्ये यस महिनाको प्रारम्भमा कन्या राशिमा चन्द्रमा, धनु राशिमा मङ्गल, बृहस्पति, शनिश्चर र केतु, कुम्भ राशिमा सूर्य र बुध, मीन राशिमा शुक्र तथा मिथुन राशिमा राहु ग्रहको उपस्थिति रहेको देखिन्छ । चन्द्रमाले सामान्यतया दुई वा साढे दुई दिनमा राशि परिवर्तन गर्ने गर्दछ, त्यसबाहेक यो महिना शुक्र र शनिश्चर ग्रहले राशि परिवर्तन गर्ने सङ्केत देखिन्छ । लामो समयदेखि धनु राशिमा रहेको शनिश्चर आगामी अढाई वर्षका लागि यही फाल्गुन ०४ गतेदेखि मकर राशिमा प्रवेश गर्दैछ, त्यस्तै यस महिनाको १६ गते शुक्र ग्रहले मीन राशिको भ्रमण पूर्ण गरी मेष राशिमा प्रवेश गर्नेछ । अन्य ग्रहहरूको राशिमा कुनै परिवर्तन हुने छैन । यो महिना पूरा अवधि बुधादित्य योग रहने छ भने बुध ग्रह ०३ गतेदेखि २६ गतेसम्म बक्र गतिमा रहने देखिन्छ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनता खुसी, सुखी र प्रसन्न रहने छन् । अधिकतम उपभोग्य पदार्थको मूल्यमा गिरावट आउने छ, तर पहेंला वस्तुको मूल्यमा बृद्धि हुनेछ । दुग्धादि पौष्टिक पदार्थको उत्पादनमा बृद्धि हुनेछ । घरघरमा सुमतिको वास हुनेछ, देवता, ब्राह्मण र विद्वान्को पूजा र सम्मान हुने महिना छ । मासारम्भमा मास कुण्डलीको पञ्चमभावमा मङ्गल र शनिको युति सम्बन्ध भएकाले देशको मध्यभागमा अग्निदाह, भूचाल वा यान दुर्घटनाको संकेत देखिन्छ । त्यस्तै कुनै आकस्मिक राजनैतिक निर्णय वा परिघटनाले अचानक राजनैतिक तनाव र सरगर्मी बढ्ने महिना रहेको देखिन्छ । तेल, घिउ र किराना वस्तुको मूल्यमा बृद्धि हुने लक्षण छ । त्यस्तै फलफूल र तरकारीको मूल्यमा बृद्धि हुनेछ । महिनाको अन्त्यतिर हावा चल्ने र आँधीहुरीको सम्भावना पनि रहने छ, जसका कारण तराई र भारतमा धनजनको क्षति हुनसक्छ । त्यसबाहेक समाजमा सानातिना आपराधिक गतिविधिमा बृद्धि हुने सङ्केत पनि छ, चोरीडकैती जस्ता उपद्रवका समाचार सुन्न पाइने छ । सेयर कारोबारमा सामान्य छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यो महिना राज्यस्थानमा सूर्य र भाग्यभावमा राशिस्वामी मंगलको उपस्थिति रहने समय छ । परिणामतः तपाईंका इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा/प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । यसै महिना कर्मेश र लाभेश मानिने शनिश्चर ग्रहको राशि परिवर्तन हुँदैन ।

यसको प्रभावले प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । बन्दव्यापार र नोकरीका सिलसिलामा गरिएका यात्राहरू लाभकारी सिद्ध हुनेछन् । पारिवारिक जीवन संतोषप्रद रहनेछ । यद्यपि कामको बोझ धेरै नै हुन्छ, पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यमा उतारचढाव आइरहन्छ, तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै किसिमको विघ्न र जोखिम नआओस भन्ने उद्देश्यले तपाईंले कुल र पितृको आराधना गर्ने वा हनुमान् चालिसाको नियमित पाठ गर्दा राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
फाल्गुन महिनामा राशिस्वामी शुक्रले लाभस्थान र व्ययस्थानको यात्रा गर्ने समय छ भने मासाधिपति सूर्यले दसौं घरको यात्रा गर्नेछ । सूर्यको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्र्रगति हुनेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । महिनाको १६ गतेसम्म राशिस्वामी शुक्रको समेत लाभ भावमा उपस्थिति रहने हुँदा यो महिनाको उत्तरार्द्धका तुलनामा पूर्वार्द्ध बढी लाभकारक र अनुकूल हुने देखिन्छ, तर महिनाको अन्त्यतिर आकस्मिक र बाध्यताकारी खर्चको मात्रामा बृद्धि हुने सम्भावना हुन्छ । उता यसै महिनाको ०४ गते शनिश्चर ग्रहले राशि परिवर्तन गरी मकर राशिमा प्रवेश गर्नेछ ।

यस परिवर्तनबाट तपाईंको अढैया दशाको समाप्ति हुँदैछ । शनिश्चर ग्रहको राशिपरिवर्तनको प्रभावले आगामी केही समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ । तपाईंबाट भएका प्रयासको राम्रो परिणाम आउन थाल्नेछ । राजनैतिक/प्रशासनिक पदका व्यक्तित्व रं मातापितासँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो यात्राबाट लाभ प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्णरूपेण सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । सानातिना मौसमी रोगले भने सताउन सक्छ । दुर्घटनाजन्य जोखिमको निवारणका लागि तपाईंले सिद्धि गणेशको पूजाआराधना गर्नु वा दैनिक रूपमा भगवती दुर्गाको सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नु उत्तम हुनेछ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यभावमा राशिस्वामी बुधका साथमा सूर्यको उपस्थिति रहने भएकाले बुधादित्य योग रहने महिना छ, फाल्गुन महिना । परिणामतः यो महिना पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति/प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भााग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । उता बुधको प्रभावले वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । यसै महिनामा शनिश्चर ग्रहले गोचरको आठौं भावमा प्रवेश गर्दैछ, अब आगामी अढाई वर्षका लागि अढैया दशाको अवधि सुरु हुनेछ । शनिश्चर ग्रह तपाईंको अष्टम र नवम भावको मालिक भएकाले यसबाट केही हदमा सकारात्मक फल नै प्राप्त हुनेछ । तर अढैयाको प्रकोपबाट यस अवधिमा तपाईंको कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा हुन्छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ ।

साथीभाइ र सहयोगीले आफ्नो वचन पूरा गर्न सक्दैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । त्यसैले यस राशिका जातकले आआफ्नो कुण्डलीमा शनिश्चर ग्रहले बनाउने प्रभावको अध्ययन गरी स्वस्तिशान्ति गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । समग्रमा यो महिना सामान्यतया सबैले शुभफल नै पाउने छन्, यद्यपि राशिस्वामी बुध ग्रह अस्त रहेकाले अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा गाईलाई खानेकुरा दिएको जाति हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आठौं भावको सूर्य एवं षष्ठम भावमा रहेको मंगल र शनिको युतिसम्बन्धको प्रभावले यो महिना त्यति लाभप्रद महिना देखिंदैन । छैटौं भाव रोगकारक र अष्टम भाव संकट कारक भएकाले यी दुबै भाव दुर्घटनाकारक भाव बन्न पुगेकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग बनेको समय छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । यस अवधिमा चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ ।

आफन्तले बारम्बार धोका दिन सक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । विपरीत लिङ्गीसँगको सम्बन्ध राम्रो हुनेछैन । उता आगामी फाल्गुन ०४ गते शनिश्चरले तपाईंको सप्तम भावमा गोचर गर्नेछ । यो दाम्पत्यजीवन र साझेदारीसँग सम्बन्धित घर हो । शनिको सातौं भावको यात्राका क्रममा साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । जीवनसाथी वा विपरीत लिङ्गी मित्रसँग पनि राम्रो सम्बन्ध हुनेछैन । समग्रतामा यो महिना त्यत्ति लाभकारक समय देखिंदैन । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईंले सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राशिस्वामी सूर्यले सप्तम भावको यात्रा गर्ने महिना हो, फाल्गुन महिना । तपाईंको लग्नभावमा पूर्णदृष्टिले राशिस्वामीको दृष्टि परेको हुँदा यो महिना प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्दव्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । तर सातौं भाव साझेदारी र प्रणयसम्बन्धसँग सम्बन्धित घर भएकाले तपाईंको जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् ।

आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । यस महिनाको ०४ शनिश्चर ग्रहले राशिपरिवर्तन गरी छैठौं घरमा प्रवेश गर्नेछन् । यसको प्रभावले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीले बदख्वाइँ गर्ने प्रयास गर्न सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल रहनेछ । ससाना यात्रा उपयोगी हुनेछ । पारिवारिक वातावरण पूर्ण संतोषप्रद हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना नकारात्मक प्रभाव हाबी नहोस् भन्ने उद्देश्यले तपाईंले दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
षष्ठम भावमा बसेको क्रूर ग्रहको गोचरमा शुभफल प्राप्त हुन्छ भन्ने मान्यता रहेको हुँदा फाल्गुन महिनामा सूर्यले तपाईंको राशिको छैटौं भावको यात्रा गर्ने भएकाले यो समय उपयोगी समयका रूपमा लिन सक्नुहुन्छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर तपाईंको राशिस्वामी बुधसमेत बक्र र अस्तावस्थामा यो महिनाभरि सूर्यकै साथमा छैटौं भावमा नै भ्रमणशील रहने छ । कुण्डलीको छैटौं भाव झगडा र रोगको घर भएकाले मौसमी रोगको चाप बढ्ने सम्भावना हुन्छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ, खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । त्यस्तै यसै महिनामा शनिदेव चतुर्थ भावको यात्रा पूर्ण गरी पाँचौं घरमा प्रवेश गर्ने समय हो ।

त्यसैले अब तपाईंको अढैया शनिको महादशाको समाप्ति हुँदैछ । तपाईंको बुद्धिक्षेत्रको समेत मालिक शनिश्चर महाराज नै हुने भएकाले यस राशिपरिवर्तनको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । प्रणय र प्रेमसम्बन्धका निमित्त राम्रो समय छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । बन्दव्यापार वा पेसाबाट लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् । खासगरी छात्रछात्राका लागि आगामी साढे दुईवर्ष अत्यन्त सकारात्मक समय रहने देखिन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । बुध ग्रह अस्त रहेकाले यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् र शुभफलमा बृद्धि भइरहोस् भन्ने कामनाले तपाईंले कुनै एउटा आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नु राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
महिनाको उत्तरार्द्धमा राशिस्वामी शुक्रले सप्तम भावको यात्रा गरी लग्नमा पूर्णदृष्टि लगाउने तथा मासाधिपति सूर्यले पञ्चम भावको यात्रा गर्ने यो महिना तपाईंका लागि अत्यन्त शुभ परिणाम पाउने समय रहेको देखिन्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षामा निरन्तर बृद्धि भइरहनाले असन्तुष्टिको पारो समेत बढ्ने परिस्थिति बन्ने समय छ । छोराछोरी प्रतिको जिम्मेबारीसमेत बढ्ने समय छ । खासगरी बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्नसक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ ।

उता महिनाको १६ गतेपछि राशिस्वामी सप्तम भावको यात्रा गर्ने तर त्यसअघि सुरुदेखि नै छैटौं भावको यात्रा गर्ने भएकाले त्यसअघि विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ, होस राख्नुपर्छ । उता यसै महिनाको ०४ गतेदेखि शनिश्चर ग्रहले राशिपरिवर्तन गरी चौथो भावमा यात्रा गर्नेछ । यो तपाईंका लागि अढैया महादशाको सुरुवात हो । त्यसैले यस अवधिमा नगरेको र थोरै सहभागिता जनाएको कामकारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको पनि अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । शत्रु र प्रतिस्पर्धीहरूले छवि धमिल्याउने प्रयास गर्नेछन् । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । शनिको अढैया दशा प्रारम्भ भएकाले शुभफल प्राप्त गर्न तपाईंले हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मासाधिपति सूर्यको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय हुनेछ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, खासगरी सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हुनेछ । त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । उता दोस्रो भावमा रहेको राशिस्वामी मंगल ग्रहको प्रभावले आर्थिक दृष्टिकोणले धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । पारिवारिक जीवन सुखद हुनेछ ।

व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । उता शनिश्चर ग्रहले यसै महिना तृतीय भाव अर्थात् पराक्रम स्थानको यात्रा प्रारम्भ गर्नेछ । अब लामो समयदेखि चलिरहेको साढेसाती शनि दशाको समाप्ति हुनेछ । अब तपाईंभित्र प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्दव्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । संचार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना शुभफल प्राप्त गर्न दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफ्नै राशिमा राशिस्वामी बृहस्पति र भाग्येश मंगलको यात्रा हुने तथा तृतीय भावमा सूर्यको उपस्थिति रहने फाल्गुन महिनामा पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । पहिलो घरमा बसेको राशिस्वामी बृहस्पतिको प्रभावले यस अवधिमा मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ ।

उता आफ्नै राशिमा बसेको शनिश्चर ग्रहको यसै महिना दोस्रो घरमा प्रवेश हुनेछ, यसबाट शनिको साढेसाती दशाको अन्तिम चरण प्रारम्भ हुनेछ । यस प्रभावले सम्पत्ति परिचालनको मार्ग अव्यवस्थित बन्नाले शनिको यस गोचरको पूरा अवधि आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैनन् । परिवारका सदस्यका आकाङ्क्षा पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध नहुनु बेस हुनेछ र महत्त्वपूर्ण कागतपत्रमा राम्ररी पढेर हस्ताक्षर गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्य समेत राम्रो हुनेछैन । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले आफ्ना दाजुभाइ र बन्धुबान्धव जम्मा पारी गुलियो भोजन गराउनु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यो महिना तपाईंको राशिस्वामीले आफ्नै राशिको यात्रा प्रारम्भ गर्ने महिना हो । उता मासाधिपति सूर्यले समेत दोस्रो घरको यात्रा प्रारम्भ गर्नेछ । अब अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । तपाईंभित्र धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, महत्त्वाकाङ्क्षा जाग्नेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । शत्रुपक्ष नियन्त्रणमा नै रहनेछन् । एउटा सुखद भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि अनुकूल रहने छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस अवधिमा धनको वर्षा नै हुने सम्भावना समेत छ ।

दोस्रो भाव कुटुम्बपक्ष, चेलीबेटी र मुखसमेत हो । त्यसैले यस अवधिमा शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । शनिश्चर महाराज तपाईंका लागि शुभकारक ग्रह नै हुन्, यद्यपि गोचरमा शनिको आगमन हुँदा यो समय तपाईंका लागि साढेसाती महादशाको मध्यावधि समेत हो । साढेसातीको यस प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना हुन्छ, त्यसैले धैर्य, संयम र स्थिर भएर कार्यक्षेत्रमा लाग्ने र शुभ परिणामको आशा गर्ने बानी लिनुपर्छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुन सक्छ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी शनिश्चर र मङ्गल ग्रहको उपासना गर्नु वा नियमित रूपमा हनुमान् चालिसाको पाठ गर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नै राशिमा सूर्य तथा महिनाको प्रारम्भमा राज्यस्थानमा राशिस्वामी शनिश्चरका साथमा बृहस्पति, मंगल र केतुको उपस्थिति रहने यो महिना सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुने समय हो । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । त्यस्तै तपाईंको राशिको मालिक मानिने शनिश्चर ग्रहले यो महिना गोचरको बाह्रौं भावको यात्रा प्रारम्भ गर्ने समय हो ।

अब आगामी साढे सात वर्ष तपाईंका लागि साढेसाती महादशको समयावधि हुनेछ । यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ । नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । धार्मिक क्रियाकलापमा संलग्न हुँदा अझ राम्रो हुन्छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । त्यसैले आफ्नो कुण्डलीको योग्य र जानकार ज्योतिषीलाई चेकजाँच गराई राशिस्वामी शनिदेवका लागि समुचित उपचार गरिदिनु मुनासिब हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै असुविधा नहोस् भन्ने उद्देश्यले शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नु वा खान दिनु राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हुन त राशिस्वामी बृहस्पतिले कर्मक्षेत्रमा बसेर सक्दो भरथेग गर्दैछन्, तर महिनाकै मालिक मानिने सूर्यदेवले फाल्गुन महिनाभरि बाह्रौं घरको यात्रा गर्ने भएकाले यो महिना त्यत्ति सकारात्मक र अनुकूल समय होइन । त्यसैले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ ।

राशिस्वामी बृहस्पतिको प्रभावले तथा यसै महिना राशिपरिवर्तन गर्ने शनिश्चर ग्रहको प्रभावले शुभफल नै प्राप्त हुने सम्भावना छ । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । शत्रुको प्रतिष्ठालाई हानि पुर्याउने प्रयत्न हुनेछ तर त्यसमा सफल बन्नुहुन्न । पारिवारिक जीवन सुखद हुनेछ । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् । खासगरी यो महिनामा शुभफल प्राप्त गर्न तपाईंले बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु वा नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलबारका दिन बग्दो पानीमा बगाउनु उचित हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here