मोरङको रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गरिने

0
401

उर्लाबारी / मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिएका हुन् ।

गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीको बिरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका बिरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरीद गरी ल्याइएका १० हजार बिरुवा वडा नं १ का उपभोक्तालाई वितरण गरिने वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए । गाउँपालिकाको रु एक लाख ५० हजार, प्रदेश नं १ सरकारबाट रु एक लाख ५० हजार र स्थानीयवासीबाट रु तीन लाख लगानीमा रुद्राक्षको बिरुवा खरीद गरिएको जनाइएको छ । पहिलो चरणमा १० हजार बिरुवा वडा नं १ मा वितरण गर्ने र सम्भावनाको आधारमा अन्य वडामा पनि वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

सो क्षेत्रमा अलैँची, अम्लिसोलगायतका प्रमुख नगदेबाली उत्पादन हुने गरेको छ । प्रदेश नं १ का १४ वटै जिल्ला देख्न सकिने मिक्लाजुङ डाँडा, रमणीय वातावरण तथा धार्मिक क्षेत्रमासमेत उत्तिकै महत्व बोकेको यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको छ । रमितेमा कृषि तथा पर्यटनको सम्भावना हुँदाहुँदै पनि राज्यस्तरबाट भने कमै उपस्थिति हुने गरेको स्थानीय शिक्षक पर्वत राई बताउँछन् । रमिते पुग्ने सडक हिउँदको समयमा सञ्चालनमा आए पनि वर्षायाममा पहिरो तथा हिलाम्मे हुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । सामान्य वर्षा हुने बित्तिकै पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको राईको भनाई छ ।

रमिते पूर्वपश्चिम राजमार्गको उर्लाबारी किसानचोकबाट २८ किलोमिटर उत्तरमा अवस्थित छ । प्रदेश सरकारको वहुवर्षीय योजनाअन्तर्गत चालू आर्थिक वर्षदेखि उर्लाबारीको किसानचौक टाँडी हुँदै रमिते सडक खण्ड कालोपत्रे शुरु हुने भएपछि स्थानीयवासी विकासको आशामा छन् । रमितेकै ओखलढुङ्गामा एक साताअघि राष्ट्रिय प्रसारणको विद्यत् जडान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here