डा. पवनराज चालिसे
युरोलोजी (मूत्र विज्ञान) सम्बन्धी धेरै रोग हुन्छन् । मिर्गौलासम्बन्धी रोग, पत्थरीको समस्या, पिसाबको सङ्क्रमण, मिर्गौला र पिसाब नलीको पत्थरी, प्रोस्टेटलगायतका रोग युरोलोजीअन्तर्गत पर्दछन् । नेपालमा पिसाब नली र मिर्गौलामा ढुङ्गा देखिने समस्या बढी छ । यसबाहेक प्रोस्टेट र सङ्क्रमणलगायतका बिकार लिएर आउने बिरामी पनि बढ्दो छन् ।
नेपाल र भारतमा पत्थरीका रोगी बढी नै देखिने गरेको छ । हामीहरूमा पानी थोरै पिउने बानी छ । पोषणको पनि कमी छ । यसले पनि पत्थरी हुने जोखिम बढाउँछ । अर्को मुख्य कारण भनेको विदेश गएका नेपाली अत्यन्त गर्मीमा काम गर्छन् । त्यहाँ पानी होइन कि हल्का पेय पदार्थ बढी पिउँछन् र पत्थरीको समस्या लिएर फर्कन्छन् । कतिपयको मिर्गौलाले समेत काम नगर्ने भइसकेको हुन्छ ।
हामीले विदेश गएर फर्केका मानिसमा बढी मात्रामा मिर्गौला प्रत्यारोपण गर्नु परिरहेको छ । त्यसको खास अध्ययन त छैन तापनि पानी नपिउनु र गर्मीमा काम गर्नु प्रमुख कारण हो भन्न सकिन्छ । नेपालीलाई हल्का पेय पदार्थ पिउन पाउँदा ठूलो कुरा पाएजस्तो लाग्छ तर त्यसले शरीरमा बिस्तारै असर गर्छ र पत्थरी बन्नमा भूमिका खेल्छ ।
शिक्षण अस्पतालको बहिरङ्ग विभागमा हामीले जाँच गर्ने बिरामीमा ३० देखि ४० प्रतिशत पत्थरीको समस्या लिएर आएका हुन्छन् । पत्थरीलाई समयमा उपचार गरेन भने त्यसले ठूलो समस्या उत्पन्न गराउँछ । मिर्गौलाको नलीको पत्थरी झनै खतरा हुन्छ । एकतिरको भागमा ढुङ्गा बन्यो भने एउटा मात्र मिर्गौला बिगार्ला तर दुईतिरै ढुङ्गा छ भने त्यसले सम्पूूर्णतया मिर्गौला काम नलाग्ने बनाउन सक्छ । अधिकांश बिरामी पत्थरीका कारणले मिर्गौला बिग्रिएर अस्पताल आएका हुन्छन् ।
पत्थरी हुँदा कहिल्यै पनि खेलाँची गर्न हँुदैन । पिसाब आउने नली एकदम साँघुरो हुन्छ । त्यो अवरुद्ध भएमा मिर्गौला असफल हुने जोखिम बढ्छ ।
मिर्गौलामा ढुङ्गा छ भने त्यति खतरा हँुदैन तर पिसाब नलीको ढुङ्गाले डेढ–दुई महिनाभन्दा बढी समय दिँदैन । त्यो बेलासम्म उपचार गराइसक्नुपर्छ । तुरुन्त चिकित्सा सेवा लिएर ढुङ्गाको उपचार गराउनु बुद्धिमानी हुन्छ । पहिले सबै किसिमका ढुङ्गाको उपचार चिरेर मात्र गरिन्थ्यो । अहिले प्रविधिको कारणले गर्दा प्वाल पारेर ढुङ्गा निकालिन्छ र एकैदिनमा बिरामी घर जान पनि सक्छ । यसको प्रविधिका हिसाबले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल धेरै अगाडि छन् । यहाँ भएका सामान सिङ्गापुरका कुनै अस्पतालको भन्दा कम छैनन् । तर सबै बिरामीलाई सेवा दिन सकिने अवस्था छैन । एउटा मात्रै ठाउँमा कति गर्न सकिन्छ र ?
जनसङ्ख्या बढेपछि सेवा उपलब्धताको अवस्था पनि बढ्दै जानुपर्छ । हामीसँग राम्रा सामान, प्रविधि हुँदाहँुदै पनि धेरैलाई उपचार गर्न सकेका छैनौँ । अस्पताल आएका बिरामीमध्ये १० प्रतिशतलाई मात्र राम्रो सेवा दिन सकेका छौँ । सबैलाई सेवा दिने हो भने १० गुणा क्षमता बढाउनुपर्छ । त्यो अहिले सम्भव देखिँदैन ।
युरोलोजीमा देखिने अर्को समस्या भनेको मूत्रनलीको सङ्क्रमण हो । यो रोगको अवस्था पनि विकराल छ । बूढो भएपछि प्रोस्टेट ग्रन्थी बढेर पनि पिसाबको सङ्क्रमण हुन्छ । ढुङ्गाका कारणले पनि सङ्क्रमण हुने गर्छ । पिसाब राम्रोसँग निख्रेन भने पनि सङ्क्रमणको सम्भावना बढ्छ । पुरुषमा मात्र हुने प्रोस्टेट प्रोस्टेट ग्रन्थी मूत्रथैलीको मुनि हुन्छ । सामान्यतया ४० वर्ष पुगेपछि सबै पुरुषको प्रोस्टेट ग्रन्थी बढ्न थाल्छ । कसैमा वृद्धि असामान्य भएर यसले दुःख दिन्छ ।
बच्चालाई समेत पिसाबको सङ्क्रमण हुने गर्छ । बच्चामा पिसाब फर्कने रोग हुन्छ । त्यसले गर्दा समस्या उत्पन्न हुने हो । पिसाब माथिबाट बग्नु पर्ने तर कहिलेकाहीँ माथितिर फर्कि्दिन्छ । अति नै हुँदा मिर्गौला बिग्रिएर सात÷आठ वर्षको उमेरका बच्चालाई पनि अस्पताल ल्याउने गरिएको छ । बच्चाको मिर्गौला निकै संवेदनशील हुन्छ । बच्चालाई पिसाबसम्बन्धी समस्या तथा सङ्क्रमण छ भने युरोेलोजिस्टलाई जाँच गराइहाल्नु पर्छ ।
भर्खर विवाह गरेका महिला पनि मूत्रनली सङ्क्रमणको उच्च जोखिममा हुन्छन् । विवाहको मौसम आउनासाथ महिलामा सङ्क्रमणको दर ह्वात्तै बढ्छ । विवाहपछि महिलालाई हुने पिसाबको सङ्क्रमणलाई ‘हनिमुन सिक्साइटिस’ भनिन्छ । महिलाको पिसाबको नली छोटो हुन्छ । यौनसम्पर्क शुरु गरेपछि त्यो क्षेत्रमा सङ्क्रमण हुनसक्छ ।
युरोलोजीमा अर्को समस्या भनेको क्यान्सर हो । मिर्गौलाको क्यान्सर, मूत्रथैलीको क्यान्सरका बिरामी पनि उपचारका लागि आउने गरेका छन् । पछिल्लो समय धेरै देखिने भनेको मूत्रथैलीको क्यान्सर हो । मूत्रथैलीको क्यान्सर जति नेपालमा छ त्यति अरू देशमा छैन । अमेरिका, बेलायततिर प्रोस्टेटको क्यान्सर धेरै हुन्छ । चुरोट पिउनेहरूमा मूत्रथैलीको क्यान्सर अत्यधिक देखिएको छ । पिसाबमा रगत देखियो भने त्यो क्यान्सर हो भने त्यो क्यान्सरको सङ्केत हुनसक्छ । शिक्षण अस्पतालमा मूत्रथैलीको क्यान्सरको प्रत्येक हप्ता दुई÷तीन शल्यक्रिया गरिन्छ । क्यान्सर अस्पतालमा त्यो सङ्ख्या धेरै हुनसक्छ ।
पिसाब भनेको पानी मात्र होइन, त्यहाँ विभिन्न बिकार पनि हुन्छन् । ती बिकार बाहिर फाल्नलाई पानीको मात्रा धेरै हुनुपर्छ । पानीको कमीले नै पिसाबसम्बन्धी रोगहरू लागिरहेको हुन्छ । नेपालमा पानी कम पिउने प्रवृत्ति छ, पाएका बेला एक÷दुई गिलास पिउने होइन भने दिनभर पानी नै नपिउने गर्छन् ।
युरोलोजीअन्तर्गत मिर्गौला प्रत्यारोपण पनि गरिन्छ । महिलामा पिसाब चुहिने रोग तथा बुढेसकालमा खोक्दा, हाच्छिउँ गर्दा पिसाब चुहिने समस्या हुन सक्छ । पुरुषमा बाँझोपना भयो भने पनि युरोलोजीअन्तर्गत नै उपचार गरिन्छ ।
युरोलोजीमा नीतिगत समस्या
युरोलोजीभित्र देखिएका रोगलाई कसरी उपचार गर्ने भन्ने विषय गाह्रो छ । यसलाई नीतिगत रूपमा हल गरेर जानुपर्छ । हाम्रो भूमिका भनेको शिक्षामा हो । यो रोगसम्बन्धी विशेषज्ञ तयार गर्ने, बिरामीलाई उपचार दिने, नीतिगत परिवर्तनका लागि पहल गर्नु हाम्रो दायित्व र भूमिका हुनुपर्छ ।
शिक्षण अस्पतालमा मात्र सेवा दिएर पुग्दैन । यहाँ दिने सेवा देशभर उपलब्ध गराउन नीतिगत रूपमा परिवर्तन आवश्यक छ । नीति भनेको राजनीति हो । अब हामीले नीतिगत व्यवस्थातिर पनि सोच्नुपर्छ । मैले पाँच वर्षमा धेरै मानिसलाई उपचार गरे तर देशभरिका पीडितलाई अहिले नै उपचार गर्न सम्भव छैन । त्यसका लागि नीतिगत परिवर्तन आवश्यक छ ।
यहाँ आउने बिरामी रोल्पाबाट पैसा उठाएर आएको हुन्छ । खाने, बस्ने पैसा ऊ छैन । शिक्षण अस्पताल भनेपछि सबै उपचार सम्भव हुँदैन । त्यस्तो बिरामीलाई के गर्न सकिन्छ, त्यो बारे सोच्नै पर्छ । उसको घर अगाडि लगेर अस्पताल खोल्न पनि सकिँदैन । आजको भोलि नै शल्यक्रिया गर्न पनि सकिँदैन । बिरामी दुःख गरेर, पैसा उठाएर आएको हुन्छ उसलाई समयमा उपचार पाएन भने गुनासो हुन्छ । त्यसैले यो काम तपाईं हामीले गरेर पार लाग्दै । यस्ता काम नीतिगत रूपमै सम्बोधन गरिनु जरुरी छ । यस्ता व्यक्तिलाई सबै खर्च समेट्ने गरी स्वास्थ्य बीमा गरिदिनुपर्छ र शिक्षण अस्पताललाई विकेन्द्रीकरणमा लैजानु राम्रो हुन्छ ।
शिक्षण अस्पताल युरोलोजीमा अब्बल
शिक्षण अस्पतालमा युरोलोजी विभागको प्रयासले गर्दा धेरै राम्रा काम भइरहेका छन् । स्वास्थ्य मन्त्रालयबाट पनि सहयोग पाइरहेका छौँ । प्रविधिमा हामी धेरै अब्बल भइसकेका छौँ । अहिलेसम्म दाताको मिर्गौला निकाल्दा चिरफार गरिरहेका छौँ । अब ल्याप्रोस्कोपी प्रविधिमा जान खोजिरहेका छौँ । जसले मिर्गौला दान गरेको छ, उसलाई किन धेरै ठूलो घाउ बनाउने भन्ने उद्देश्यले ल्याप्रोस्कोपी प्रविधिमा जान खोजिएको हो । नेताहरूले विदेश जान नपर्ने गरी ठूलाठूला अस्पताल सञ्चालन गरिनुपर्छ । कतिपय नेता शिक्षण अस्पताल उपचार गर्न आएका पनि छन् । उनीहरूले पनि शिक्षण अस्पतालमा यति राम्रो प्रविधिको विकास भएको छ, राम्रोसँग उपचार हुन्छ भने किन विदेश जाने भन्छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
१० प्रतिशतलाई मात्र उपचार सम्भव
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको युरोलोजीको वार्डमा मात्र वार्षिक २२ देखि २५ हजार युरोलोजीसम्बन्धी समस्या भएका बिरामी आइपुग्छन् । प्रायः बिरामी शुरुमै शिक्षण अस्पताल आएका हुँदैनन् । तीमध्ये कम्तीमा २५ प्रतिशत बिरामी शल्यक्रियाका लागि आइपुगेका हुन्छन् । यहाँ आउने सबैको शल्यक्रिया सम्भव छैन । त्यसैले दुई वर्षसम्म पालो कुर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
पाँच हजार जतिको शल्यक्रिया वार्षिक गर्नुपर्ने आवश्यक छ । अहिले सामान्य र विशेष गरेर १४ सयको हाराहारीमा मात्र शल्यक्रिया भएको छ । जति नै गर्छु भने पनि विशेष शल्यक्रिया छ÷सात सयभन्दा बढी गर्न सकिँदैन ।
अस्पताल व्यवस्थापनले गर्ने भनेको बिहान एक घण्टा छिटो अस्पताल सञ्चालन गर्न सक्छ र बेलुकी एक घण्टा ढिलासम्म खोल्न सक्छ । त्योभन्दा बाहेक व्यस्थापनले केही गर्न सक्दैन । नर्सको निश्चित कार्यसमय हुन्छ । निश्चित कार्यसमय भन्दा बाहेक उनीहरूलाई काममा लगाउन सकिने अवस्था छैन । कर्मचारीलाई भन्दा उनीहरू पनि काम गर्न सक्ने अवस्था छैनन् । माग र आपूर्ति सन्तुलमा आएन भने समस्या सधैँभरि रहिरहन्छ ।
अहिलेका मानिस बिरामी भयो कि डाक्टरकहाँ गएपछि सबै ठीक हुनुपर्छ भन्ने धारणा राख्छ । जिल्ला अस्पतालमा युरोलोजीसम्बन्धी उपचार हुन सकेन भनेर आउँछन् । जिल्ला अस्पतालमा युरोलोजिष्ट डाक्टर हुँदैन । त्यसैले माग उच्च गर्नुको कुनै औचित्य छैन । एमबीबीएस डाक्टरलाई छ हप्ता मात्र युरोलोजिष्टसम्बन्धी सामान्य ज्ञान सिकाइएको हुन्छ ।
(युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जनत्रिवि शिक्षण अस्पताल)सरोज ढुङ्गेलसँगको कुराकानीमा आधारित