कृषिप्रधान देश नै प्रश्नमा, खोइ समृद्धीको सपना ?

0
556

      –मन्त्रालयको तथ्यांक भन्छः धेरै फल्यो, उपभोक्ता भन्छन्ः खानै पुग्दैन–

      –मागः ६१ लाख मेट्रिक टन, उत्पादनः ५६ लाख १० हजार मेट्रिक टन –
    – तराईका १३, पहाडका १६ र हिमालका ३० प्रतिशतलाई वर्षभरी खानै पुग्दैन–

==================================

                         धान उत्पादनः कुन प्रदेशमा कति ?

                                                         विमल लामिछाने

     नेपालमा यो पटक धानको उत्पादन केही मात्रामा बढेको देखिए पनि समग्र कृषि उत्पादन आशातित रूपमा नबढेका कारण खाद्यसुरक्षामा समस्या हुँदै आएको छ । दैवी प्रकोप बाहेक वर्षेनी हुने समस्या खाद्य समस्या नै हो । नेपालमा कृषि पेसालाई हँेंलाका रूपमा समाजमा चित्रित गरिँदा यस क्षेत्रमा युवा जनशक्ति आकर्षित हुन सकेको अवस्था छैन, जसले गर्दा नेपालमा खाद्य सुरक्षाको प्रश्न यक्ष रूपमा उठेर आएको पाइन्छ । पर्याप्त मात्राम खाद्यान्नमाथि जनताको पहुँच, उपलब्धता र गुणस्तरीयता कायम गर्न विभिन्न प्रयासहरू गर्दै आएपनि वर्षभरी खान उत्पादनले थेगेको छैन । विश्व खाद्य संगठनले नेपालमा ३० लाख नेपाली खाद्यसंकटमा रहेको औंल्याएको छ । त्यसैगरी विश्वको ७९ भोकमरीग्रस्त सूचीमा नेपाल ६० आंै स्थानमा रहेको अवस्था छ । आज पनि कुल जनसंख्याको लगभग ४० प्रतिशत जनतालाई आवश्यक खाद्यपदार्थ अपुग रहेको र उनीहरूले दैनिक आवश्यकताभन्दा कम खाद्यपदार्थमा गुजारा गरिरहेको तथ्य पाइन्छ ।

तथ्यांक भन्छः उत्पादनमा वृद्धि
यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । यद्यपि अझै माग अनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिकटन धानको माग छ ।
तर चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताए । कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ । मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामाग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दावी मन्त्रालयको छ । गत आवमा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ लाख ५८ हजार मेट्रिक टनले उत्पादन बढेको छ । यो आठ दशमलव ८९ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ ।
गत वर्षको तुलनामा यो वर्ष धान खेती करीब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ । गतवर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार वर्षे धानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैते धान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ । समयमै पानी परेको, मलखादको व्यवस्था भएको, प्राकृतिक प्रकोप नभएको र यान्त्रिकीकरण र उन्नत जातको बीउको प्रयोग हुँदा धानको उत्पादन बढेको हो ।

प्रदेश नं. २ देशकै अब्बल
सात प्रदेशमध्य प्रदेश नं २ मा सबैभन्दा बढी धानको उत्पादन वृद्धि भएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष दुई लाख नौ हजार मेट्रिक टनले धानको उत्पादन वृद्धि भएको जनाएको छ । उक्त प्रदेशमा यो वर्ष कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रदेश नं १ मा गत वर्षभन्दा एक लाख २९ हजार मेट्रिक टनले उत्पादन वृद्धि भएपनि अन्य प्रदेशमा भने न्यून वृद्धि भएको तथ्याङ्कमा देखिएको छ । प्रदेश नं १ मा यस वर्ष कुल १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
उत्पादकत्वका हिसाबले प्रदेश नं ३ मा सबैभन्दा बढी तीन दशमलव ९० मेट्रिकटन प्रतिहेक्टर रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश नं ५ मा कुल ११ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेश ३ मा पाँच लाख २१ हजार, गण्डकी प्रदेशमा चार लाख २७ हजार र कर्णाली प्रदेशमा एक लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा गएको वर्ष १४ लाख ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यसवर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यो वर्ष करीब ९७ प्रतिशत रोपाइँ भएको समेत मन्त्रालयले जनाएको छ । चालु आवमा कृषि क्षेत्रमा सरकारले कुल बजेटको तीन दशमलव दुई प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेश एकमा कति फल्यो ?
पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष धान १२ लाख ४१ हजार ६ सय ३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बृद्धि भएको हो । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६ दशमलव ३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १ सय ८८ हेक्टर जग्गामा धान लगाइएको थियो भने उत्पादकत्व ३ दशमलव ८४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको निर्देशनालयको भनाइ छ । गएको वर्षमा तीन लाख २२ हजार १ सय ८३ हेक्टर जग्गामा धान लगाइएको थियो । कूल उत्पादन १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको र उत्पादकत्व ३ दशमलव ४४ मेट्रिक टन प्रतिहेक्टर रहेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डांगीले जानकारी दिए । गएको वर्षभन्दा यस वर्ष एक हजार पाँच हेक्टर जग्गामा धान लगाइएको छ । उत्पादन पनि एक हजार ३३ हजार ३३ मेट्रिक टन धान बढी फलेको हो । अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको वरिष्ठ कृषि प्रसार अधिकृत डाँगीको भनाइ छ ।
प्रदेश नं १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५ सय २९ हेक्टर जग्गा भए पनि अन्यबालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ९८ दशमलव ७० प्रतिशत, मध्य पहाड इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ९० दशमलव १८ प्रतिशत र तराई (झापा, मोरङ र सुनसरी) ९८ दशमलव ३२ प्रतिशत धान रोपाइँ भएको थियो । कार्यालयबाट प्राप्त जानकारीअनुसार ताप्लेजुङमा आठ हजार ५ सय ६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७ सय १२ हेक्टर, सोलुखुम्बुमा एक हजार ५ सय २५ हेक्टर, पाँचथरमा आठ हजार ८ सय ३४ हेक्टर, इलाममा १३ हजार ३ सय ३३ हेक्टर, भोजपुरमा १५ हजार ३ सय ७८ हेक्टर, तेह्रथुममा आठ हजार २ सय ४१ हेक्टर, धनकुटामा सात हजार ७ सय ११ हेक्टर, उदयपुरमा १२ हजार ७ सय ११ हेक्टर, ओखलढुङ्गामा तीन हजार ५ सय २२ हेक्टर, खोटाङमा १२ हजार २ सय ५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४ सय ४० हेक्टर, सुनसरीमा ५३ हजार ९ सय हेक्टर जग्गामा धान लगाइएको थियो ।

खोइ खाद्य सुरक्षाको ज्ञारेण्टी ?
खाद्य सुरक्षालाई आफ्नो उत्पादनले खान पुग्ने भन्ने अर्थमा पहिले–पहिले बुझ्ने गरिन्थ्यो । देशको कुल खाद्य आवश्यकताको दाँजोमा कुल उपभोग्य खाद्य उत्पादन बराबर वा बढी भए खाद्य सुरक्षित र कम भए खाद्य असुरक्षित भन्ने गरिन्थ्यो । तर, खाद्य सुरक्षाको आधुनिक अवधारणाअनुरूप विश्व खाद्य शिखर सम्मेलनबाट खाद्य सुरक्षालाई प्रत्येक व्यक्तिको सधैँ पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहनाअनुरूपको खानामाथि भौतिक र आर्थिक पहुँच भएमा मात्र उक्त व्यक्तिको खाद्य सुरक्षा भएको मान्न सकिन्छ भनेर परिभाषित गरिएको छ ।

आयको ७३ प्रतिशत खाद्यान्नमा खर्च
जलवायु परिवर्तनले तापक्रम बढेको र कृषि उत्पादन घट्न थालेको अध्ययनहरूले देखाएका छन् । भारतमा भएको अध्ययनले जलवायु परिवर्तनका कारण १ डिग्री तापक्रम बढ्दा ४ प्रतिशतसम्म धान उत्पादनमा कमी आएको पाइएको छ । फलस्वरूप नेपालमा पाँच वर्षमुनिका ३९ प्रतिशत बच्चाहरू पोषित खाना खान पाउँदैनन् । यसको प्रमुख कारकतत्व गरिबी नै हो । नेपालको २३ दशमलव ८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।
नेपालमा २० प्रतिशत अति गरिब जनताले उनीहरूको आयको ७३ प्रतिशत खाद्यान्नमा खर्च गर्ने गर्छन् । त्यसैगरी नेपालको सबै क्षेत्रमा खाद्य सुरक्षाको अवस्था समान रूपमा छैन । नेपालमा अझै खाद्य सुरक्षाको स्थितिमा ठूलो खाडल रहेको देखिन्छ । तराईको १३ प्रतिशत बासिन्दाले खाद्य अपुगको समस्या झेलिरहेका छन् भने पहाडमा १६ प्रतिशत र हिमालका ३० प्रतिशत बासिन्दा यो समस्याबाट पीडित रहेका छन् । तराईको तुलनामा आफ्नै उत्पादनले खान नपुग्ने स्थिति पहाडी र हिमाली भेगका जिल्लाहरूमा बढी छ ।
कृषि क्षेत्रको आधुनिकीकरणलाई बढावा दिई कृषिक्षेत्रलाई आकर्षक पेसाका रूपमा विकास गर्दै ५७ प्रतिशतको संख्यामा रहेको आर्थिक रूपले सक्रिय जनशक्तिलाई यस पेसातर्फ आकर्षित गर्न सकिएको खण्डमा देशमा पर्याप्त मात्रामा कृषि उत्पादन बढाउन सकिन्छ । ।।।

झापामा सुपरजोनको प्रभाव
झापालाई एक नम्बर प्रदेसको धान उत्पादक क्षेत्रको रुपमा पनि चिनिन्छ । झापालाई धानको सुपरजोन समेत घोषणा गरिएको छ । यो पटक सुपरजोनकै सपोर्टले झापामा धान बृद्धी भएको तथ्यांक आएको हो । समयमा वर्षा हुनुका साथै बाढी र डुबानको समस्या नभएपछि झापामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७ हजार ५ सय २५ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

रोग–किराको प्रकोपको कमी तथा उन्नत बीउ र आधुनिक प्रविधि प्रयोगले पनि उत्पादन वृद्धिका लागि सहयोग पुगेको हो । उत्पादनवृद्धिसँगै उत्पादकत्वसमेत वृद्धि भएको छ । यो वर्ष ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । अघिल्लो वर्षको उत्पादकत्व ४ दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर थियो । धान उत्पादनका लागि प्रमुख जिल्ला मानिने झापामा यस वर्ष ८७ हजार ६२ दशमलव .५ हेक्टर जग्गामा धानखेती भएको थियो । जसमा ७ लाख १७ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको हो । गत वर्ष सोहि क्षेत्रफलमा ४ लाख १० हजार ३ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्न सकिन्छ । जिल्लामा सरकारले सुपर जोन कार्यक्रम पनि घोषणा गरेकाले धानखेतीको क्षेत्रफल बढ्दै गइरहेको छ । जिल्लाका पूर्वी तथा दक्षिणी क्षेत्रका बनियानी, पाठामारी, पथरीया, बालुबाडी, केचना र पृथ्वीनगरमा धानका निम्ति सुपरजोन कार्यक्रम लागु गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here