विमल लामिछाने
मदिरा नियन्त्रण गर्न झापाका स्थानीय तहले सामुहिक प्रतिबद्धता जाहेर गरका छन् । मदिरा नियन्त्रित जिल्ला सबैको साझा एजेण्डा बनेको छ । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले दुई महिना अघि नै १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले आयोजना गरेको ‘झापामा अपराधको स्थिति, कारणहरू र निराकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतामा हस्ताक्षर गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका हुन् । १२ बुँदे घोषणा पत्रमा विद्यमान कानून कार्यान्वयन कडाइका साथ लागू गर्ने, मदिरा बिक्री केन्द्रको संख्या नियन्त्रण गर्ने तथा मदिरा बिक्री गर्ने समय राति १० बजेसम्मलाई संशोधन गर्न पहल गर्ने भनिएको छ । त्यस्तै तोकिएको उमेरका व्यक्तिलाई मात्र मदिरा बिक्री वितरण गर्ने व्यवस्थालाई कानूनद्वारा नियमन गर्न पहल गर्ने र मदिरा किन्न आउने व्यक्तिको समेत परिचय अनिवार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
यसैगरी जिल्लास्तरीय तथा नगर, वडास्तरीय मदिरा नियन्त्रण अनुगमन समिति बनाई निरन्तर अनुगमन गर्ने, अस्पताल, मन्दिर, शैक्षिक संस्थाको निश्चित दूरीभित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन सामूहिक प्रतिबद्धता सुनिश्चित गर्ने, सञ्चारमाध्यमहरूले मदिराजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने प्रकृतिका सामग्री प्रकाशन प्रसारण गर्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ ।
नेपाल–भारत सिमानाको निश्चित ५०० मिटर दूरीभित्र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न निषेध गर्न सामूहिक प्रतिबद्धता स्थानीय तहका जनप्रतिनिधिले सुनिश्चित गरेका छन् । मदिराजन्य पदार्थ उत्पादन गरी जीविकोपार्जन गर्ने परिवारको पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने स्थानीय तहबाट विशेष पहल गरिने, नीति, निर्माण गर्ने कार्यान्वयन गर्ने र अनुगमन गर्ने निकायले आपसी समन्वयको आधारमा मदिरा नियन्त्रण कार्यलाई थप व्यवस्थित बनाउन सामूहिक सहकार्य अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस्तै १५ वटै स्थानीय तहले आपसी समन्वय गरी कम्तीमा एक÷एक सुधारगृह तथा पुनःस्थापना केन्द्र खोल्न आवश्यक पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । मदिराको नशाले तरंग ल्याई बरबराउने, होहल्ला गर्ने, हुलहुज्जत गर्ने, रिसइवी साँध्ने, संक्षेपमा द्वन्द्व बढाउनेतर्फ अग्रसर भई हिंसा गर्नेतर्फ प्रवृत्त रहने देखिएको निष्कर्ष सहित मदिरा नियन्त्रणमा लाग्न आवश्यक छ । हिजोको घरायसी उपभोगको चलन आज यत्रतत्र सर्वत्र हुनथालेको छ । घरमा सीमित यसको उपभोग व्यावसायीकरण हुँदै गएको छ । नारा सवैको साझा बनेको छ । तर अभियान सार्थक बनाउने प्रतिबद्धता अनुसार कार्ययोजना अघि बढ्न सकेको छैन । कार्ययोजना अघि बढ्न नसक्नुले स्थानीय तहका नारा मिलेपनि पारा नमिलेको आभाष जनसमुदायमा भएको छ ।
अपराधको कारण बन्दै मदिरा ः
झापा जिल्लाको अपराधको स्थिति र यसका प्रमुख कारणको विषय भएको जिल्ला प्रहरी कार्यालय झापाको निष्कर्ष छ । जिल्लामा प्रत्येक वर्ष मदिरा सेवनका कारण आपराधिक घटना वृद्धि हुँदै गएको जिल्ला प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७४÷७५ मा एक हजार ६ सय ८७ मुद्दा दर्ता भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्ष एक हजार ४ सय र आर्थिक वर्ष ०७२÷७३ मा एक हजार १ सय ९७ मुद्दा दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको तीन महीनामै ३ सय ७६ मुद्दा दर्ता भएका छन् ।
मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । डाटा अनुसार १२ वर्ष या त्यो भन्दा माथि उमेर समूहको ६६.६ प्रतिशत मानिसले १ वर्षको समय अवधिमा कम्तिमा ३१ पटक रक्सी सेवन गरेको पाइन्छ । उक्त तथ्याङ्क प्रतिवर्ष उच्च गतिमा बढिरहेको छ । यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा गुणात्मक रुपमाबढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ ।
धर्म र पहिचानको प्रतिक ः
समुदायमा कतिपय जातिहरुले मदिरालाई धर्म र पहिचानको प्रतिकका रुपमा पनि लिँदै आएका छन् । केही जातिहरुको जन्म, मृत्यु र धर्म संस्कार सँगै सुध्याईँ र पवित्रताको लागि पनि मदिरालाई नै प्रयोग गरिँदै आएको छ । नेपालमा मदिराको प्रयोग गर्नु नै पर्ने अवस्थाका जाति—जनजाति धेरै छन् । यी समुदायमा विवाह, वर्तबन्ध, दसैंतिहार आदिमा पनि सगुनका रूपमा मदिराको प्रयोग अनिवार्य हुन्छ । श्राद्ध गर्दा वा गणेश कुमारको पूजा गर्दा मदिरा सगुनको रूपमा चढाउनुपर्ने चलन छ । कतिपय ठाउँमा त मदिरा सेवन कुनै समुदायको रितिरिवाज जस्तै भएको छ । कुनै समुदायको लागि आधुनिकताको पहिचान हो भने युवा पुस्ताका लागि अरूभन्दा भिन्न देखिने फेसन वा चाहानाको रोमाण्टिक पक्ष बनेको छ मदिरा । चाहे जेसुकै कारणले मदिरा सेवन गरे पनि उनीहरूलाई धेरै थोरै त्यसको शारिरिक वा मानसिक कु–प्रभावको बारेमा ज्ञान हुन्छ । तर, पनि दिन प्रतिदिन दुव्र्यसनमा फस्ने मानिसको संख्या विश्वब्यापी बढ्दै गइरहेको छ । चाडपर्वमा गिफ्टका रूपमा मदिरा दिने चलन पुरानो हो, यो विश्वव्यापी छ । नेपालमा त विकसित मुलुकको देखासिकीमा सुरु भएको हो । चीनमा गिफ्टमा केक दिने मुनकेक भन्ने पर्व छ । अब केकको ठाउँ वाइनले लिइसक्यो । कर्पाेरेट कल्चर विकास हुँदै गएपछि गिफ्टमा मदिरा दिने चलन व्यापक भयो । दिनुपर्ने व्यक्तिको ओहोदाअनुसार मदिरा दिने चलन छ । थारुहरूमा एउटा उखान निकै प्रचलित छ— दबादारु । दारु (रक्सी) लाई दबाइको रूपमा प्रयोग गरेमा स्वास्थमा त्यति हानि गर्दैन भन्ने हो । हिजोको चलनमा श्रम समयको हिसाबले अनुशासित रूपमा पान गर्दा दबाइको काम गथ्र्याे होला । तर अहिले नवसिकारुहरूबाट बढ्दो अनुशासनहीन प्रयोगले व्यक्तिको स्वास्थमात्र नभई परिवार, समाजसमेत आक्रान्त हुँदैछ ।
मदिराको इतिहास ः
विभिन्न धर्मशास्त्र आनुसार मानव सभ्यताको विकासक्रमसँगै मदिराको इतिहास जोडिएको पाइन्छ, हिन्दु धर्म ग्रन्थले शिव भगवानले प्रसादको रुपमा ग्रहण गरेको बतएपनि त्यो बेला भाङ र धतुरोलाई नसाको रुपमा लिएको भनिएको छ । खोज अनुसार अनुसन्धानकर्ताहरुले १३ हजार वर्ष पहिला पनि मानिसले मदिरा सेवन गरेको प्रमाणित हुन्छ । इजरायलको हैफा नजिक एक प्राचिनकालको गुफाबाट दुनियाको सबैभन्दा पुरानो मदिराको भट्टी फेला पारेको जनाएका छन् । त्यहाँबाट उनीहरुले करिब १३ हजार वर्ष पुरानो वियरको अंशसमेत फेला पारेकोे जनाएको छ । एक चिहानको खोज भइरहेका बेला यो रहस्य फेला परेको हो । यो चिहान घुमन्ते शिकारीको भएको अनुमान गरिएको छ । हालसम्म वियर बनाउने पक्रिया ५ हजार वर्ष पुरानो भएको मानिन्छ । अनुसन्धान टिमको नेतृत्व गरिरहेकी प्रोफेसर लि लियूले यो अनुसन्धानका क्रममा गहुँ र जौरबाट बन्ने मदिराको अंश फेला परेको बताइन् ।
मदिराको बजार ः
नेपालमा ५२ वटाभन्दा बढी रक्सी बनाउने उद्योग छन् । तर छिमेकी देश भारतका ठूला राज्यमा १२ वटामात्र सञ्चालनमा रहेका छन् । नेपालमा मदिराको तीन खाले बजार छ । आयातित, स्वदेशी बियर र रक्सी । यसको कारोबारी बजार ४० अर्बभन्दा बढीको छ । माथिको उत्पादन बाहेक हाम्रो समाजमा घरेलु रक्सी उत्पादन गर्ने समूह र जाति पनि छन् । घर—घरमा भट्टी राखेर बनाइने रक्सीको उत्पादन र उपभोगको बजारलाई मान्ने हो भने यसको कारोबार एक खर्बभन्दा बढी छ । गाउँघर, सहर, बजार, गल्ली, बाटो, चौबाटो आदि जहींतहीं बिना अनुमति खुलेका मदिरा पसलहरू छन् । अरू व्यवसाय टिक्न नसकेको हाम्रो देशमा रक्सी उत्पादन, क्यासिनो र जुवातास फस्टाउँदै जानु विडम्बना हो ।
अनुगमन र दायित्व ः
मदिरा ब्यावसायमा स्थानीय निकायहरू नगरपालिका, राजश्व, उद्योग तथा वाणिज्य कार्यालयहरूबाट राजस्व असुल्न सहजै अनुमतिपत्र दिइने गरिएको छ । तर अनुमति पाएका व्यवसायीहरूले कहाँ, कसरी, कस्तो अवस्थामा खुलेका छन्, त्यसबाट नागरिकको स्वास्थ्य र सुरक्षामा कस्तो असर परेको छ, त्यसतर्फ अनुमति दिने निकाय त मौन छन् नै, सँंगसँंगै प्रशासन, प्रहरी पनि मूकदर्शक हुने गरेका छन् । नागरिकको स्वास्थ्य र सुरक्षा गर्ने जिम्मेवारी प्रहरी, प्रशासनसँगै अनुमति दिने निकायहरूको पनि हो । तर आपसी समन्वय नहुँदा जो हात, सो सातको अवस्थाले विद्यालय, अस्पताल, मन्दिर, मस्जिद, गुम्बा, समाज र सार्वजनिक स्थलका स्थानीयवासी हतप्रद छन् । सार्वजनिक स्थलको महत्व र अवस्थालाई नबुझिदिँदा, जनता निरीह बनेका छन् । प्रायः प्रत्येक जिल्लाको सदरमुकाम र सहरोन्मुख क्षेत्रमा प्रत्येक दुई चार घरपिच्छे एउटा मदिरा व्यवसाय नभएको उदाहरण कमै छ । जिल्ला सदरमुकाम मात्र नभई इलाका क्षेत्रमा लाग्ने हाटबजारमा पनि सागसब्जीभन्दा मासु र मदिराको माग र खानपान बढिरहेको छ । सडक पुगेको ठाउँ, राजमार्ग वरपरका क्षेत्र, सुकुम्बासी बस्ती, उद्योग कलकारखाना, अस्पताल, मन्दिर, मस्जिद, बसपार्क आदि छेउछाउमा खुलेका भट्टी पसल र रेस्टुराँहरूमा अवैध रूपमा बनाइएका रक्सी प्रशस्त हुने र बेच्ने गरेको पाइन्छ । स्थानीय निकायको काम, कर्तव्य भनेको नागरिकको स्वास्थ्य, सुरक्षा र सेवा पनि हो । कम्तीमा मन्दिर, मस्जिद, अस्पताल, विद्यालय र सार्वजनिक स्थलको वरिपरि र बीच समाजमा व्यावसाय सञ्चालन हुन नदिन समाजसँग मिलेर व्यावस्थापन गर्नु आवश्यक छ । स्थानीय निकायका पदाधिकारी पनि यही समाजको उपज भएकाले आम समुदायको स्वास्थ्य, सुरक्षा र शान्तिप्रति जिम्मेवार रही व्यावस्थापनमा लाग्नु जरुरी छ ।
bmllamichhane@gmail.com